४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तान साफमा सहभागी नहुने

पाकिस्तानले आगामी अगस्टमा काठमाडौंमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार सामाजिक सञ्जालबाट पाकिस्तानले नाम फिर्ता लिएको जानकारी दिएको हो। तर, पाकिस्तानले के कारणले नाम फिर्ता लिएको हो भन्ने साफले खुलाएको छैन  अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले पनि पाकिस्तानले नाम फिर्ता लिएको जानकारी दिए। उनले भने, ‘आधिकारिक जानकारीचाहिँ हामीलाई पनि आएको छैन। तर, उनीहरूले तयारीदेखि अन्य आन्तरिक कारणले नाम फिर्ता लिएका हुन्।’ पाकिस्तानले नाम फिर्ता लिएसँगै साफले खेलतालिका पनि परिमार्जित गरेको छ।  

यसअघि प्रतियोगिता १६ देखि २८ अगस्टसम्म हुने तय थियो। सोही तालिकाअनुसार नेपालले अगस्ट १६ को उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भनिएको थियो। तर, अहिले परिमार्जित खेल तालिकाअनुसार नेपाल र श्रीलंकाबीचको उद्घाटन खेल दुई दिन पर सरेको छ। यद्यपि, प्रतियोगिता भने १८ अगस्टमै समापन हुने साफले जनाएको छ।

पाकिस्तानले नाम फिर्ता लिएसँगै दुई समूहमा तीन/तीन टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि नेपाल रहेको समूहमा पाकिस्तान, श्रीलंका र बंगलादेश थिए। यो समूहमा अब तीन टोली मात्रै हुनेछन्। 

अर्को समूहमा भारत, माल्दिभ्स र भुटान यथावत् छन्। नेपालले प्रतियोगिताको दोस्रो खेल अगस्ट २२ मा बंगलादेशसँग खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल जित्ने दुई टोली उपाधिका लागि भिड्नेछन्। समूहचरणका सबै खेल अपराह्न्र चार बजे सुरु हुनेछन्। सेमिफाइनल र फाइनल खेल भने ५ः ३०बजे सुरु हुनेछ।

प्रकाशित: २८ असार २०८१ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App