१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

युरोकप २०२४: कम रोमाञ्चक, सुस्त

इङ्ल्यान्ड र स्पेनले युरो कप फाइनलमा पुग्न निकै फरक ‘रुट’ समातेका छन्। स्पेन सबैभन्दा आकर्षक मात्र होइन, आफूले खेलेका हरेक खेल जित्दै एक बलियो टोली बनेर उदाएको छ। यो टोलीले के मात्रै गरेको छैन? युरो कपमा समर्थकलाई मनोरञ्जन दिन सबैथोक गरेको छ।

विपक्षी टोलीको रणनीतिलाई बुझेर आक्रामक फुटबल पस्किएको छ। चार मिनेटमै दुई गोल गर्दै सानदार पुनरागमन गर्न यो टोली सफल भएको छ। त्यसैले त क्रोएसिया, इटाली, आयोजक जर्मनी र फ्रान्सजस्ता प्रबल दाबेदार मानिएका टोलीविरुद्ध दबदबा कायम गर्दै स्पेन कीर्तिमानी चौथोपल्ट उपाधिनजिक पुगेको छ। यसको विपरीत छ।

इङ्ल्यान्डc विदेशी भूमिमा पहिलोपल्ट फाइनलमा पुगेको यो टोलीले बर्लिनसम्मको यात्रा तय गर्न निक्कै संघर्ष गर्नुपरेको छ। प्रिमियर लिगले दिएको थकानका कारण टोलीका खेलाडी निक्कै सुस्त देखिएका छन्। प्रायः खेलमा यो टोलीले ढिलो गोल निकालेको छ। त्यसैले यो टोलीको खेलमा कुनै रोमाञ्चकता पाइँदैन। तर, यति हुँदा पनि यो टोली आफूलाई उत्कृष्ट दाबी गर्न पछि पर्दैन।

ग्यारेथ साउथगेटको टोलीले समूह ‘सी’ मा तीन खेलमा दुई गोल मात्र गरेको थियो। त्यसैले स्लोभेनियासँग गोल नबर्साएको भन्दै इङ्लिस समर्थकहरूले साउथगेटमाथि नै बियरका कप बर्साए। स्लोभाकियाविरुद्धको अन्तिम १६ मा जुड बेलिङ्घमले ९५औं मिनेटमा गरेको ‘ओभरहेड किक’ लाई अपवाद मान्ने हो भने इङ्ल्यान्डले आङ जिरिङ्ङ पार्ने खेलको कुनै खेल नै पस्किन सकेन। हुन त यो पनि बेलिङ्घमले प्रतियोगिताभर ‘टार्गेट’ मा राखेको पहिलो ‘सट’ थियो। यसरी नै बुकायो साकाले स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा ८०औं मिनेटमा बराबरीमा गोल फर्काउँदा पनि पहिलो ‘सट’ टार्गेटमा राखेका थिए।

इङ्ल्यान्ड लगातार फाइनलमा पुगे पनि उसको खेल निक्कै पट्यारलाग्दो छ। साउथगेटलाई यही प्रश्न सोधिएको थियो। आखिर किन इङ्ल्यान्डका खेलमा रोमाञ्चकता छैन? यसको जबाफ उनी सीधै दिन सक्दैनन्। भन्छन्, ‘हाम्रो उद्देश्य सधैं राम्रो खेल्ने हो। फुटबलमा विपक्षीले रोक्न प्रयास गर्छ र अर्कोले गोल गर्ने। यसमध्ये दुवै कुरा गर्न पक्कै सजिलो छैन।’

तैपनि साउथगेट त्यस्ता एक मात्रै प्रशिक्षक हुन्, जसले विपक्षीलाई रोक्न र आक्रमण बुन्न बलियो रणनीति बनाउन नसकेको भन्दै आलोचना खेपिरहेका छन्। ‘ओपन प्ले’ मा कुनै पनि खेलाडीले गोल गर्न नसके पनि फ्रान्सले सेमिफाइनलसम्मको यात्रा तय गरेको अर्को कुरा भने बिर्सन हुँदैन। स्विडेनका एक पत्रकारले फ्रान्सेली टोलीले गरेको यो अल्छीलाग्दो प्रदर्शनबारे मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सलाई प्रश्न गरेका थिए। यो प्रश्नको कुटिल जबाफ उनले दिनै सकेनन्। बरु आफ्नो टोलीको खेल नै नहेर्नू भन्दै हलुका जबाफ दिएर पन्छिए।

