२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो ताप्लेजुङ गोल्डकपका ७ खेल: प्रतियोगिता अवधिभर २३ गोल, एकै खेलमा १२

भदौ ३ गतेदेखि १० गतेसम्म ताप्लेजुङमा सञ्चालन भएको दोस्रो ताप्लेजुङ गोल्डकपको गोल संख्यामा यसपटक नयाँ रेकर्ड स्थापित भएको छ।

जम्मा ७ खेल भएको गोल्डकपको फाइनल सम्ममा २३ गोल भए। त्यसमध्ये १२ गोल पहिलो दिनको खेलमा भयो भने बाँकी ६ खेलमा ११ गोल मात्र भयो। पहिलो खेलमा भिडेका थिए गृहटीम संघर्ष स्र्पोटिङ क्लब फुङलिङ र पाहुना टोली भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लब। खेल सङ्घर्षले ७–५ ले जित्दा अनुप सेन्दाङ,सविन तामाङ र मञ्जित एङदेनले समान २–२ र दीपेश लिम्बूले १ गोल गरे। भारत सिलगुढीका जाङपो भोटियाले ३ र प्रनेस प्रधानले दुईगोल गरेका थिए।

व्यवस्थित अभिलेख नै नभए पनि लाखे जात्राको अवसरमा हुने खेलकुद प्रतियोगितामा भानुजन माविको मैदानमा एकैखेलमा यति धेरै गोलको वर्षा भएको सम्भवतः यो नै पहिलो हुनसक्ने छ। एकै खेलमा ३ गोल गरेका जाङ्पो उच्चगोलकर्ता बने। अर्को संयोग के भने उनले ३ वटै गोल पेनाल्टीमार्फत गरेका थिए। सङ्घर्षका कप्तान अनुप सेन्दाङले समान ३ गोल गरेपनि एकैखेलमा तीन गोल गरेका जाङ्पो उच्च गोलकर्ताको सूचीमा परे।

दोस्रो खेल मधेस प्रदेशको सलहेश फुटबल क्लब र पहाडको पाँचथर वाइवाइ फुटबल क्लब बिच भएको थियो। १–० को नतिजामा सलहेशले पाँचथरलाई मैदान बाहिर पठाउँदा जय गुरुङले निर्णायक गोल गरेका थिए। तेस्रो खेलमा रुपन्देहीको बुटवल लुम्बिनी एफसी र मोरङको सगरमाथा यूथ क्लब भीडेका थिए। नेपाल सुपर लिगको फ्रेन्चाईजी बुटवल लुम्बिनीलाई १–० को अनपेक्षित हार चखाएर क्वाटर फाइनलमै रोक्दा सगरमाथाका लागि सुशिल राईले गोल गरेका थिए। अन्तिम क्वाटर फाईनलको चौथो खेलको प्रतिस्पर्धामा नेपालकै सशक्त विभागीय टोली त्रिभुवन आर्मी विरुद्ध बिर्तामोड युनाईटेड फुटबल क्लब झापा मैदानमा थियो।

नेपाली राष्ट्रिय टोलीमा रहेर खेल खेलिसकेका र खेलिरहेका खेलाडीले भरिएको आर्मीलाई ३–० को नतिजामा स्तब्ध पार्दै बिर्तामोड अन्तिम चारमा पुग्दा अभिषेक गुरुङ,हिसुव थपलिया र देवेन्द्र तामाङले गोल गरेका थिए। तामाङ र थपलिया नेपाली राष्ट्रिय फुटबल नीममा रहेर खेलिसकेका खेलाडी हुन्। गोल्डकपको पाँचौँ खेल पहिलो सेमिफाइनल थियो। फाइनल यात्राका लागि मोरङको सगरमाथा यूथ क्लब र गृहटीम संघर्ष स्र्पोटिङ क्लब भिडेका थिए। खेल मोरङले २–१ ले आफ्नो पक्षमा पार्दा मिलन राई एक्लैले टीका लागि दुबै गोल गरेका थिए।

यो खेलमा सङ्घर्षका कप्तान अनुप सेन्दाङले १ गोल गरे। दोस्रो सेमिफाइनल खेल झापाको बिर्तामोड युनाईटेड र सिराहाको सलहेश फुटबल क्लबबिच भएको थियो। टाइब्रेक्ररबाट टुङ्गिएको खेलको निर्धारित ९० र १५ मिनेटको इञ्जुरी समयमा दुबै टिमबाट १–१ को बराबरी गोल भएको थियो। टाइब्रेक्ररमा सलहेश भाग्यमानी बन्दा उसले बिर्तामोडलाई ४–२ ले पाखा लगाएको थियो। 

निर्धारित र इञ्जुरी समयमा भएको खेलमा सलहेशका लागि जोन ग्लोरीले १ गोल गरे भने बिर्तामोडले १ गोल आत्घाति उपहार पाएको थियो। सलहेशका खेलाडी सेवेएले पेनाल्टी एरियामा हेड फ्लिक गर्दा भूलवस आफ्नै पोष्टमा गोल लाग्न पुगेको थियो। उपाधि भिडन्त गरेका सगरमाथा यूथ क्लब मोरङ र सलहेश फुटबल क्लब सिराहाबिचको खेल १–० को नतिजामै सकियो। विजय भुजेलले गरेको गोल नै मोरङलाई उपाधि उचाल्न पर्याप्त बन्यो। 

प्रकाशित: ११ भाद्र २०८१ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App