२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा ५-५ टिम सहभागी हुने

पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा ५-५ टिम सहभागी हुने भएका छन्।

नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराले हरेक वर्ष आयोजना गर्दै आएको लामाचौर तिज महोत्सवको अवसरमा आयोजित लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुबैतर्फ विभागीयसहित ५-५ टिम प्रतिस्पर्धामा उत्रिने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। प्रतियोगिता भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म चल्ने जनाइएको छ।

लामाचौर तिज महोत्सवमा खेलकुदको छुट्टै ब्राण्ड बनाएको लामाचौर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ११ औं संस्करणमा नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्टस क्लब र न्यू एभरेस्ट भलिबल क्लबलाई सहभागिताका लागि पत्राचार गरिएको क्लबका प्रथम उपाध्यक्ष तथा सूचना तथा सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले जानकारी दिए।

विगत दुई अघिदेखि सुरु भएको तेस्रो लामाचौर कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पनि सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल टिमलाई सहभागिताका लागि पत्राचार गरिएको प्रथम उपाध्यक्ष भण्डारीले बताए।

सहभागी टिमको यातायात, आवास तथा खानालगायतका सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने उनले बताए। ‘सहभागी टिमको सम्पूर्ण खर्च हामीले नै बेहोर्ने हो’–उनले भने।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको उपाधि बिजातेले १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तृतीय हुनेले ५० हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए।

प्रतियोगिता अवलोकनका लागि दर्शकले टिकट काट्नु पर्नेछ। भलिबल खेल अवलोकनका लागि पहिलो दिन एक सय, दोश्रो र तेस्रो दिन दुई सय र तेस्रो दिन अर्थात फाइनल खेल अवलोकनका लागि दर्शकले तीन सय रुपैयाँको टिकट काट्नुपर्ने अध्यक्ष भण्डारीले बताए।

लामाचौर तिज महोत्सवको अवसरमा खुल्ला तिज गीत प्रतियोगितासमेत आयोजना गरिने जनाइएको छ। तिजको अवसरमा आयोजित खुल्ला तिज गीत प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार १ सय ११, द्वितीय हुने समूहले ३० हजार १ सय ११, तृतीय हुने समूहले २० हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने समूहले १० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए।

महोत्सवको अवसरमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितासमेत आयोजना हुने आयोजकले जनाएको छ। जसमा प्रथम हुनेले ४० हजार १ सय ११, द्वितीय हुनेले २५ हजार १ सय ११, तृतीय हुनेले १५ हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने ३ टिमलाई ५ हजार १ सय ११ दरले पुरस्कार प्रदान गरिने उनले बताए।

भलिबल प्रतियोगिताका लागि टिकट काट्नुपर्ने भएपनि महोत्सवमा भने प्रवेश निःशुल्क गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।

पत्रकार सम्मेलनमा उपस्थित पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले लामाचौर तिज महोत्सव र लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता लामाचौर र बाटुलेचौरको पहिचान भएकाले आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले भलिबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग गर्न आफूहरू तयार रहेको बताए।

प्रकाशित: ११ भाद्र २०८१ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App