१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अंकतालिकामा विभागीय टोलीको अग्रता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एकतर्फी खेलमा बागमती युथ क्लबमाथि ३–० को जित दर्ता गरेकै दिन बिहीबार एपिएफ क्लबले पनि वालिङ नगरपालिकालाई पराजित गर्दै एन्फा महिला लिगमा दोस्रो चरण पुग्ने होडलाई बलियो बनाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा बागमतीलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लिएको थियो । तर, साढे दुई घण्टापछि नै वालिङमाथि २–१ को जित निकाल्दै एपिएफले आर्मीको स्थान खोस्न सफल भएको हो। योसँगै अंकतालिका झनै कसिलो बनेको छ। 

चौथो चरणका खेल समाप्तितिर उन्मुख रहँदा अर्को चरणमा पुग्न पाँच सिट मात्रै रहेको प्रतियोगिताको शीर्ष तीनमा विभागीय टोलीले कब्जा जमाएका छन्। १० अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ भने एपिएफ गोलअन्तरले पछाडि परेको छ । तेस्रो स्थानको आर्मीको भने यी दुई क्लबभन्दा एक अंक कम छ। आर्मीलाई पनि समान अंक रहे पनि गोलअन्तरमा पछि परेको कोसी प्रदेशले पछ्याइरहेको छ। अन्य क्लब भने कम्तीमा तीन अंकले पछि परेका छन्।

‘गोल खान पुग्यौं, तर एकदमै महŒवपूर्ण तीन अंक प्राप्त गर्न सफल भएका छौं । हाम्रो विपक्षी राम्रो रहेछ। उनीहरूले सेफ र सिफ्टिङ राम्रै खेलिरहेका थियो। तर, पाँच खेल बाँकी रहँदा अझै बलियो भएर आउनुपर्ने देखेको छु,’ आर्मीका मुख्य प्रशिक्षक चुनबहादुर थापाले भने । गत संस्करणमा तेस्रो भएको आर्मीले पहिलो खेलमै संकटा फुटबल क्लबलाई ४–० ले पराजित गर्दै लिगमा सानदार सुरुआत गरेको थियो। 

तर, त्यो लयलाई आर्मीले निरन्तरता दिन सकेन। दिएको हुन्थ्यो त दोस्रो खेलमा एपिएफसँग २–१ को नतिजा सुम्पिनुपर्ने अवस्था नै आउने थिएन। तर, फिनिसिङमा समस्या बेहोरिरहेको आर्मीले तेस्रो खेलदेखि लयलाई भेटाएको छ। त्यसयता सुदूरपश्चिमलाई १४–१ र बागमतीलाई २–१ ले हराएको आर्मी ६ अंक जोड्न सफल भएको छ। आर्मीलाई जित दिलाउन विमला चौधरीले २७औं मिनेटमै गोलको खाता खोलेकी थिइन्। 

हिमा चौधरीले निकाल्दिएको बलमा बक्सभित्र अनिता लम्जेल हेडर गर्न चुके पनि उनी पछाडि रहेकी विमलाले कुनै गल्ती नगरी बललाई जाली चुमाएकी थिइन्। पहिलो हाफमा करिब पाँच उत्कृष्ट अवसर बनाए पनि आर्मीले गोल गर्न सकेन। यद्यपि, स्ट्राइकर अमिषा कार्की मैदान छिरेसँगै आर्मी अर्को गोल थप्न सफल भयो। पहिलो हाफमा बारम्बार फिनिसिङमा चुकेकी चन्द्रा भण्डारीको स्थानमा प्रशिक्षक थापाले अमिषालाई ६१औं मिनेटमा मैदान प्रवेश गराएका हुन्। 

उनले आफ्नो जोनबाट क्लियर भएर आएको बलको टचलाई लुज नगरी त्यसको अर्को मिनेटमै गोल गरेकी हुन्। ९०औं मिनेटमा सन्जु कुमालसँग तालमेल मिलाउँदै दीपा शाहीले गरेको प्रहार बागमतीकी डिफेन्डर सन्जी थिङको खुट्टमा डिफ्लेक्ट हुँदै बलले जाली चुमेको थियो। दीपाले अघिल्लो खेलमा सुदूरपश्चिमसँग खेल्दा एक्लैले पाँच गोल गरेकी थिइन्। अमिषाको भने जारी लिगमा यो पहिलो गोल हो। उनले संकटा र सुदूरपश्चिमविरुद्धको खेल गुमाएकी थिइन्।

‘अमिषा हुनु र नहुनुमा फरक हुन्छ। तर, हामीले उनलाई बेन्च राख्न खोजेका होइनौं । अहिले उनी आर्मीको क्याडेड तयारी गरिरहेकी छन्। त्यसैले उनी त्यहीँ व्यस्त भएकी हुन्,’ थापाले भने, ‘आजबाट उसको सबै काम सकिएको छ। पुलिससँगको अर्को खेलबाट उनले टोलीमा निरन्तरता पाउनेछिन्।’ फिनिसिङमा कमजोर देखिए पनि आर्मी लिगमा सबैभन्दा बढी गोल गर्ने टोली हो।

 उसले चार खेलमा २२ गोल गर्दा तीन गोल मात्रै बेहोर्न परेको छ। यता, जीवेशकुमार पाण्डेको टोलीलाई भने वालिङमाथि जित हासिल गर्न संघर्ष गर्नुपरेको थियो। खेलको पहिलो हाफमै साबिक विजेतासमेत रहेको एपिएफले रेनुका नगरकोटी र रश्मिकुमारी घिसिङको गोलमार्फत २–० को अग्रता लिएको थियो। तर, ८०औं मिनेटमा सिसे एन्टोङ्गोले गोल गर्दा वालिङले एपिएफमाथि दबाब थपेको थियो।

‘पहिलो हाफ राम्रो भएको थियो । तर, दोस्रो हाफमा एपिएफले जसरी खेल्दै आएको थियो, त्यस्तो खेल देखाउन सकेन,’ कप्तान रेनुका भन्छिन्, ‘यसलाई हामी स्विकार्नेछौं। यो खेलले अब सुधार गरेर आउनुपर्ने देखिएको छ।’ एपिएफले जारी लिगमा दुई गोलमात्रै बेहोरेको छ । पहिलो खेलमा पुलिससँग एपिएफ गोलरहित बराबरीमा रोकियो। 

तर, आर्मीसँग २–१ को जित निकाल्दा भने एक गोल बेहोर्न पुग्यो। चन्द्रपुर नगरपालिकासँग ६–० को सहज जित निकालेको एपिएफले वालिङसँग पनि दबाबमा गोल बेहोर्न पुगेको हो। अब आर्मीले पाँचौं चरणमा पुलिसको शीर्ष स्थान खोस्न दशरथ रंगशालामा शनिबार प्रतिस्पर्धा गर्दा सातदोबाटोकोमैदानमा त्यसको भोलिपल्ट एपिएफले कर्णालीसमक्ष चुनौती पेस गर्नेछ। कर्णाली भने चार खेलको समाप्तिमा एक अंक जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: २८ भाद्र २०८१ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App