‘हाम्रो टोलीको खेल हेरेर तपाईंलाई अल्छी लाग्छ भने अरू केही हेर्न सक्नुहुन्छ। धेरै फ्रान्सेली समर्थकहरू हामीले प्राप्त गरेको यो नतिजाबाट खुसी छन्। तर, स्विडिस समर्थकहरूलाई अल्छी लाग्छ भने यो मेरो टाउको दुखाइको विषय होइन,’ उनले भनेका थिए। पोर्चुगल पनि युरो कपको अर्को प्रबल दाबेदार थियो। तर, टोलीमा अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी गोल गरेका क्रिस्टियानो रोनाल्डोजस्ता विश्वस्तरीय खेलाडी हुँदाहुँदै पनि रोमाञ्चक खेल प्रस्तुत गर्न सकेन। यसको दोष जान्छ, प्रशिक्षक रोबर्टो मार्टिनेजलाई। यो पूरा टोली ३९ वर्षीय रोनाल्डोमा मात्रै केन्द्रित देखिएको थियो। उनकै लागि यो टोलीका प्रशिक्षकले रणनीति बनाएका थिए। उनीमाथि नै यो टोली अत्यधिक भर परेको थियो। र, अन्त्यमा यो टोली नराम्ररी बाहिरियो।

साउदी लिगका ३१ खेलमा ३५ गोल गर्दै कीर्तिमान कायम गरेका रोनाल्डो युरो कपमा छाउन सकेनन्। तर, प्रशिक्षक मार्टिनेजले पनि यी भेट्रान स्टाइकरलाई बेन्चमा राख्ने हिम्मत देखाउन सकेनन्। अन्ततः क्वार्टरफाइनलसम्म पुगेको यो टोली फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित भयो र बाहिरियो । कीर्तिमानी छैटौंपल्ट युरो कप खेलेका रोनाल्डोले जर्मनीमा पाँच खेल खेल्दा गोल कस्तो हुन्छ अनुभव गर्न पाएनन्।

प्रतियोगितामा प्रतिम्याच २.२८ को औसतमा अहिलेसम्म ११४ गोल भएका छन्। तीन वर्षअघिको युरो कपमा २.७८ र कतार विश्वकपमा २.६९ को औसतमा गोल भएका थिए। स्पेनले सन् २००८ देखि २०१२ को बीचमा लगातार तीनवटा ठूला प्रतियोगिता जितेको थियो। सोही राष्ट्रका नयाँ पुस्ता उक्त पदचाप पछ्याउने प्रयासमा छन्। सबैभन्दा कठिन समूह पार गरेको लुइस डे ला फुएन्टेको टोलीले क्रोएसियामाथि ३–० को जित निकाल्दा पहिलो हाफमै तीन गोल बर्साएको थियो। साबिक विजेता इटालीमाथि १–० को जित हासिल गर्दा गेल्सेनकिर्चेनमा स्पेनिस टोलीले खेलमा आफ्नो प्रभुत्व कायम गर्न सकेन।

तर, अल्बानियाविरुद्धको समूहचरणको अन्तिम खेलमा १० खेलाडी परिवर्तन गरेता पनि स्पेनले १–० को जित निकाल्यो। जर्जियाविरुद्धको अन्तिम १६ मा आत्मघाती गोल हुँदा खेलमा पछि परे पनि स्पेन ४–१ को पुनरागमन जित हासिल गर्न सफल भएको थियो।

मिकेल मेरिनोको हेडरमा स्पेनले स्टुटगार्टमा भएको क्वार्टरफाइनलमा जर्मनीलाई २–१ ले पराजित गरेको थियो। सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदा १६ वर्षीय लामिन यमल युरो कपमा सबैभन्दा कम उमेरको गोलकर्ता बन्न सफल भएका थिए। त्यसैले जारी प्रतियोगितामा स्पेन नै उत्कृष्ट टोली हो भन्दा फरक पर्दैन। यो कुरा साउथगेट पनि नकार्न सक्दैनन्। ‘स्पेन उत्कृष्ट टोली हो। यो टोलीलाई रोक्न हामीले आफ्नो उत्कृष्ट प्रदर्शन दिनैपर्छ,’ स्पेनको सामना गर्नुअघि उनले भने, ‘त्यसैले फाइनल उच्च कोटिको पनि हुन सक्छ।’

प्रकाशित: ३० असार २०८१ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App