४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

भारतका यी ११ खेलाडी सन्यास लिने मनसायमा

भारतीय क्रिकेट जगतमा एक पछि अर्को गर्दै खेलाडीहरूले सन्यास लिने लहर जस्तै चलेको छ।

इन्डियन प्रिमियर लिग र लगतै भएको आईसीसी टी–२० विश्वकप क्रिकेट पछि भारतीय क्रिकेट जगतका दिग्गजहरूले सन्यास लिने क्रम सुरु भएको छ। जुन लहर अझै पनि जारी छ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्मा र विराट कोहलीको सन्यास पछि दिनेश कात्र्तिकले पनि सन्यास लिए। त्यसपछि शनिवार भारतीय क्रिकेटमा गब्बरका नामले प्रसिद्ध शिखर धवनले पनि सन्यासको घोषणा गरे।

अब भारतीय क्रिकेटका ११ जना खेलाडी पनि सन्यास लिने मनसायमा देखिएका छन्। टीममा लामो समयदेखि अटाउन नसकेका उनीहरू चाँडै सन्यासको घोषणा गर्न सक्छन्।

सन्यास लिने मनसायमा रहेका ११ खेलाडीः

१) पियुष चावलाः ३५ वर्षका पियुष चावला विश्वकप क्रिकेट २०११ मा भारतीय टीममा सहभागी थिए। उनले अन्तिमपटक २०१२ मा भारतका लागि खेलेका थिए। दाहिने हातका स्पिनर पियुषले ३ टेस्ट, २५ एकदिवसीय र ७ टी–२० म्याच खेलेका छन्।

२) ऋद्धिमान साहः महेन्द्रसिंह धोनीको टेस्ट क्रिकेटबाट सन्यास पछि ऋद्धिमान साहले विकेटकिपरको रुपमा भारतीय क्रिकेट टीममा स्थान पाए। तर, उनको प्रदर्शन राम्रो नभएपछि करियर पनि कमजोर बन्यो। २०२१ मा न्युजिल्यान्डविरुद्ध उनले अन्तिमपटक भारतीय टीमबाट खेलेका थिए। उनले हालसम्म ४० टेस्ट र ९ एकदिवसीय म्याच खेलेका छन्।

३) ईशान्त शर्माः तीव्र गतिका बलरको रुपमा परिचित ईशान्त शर्मा कुनै समय भारतीय टीमको महत्त्वपूर्ण भाग हुने गर्थे। तर, अब उनको करियर सकिए जस्तै छ। ईशान्तले भारतका लागि १०५ टेस्ट, ८० एक दिवसीय र १४ टी–२० खेलेका छन्। उनले अन्तिम पटक सन् २०२१ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। ३५ वर्षीय ईशान्तले टेस्टमा ३११, एकदिवसीयमा ११५ र टी–२० मा ८ विकेट लिएका छन्। अब टीमको उनको पुनरागमनको सम्भावना नरहेकाले उनी पनि सन्यास लिन सक्ने बुझिएको छ।

४) अमित मिश्राः ४१ वर्षीय दाहिने हातका लेगब्रेक बलर अमितले हालसम्म आधिकारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छैनन्। उनले अन्तिम पटक २०१७ मा भारतीय टीमबाट खेलेका थिए। उनले हालसम्म २२ टेस्ट, ३६ एकदिवसीय र १० टी–२० म्याच खेलेका छन्। जसमा टेस्ट म्याचमा १५६ विकेट लिएका छन्।

५) करुण नायरः टेस्ट क्रिकेटमा भारतका लागि विरेन्द्र सहभागबाहेक करुण नायरले मात्रै तेहरो शतकीय पारी खेलेका छन्। तर, ३१ वर्षीय नायरको उत्तर प्रदर्शन पछि करियर ग्राफ माथि उक्लिनुको साटो तल झदै गयो। उनले अन्तिम पटक २०१७ मा भारतका लागि खेलेका थिए। उनको घरेलु खेलमा पनि खासै सहभागीता जनाएका छैनन्। यस अवस्थामा उनको टीममा पुनरागमनको सम्भावना कमै देखिन्छ।

६) मनिष पाण्डेः मिडिल अर्डर ब्याट्सम्यान पाण्डेको कथा पनि करुण नायर जस्तै छ। ४३ वर्षीय पाण्डेलाई जति पनि मौका दिइयो उनले त्यसलाई सहि सदुपयोग गर्न सकेनन्। पाण्डेले भारतका लागि २९ टेस्ट र ३९ टी–२० म्याच खेलेका छन्। उनले अन्तिम पटक २०२१ मा भारतका लागि खेलेका थिए।

७) ऋषि धवनः अलराउन्डर ऋषि धवनले भारतका लागि अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्। उनले भारतका लागि ३ एकदिवसीय र एक टी–२० म्याच खेलेका छन्। ३४ वर्षीय धवनको करियर ग्राफ खासै उत्साहजनक नरहेका कारण उनले पनि सन्यास लिन सक्ने बुझिन्छ।

८) जयन्त यादवः दाहिने हातका स्पिनर जयन्त यादवलाई पनि भारतीय टीमबाट खेल्ने मौका दिइयो। उनले भारतका लागि ६ टेस्ट र २ एकदिवसीय म्याच खेले। जयन्तले टेस्टमा १६ विकेट लिनुबाहेक २४८ रन बनाउँदा एकदिवसीयमा २ विकेट लिए। ३४ वर्षीय जयन्तले २०२२ मा अन्तिम म्याच खेलेका थिए।

९) भुवनेश्वर कुमारः तीव्र गतिका बलर भुवनेश्वर कुमार पछिल्लो २ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाँढा छन्। उनले अन्तिम पटक सन् २०२२ मा भारतीय टीमका लागि खेलेका थिए। ३४ वर्षीय भुवलेश्वरले भारतका लागि २१ टेस्ट, १२१ एकदिवसीय र ८७ टी–२० म्याच खेलेका छन्। जसमा उनले २९४ विकेट लिए।

१०) उमेश यादवः दाहिने हातका तीव्र गतिका बलर उमेश यादवले निकै मिहिनेत पछि भारतीय टीममा स्थान पाएका थिए। उनले अन्तिम पटक सन् २०२३ को जुनमा खेलेका थिए। ३६ वर्षीय यादवले भारतका लागि ५७ टेस्ट, ७५ एकदिवसीय र ९ टी–२० खेलेका छन्। टेस्टमा ३०.९५ को औसतले १७० विकेट पनि लिए भने एकदिवसीयमा १०६ र टी–२० अन्तर्राष्ट्रियमा १२ विकेट लिए।

११) मोहिन शर्माः दाहिने हातका तीव्र गतिका बलर मोहित शर्माले आफ्नो करियरमा भारतीय टीमका लागि २६ एकदिवसीय र ८ टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन्। जसमा उनले एकदिवसीयमा ३१ र टी–२० अन्तर्राष्ट्रियमा ६ विकेट लिए। ३५ वर्षीय मोहित शर्माले भारतका लागि अन्तिम म्याच २०१५ मा खेलेका थिए। पछिल्लो समय आईपीएलमा खेलिरहेका उनको राष्ट्रिय टीमा स्थान बनाउने सम्भावना न्यून रहेको हुँदा सन्यासको बाटो उनले अपनाउन सक्ने देखिन्छ।

प्रकाशित: १० भाद्र २०८१ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App