२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

सोमबारदेखि मारवाडी लिग क्रिकेट

काठमाडौं – नेपाल मारवाडी ब्राह्मण सेवा संघको आयोजनामा टिपटप मारवाडी प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सोमबार सुरु हुने भएको छ।

संघले ट्वान्टी–२० स्वरूपमा हुने प्रतियोगिता वैशाख १ गतेसम्म चल्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गरायो । मारवाडी समाजमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यमा प्रतियोगिता गरिएको प्राविधिक प्रमुख विनयकुमार झाले बताए।

‘मारवाडी समाजभित्र खेलकुद गतिविधि प्रोत्साहन गर्न र खेल भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरेका हाैं’, झाले भने ।
टिपटपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने आयोजकले बतायो । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा प्रतियोगिता गरिनेछ । समूह ‘ए’ मा डिएभी, टिपटप–११, हाम्रो किचेन प्यान्थर, बालकुमारी क्रिकेट क्लब र शिखर प्लाई किङ्स छन् भने समूह ‘बी’ मा आरएसके लायन्स, बीवन–११, ग्रान्ड एकेडेमी राइडर्स, फाइटर्स र वनमिक्स–११ रहेका छन्।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनललाई छानिन्छन् । सहभागी प्रत्येक टिमले काठमाडौं क्रिकेट प्रशिक्षण केन्द्र, बालुवाटार क्रिकेट एकेडेमी र ग्रेट हिमालयन क्रिकेट एकेडेमीबाट डिएभीमा आबद्धबाहेक, यु–१९ उमेर समूहका तीन÷तीन खेलाडीलाई टिममा समावेश गर्न पाउनेछन्।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार तथा उपविजेताले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले टेरा मोटर्सको स्कुटरसहित टिपटपको कुपन र उपहार हात पार्दा उत्कृष्ट ब्याट्सम्यान र बलरले टिपटपको कुपनसहित उपहार प्राप्त गर्नेछन् । यसै गरी उदीयमान मारवाडी खेलाडीलाई साइकल र उपहार प्रदान गरिनेछ।

फेयर प्ले टिम, म्यान अफ दी म्याच, शतक र अर्धशतक प्रहार गर्ने खेलाडी, ह्याट्रिक गर्ने खेलाडी, पाँच विकेट लिने खेलाडी, धेरै छक्का प्रहार गर्ने र सबै टिममा रहेका गैह्रमारवाडी खेलाडीलाई टिपटपको कुपनसहित उपहार प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ।

प्रकाशित: १६ चैत्र २०७४ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App