मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भएको छ।
प्रदेश खेलकुद विकास परिषद्ले लोगो, मस्कट र गीतसँगै एक सय दिनको काउन्टडाउन पनि सुरु गरेको छ। लोगोमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झण्डा र कर्णाली नदीलाई समेटिएको छ। मस्कटमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा राखिएको छ। परिषद्का सदस्यसचिव विश्वामित्र संज्यालले अबको एक सय दिनभित्र मुख्य पाँच वटा कामहरू गरिने बताए। ‘पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर काम गछौं,’ उनले भने, ‘खेलकुदका गतिविधि कहाँ–कहाँ गर्ने भन्ने तय भइसकेकाले यी पाँच वटा कामहरू त्यतै केन्द्रीत हुन्छन्।’
उनले दशौं खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम असोजभित्रमा सम्पन्न हुने बताएका छन्। दशौं राष्ट्रिय प्रतियोगिताका लागि कर्णालीमा २४ खेलहरू खेलाइनेछ। बाँकी खेलहरू भने प्रदेश बाहिर आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गरिएको संज्यालले जानकारी दिए। कर्णालीका १० जिल्लामध्ये अधिकांस खेलहरू सुर्खेतमा हुने भए पनि केही खेल हिमाली र पहाडी जिल्लामा पनि आयोजना हुनेछन्। राष्ट्रिय सडक सञ्जालको पहुँच पनि नपुगेको हुम्लामा समेत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू हुनेछन्।
परिषद्ले हुम्लामा हक्की खेल खेलाउने तयारी गरेको छ। ‘२०४३ सालमै राष्ट्रिय जुडो खेल हुम्लाले आयोजना गरेको थियो,’सदस्यसचिव संज्यालले भने, ‘यो पटक हुम्लामा हक्की खेलको आयोजना गर्ने कार्यतालिका तय गरेका छौं।’ मुगुको रारातालनजिकै कबड्डी प्रतियोगिता हुनेछ। दुई महिनाअघि परिषद्ले रारातालमा कबड्डी प्रतियोगीताको सफल आयोजना गरिसकेको छ। केही खेलहरू जुम्ला, कालिकोट, दैलेख र रुकुम पश्चिममा आयोजना हुनेछन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने ३६ वटा खेलहरू समावेश थिए। कर्णालीमा आवास र पूर्वाधारको समस्या हुने भएकाले खेल संख्या घटाइएको उनले जानकारी दिए।
परिषद्ले प्रतियोगिताको उद्घाटन हुनुभन्दा ६ दिन अगाडि नै खेलकुदका खेलहरू सञ्चालन गर्ने जनाएको छ। ‘सुर्खेतमा भने १६ वटा खेल खेलाइनेछ। प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेश रंगशालासहित दुई वटा क्रिकेट मैदान, एक रग्बी मैदान, फुटबल मैदानलगायतका संरचना तयारी अवस्थामा छन्।
केही खेलहरू सुर्खेतको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रमा खेलाइने योजना परिषद्को छ। परिषद्ले विभागीय खेलाडीहरूको बसोबासको व्यवस्था सम्बन्धित निकायलाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव गरेको छ। रिषद्ले भदौबाट प्रदेशस्तरीय छनोट र क्लोज क्याम्पमा राख्ने तयारी गरेको छ। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो पहिलो नीतिगत निर्णयमै खेलकुद संरचना निर्माण, खेलाडी छनोट र प्रशिक्षणका लागि आवश्यक पर्ने १६ करोड रूपैयाँ बजेट माग गर्ने निर्णय गरेका छन्।
परिषद्ले स्रोत सुनिश्चित नहुँदा खेलाडी छनोटका साथै बन्द प्रशिक्षण संचालन गर्न सकेको छैन। कर्णाली प्रदेशले यसपटक दुई अंकको स्वर्ण पदकको लक्ष्य राखेको छ। प्रदेश खेलकुद परिषद्का अनुसार टेनिस, जिम्न्यास्टिक, सफ्ट टेनिस, स्क्वास, आर्चरी, फेन्सिङ, सेपाकताक्रो, सुटिङ, गल्फ, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङका खेलहरू कर्णालीमा आयोजना गर्न नसकिने भएकाले अन्य स्थान छनोट गर्न राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरिएको जनाएको छ।
प्रकाशित: २७ श्रावण २०८१ ०६:२७ आइतबार