३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ढकालको गोलमा पुल्चोक स्पोर्ट्स क्लब विजयी

सलिल ढकालले गोलमा पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सी’ डिभिजन लिगमा शुक्रबार रोमाञ्चक जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलचोकले स्वयम्भू क्लबमाथि २–१ को रोमाञ्चक जित निकालेको हो। पुल्चोकको जितमा सलिलले इन्जुरी समयमा गोल गरे। बराबरीको नतिजातर्फ धकेलिएको खेलमा गोल गर्दै सलिलले आफ्नो टोलीलाई तीन अंकसमेत दिलाए। त्यसअघि पुलचोकले नै खेलमा अग्रता लिएको थियो।

खेलको तेस्रो मिनेटमा नै सिरब लो तामाङले गोल गर्दै पुलचोकलाई अग्रता दिलाएका थिए। तर, पुलचोकले त्यो अग्रता जोगाउन सकेन। २०औं मिनेटमा स्वयम्भूले गोल फर्कायो। स्वयम्भूका लागि सुग्रित मगरले गोल गरे। त्यससँगै पहिलो हाफमा दुवै टोली १–१ को बराबरीमा रहे।

दोस्रो हाफमा पनि खेल बराबरीनजिक पुगेको थियो। तर, सलिलले अन्तिम समयमा गोल गर्दै स्वयम्भूबाट अंक खोसे। त्यसअघि शुक्रबार नै एन्फा कम्प्लेक्समा समाज कल्याण खेलकुद केन्द्र र रानीवन स्पोर्ट्स क्लब गोलरहित बराबरीमा रोकिएका छन्। यो नतिजासँगै समाज कल्याणले दुई खेलबाट चार अंक जोडेको छ। रानीवनको भने समान खेलबाट दुई अंक मात्र छ।

दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्। खेलको ७१औं मिनेटमा रोशन क्षेत्रीको प्रहारलाई रानीवनका गोलकिपर अमानत शेखले बचाए।

समाज कल्याणले पहिलो खेलमा मनोहरा युनाइटेड युवा क्लबमाथि ५–० को जित निकाल्दै लिगमा उत्कृष्ट सुरुआत गरेको थियो। तर, त्यो प्रदर्शन भने जारी राख्न सकेन। रानीवन भने पहिलो खेलमा महावीर स्ट्डिज एन्ड एथलेटिक्स एसोसिएसनसँग १–१ को बराबरीमा रोकिएको थियो।

प्रकाशित: १ वैशाख २०८१ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App