२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तरप्रदेश खेलकुद : १४० पदकसहित बाग्मती प्रथम

फाइल तस्बिर

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १४० पदकसहित बाग्मती प्रदेश प्रथम भएको छ। सुदूरपश्चिम दोस्रो, कोसी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचांै, कर्णाली छैटौं र मधेस प्रदेश अन्तिम स्थानमा रहे।

बाग्मतीले ६१ स्वर्ण, ४३ रजत र ३६ कांस्य गरी १४० पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। बाग्मतीले महिला भलिबल र ब्याडमिन्टनमा एक-एक वटा स्वर्ण जित्दा बक्सिङ र करातेमा ९-९, तेक्वान्दो र एथलेटिक्समा ७-७ र पौडीमा २७ स्वर्ण पदक जितेको हो।

सुदूरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी कुल ७१ पदकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा रहेको कोसी प्रदेशले १६ स्वर्ण, २३ रजत र ३६ कांस्य गरी ७४ पदक जितेको छ। गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कांस्य गरी जम्मा ४९ पदक जितेको छ।

लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कांस्य गरी ५५ पदक जितेको छ भने कर्णाली प्रदेशले ११ स्वर्ण, १० रजत र २४ कांस्य गरी ४५ पदक जितेको छ।  

अंकतालिकाको पुछारमा रहेको मधेस प्रदेशले हालसम्म ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरी २१ पदक जितेको छ। चैत २५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबलबाहेकका सबै खेल छिमेकी जिल्ला चितवनको भरतपुरमा सञ्चालन भएको थियो।

प्रतियोगितामा विभिन्न खेलका लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ खेलाडी, प्रशिक्षक, प्राविधिक टोली, निर्णायक र खेलाडी गरी २ हजार ७ सय ३० जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, पौडी र ब्याडमिन्टन गरी ९ विधामा प्रतिस्पर्धा भएको थियो। चितवनमा उद्घाटन गरिएको प्रतियोगिताको समापन भने हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको थियो।  

प्रतियोगिताका विजेता खेलाडीलाई बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख प्रतिनिधिले पुरस्कार वितरण गरेका हुन्।

प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिता सञ्चालनका लागि करिब १२ करोड रूपैयाँ खर्च भएको बताइएको छ। यसका लागि बाग्मती प्रदेश सरकारले ६ करोड रूपैयाँ विनियोजन गरेको थियो।

प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिँदै लैजाने बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव भण्डारीले बताए। सातै प्रदेशका खेलाडीको बीचमा प्रतिस्पर्धा गराउँदै प्रदेशका खेलाडी पहिचान, खेल क्षेत्रको विकास र खेलाडीबीच भ्रातृत्वको सम्बन्ध स्थापना गर्ने उद्देश्यले पहिलो पटक अन्तरप्रदेश खेलकुद प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित: ३ वैशाख २०८१ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App