काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले नेपालको लिग च्याम्पियन चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबिच खेल भइरहेको छ।
मध्यान्तरसम्म एक एक गोलको बराबरी रहेको खेलमा मध्यान्तर पछि पारोले गोल गर्दै २-१ गोलले अग्रता लिएको छ।
नेपालको चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो । खेल साँझ ६ बजे देखि सुरु भएको हो ।
खेलको विजेता एएफसी च्याल्नेज लिगको समूह चरणमा पुग्ने भएकोले दुवै टोलीका यो खेल महत्वपूर्ण छ ।
राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले करिब एक महिनादेखि यही खेलका लागि तयारी गरेको छ ।
राष्ट्रिय टिमका अधिकांश खेलाडी समावेश गरेको चर्च ब्वाइजमा ३ मात्र विदेशी खेलाडी छ ।
उता किन्ले वाङचुकको कप्तानीमा रहेको पारो टोलीमा जापानिस स्टार केसुके होन्डा मुख्य केन्द्रविन्दुमा रहेको छ । पारोले होन्डाहसित ११ विदेशी खेलाडी टिममा राखेको छ।
पानी परेपछि मैदानको बिजोक
वर्षाका कारण मैदानको अवस्था निकै चुनौतीपूर्ण देखिएको छ। खेल सुरु हुनु केही समयअघि परेको वर्षाका कारण मैदान हिलाम्य बनेको छ। जसले खेलाडीहरूको प्रदर्शनमा प्रत्यक्ष असर पारेको छ।
राजधानीमा हिजो साँझदेखि निरन्तर सिमसिमे पानी परिरहेको छ। जसको असर मैदानमा देखिएको हो। दुवै टोलीका खेलाडीहरू मैदानमा हिलोसँग जुध्दै खेलिरहेका छन्।खेल हेर्न रंगशाला पुगेका नेपाली खेलप्रेमीहरूले मैदानको अवस्थाबारे व्यंग्य गर्दै टिप्पणी गरिरहेका छन्।
प्रकाशित: २९ श्रावण २०८१ १९:४३ मंगलबार