१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

एनआरटी सेमिफाइनलमा

२४औं बुढासुब्बा गोल्डकप

एनआरटी (नीलो ) र आर्मीका खेलाडीहरू बलका लागि भिड्दै। तस्बिर: रोहित/नागरिक

एनआरटी क्लब धरानमा जारी २४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धरान १६ स्थित रंगशालामा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थानमा सुरक्षित गरेको हो। एनआरटीका लागि शिशिर लेखी र अफिज ओलावालेले गोल गरे भने आर्मीका मानबहादुर आलेले एक गोल फर्काए।

प्रतिस्पर्धात्मक खेलमा आइतबार अग्रता भने आर्मीले लिएको थियो। खेलको चौथो मिनेटमै आर्मीका मानबहादुरले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। दिशान्त राईको लामो क्रस पासमा उनले हेडमार्फत बललाई जाली चुमाएका थिए। तर आर्मीको अग्रता धेरै समय टिकेन। तेह्रांै मिनेटमा एनआरटीका रोशन रानाको पासमा शिशिर लेखीले गोल गर्दै खेल बराबरीमा ल्याए।

१–१ गोलको बराबरीमा पहिलो हाफको खेल सकिएको थियो। खेलको ६१औं मिनेटमा जन्मे धामीको पासमा अफिज ओलावालेले निर्णायक गोल गरे। खेलको म्यान अफ दी म्याच एनआरटीका शिशिर लेखी घोषित हँुदै नगद १० हजार र ट्रफी पाए ।

खेलमा दुवै तर्फबाट गोल गर्ने अवसर खेर फालिएको थियो। खेलको २३औं मिनेटमा पेनाल्टी एरियाबाट अफिजले गरेको प्रहार बाहिरिएको थियो भने ३७औं मिनेटमा जन्मेको कडा प्रहार आर्मीका गोलकिपर नवीन परियारले पन्च गरेर असफल बनाइदिए। खेलको ६३औं मिनेटमा अफिज वान भर्सेस वानको स्थितिमा गोल गर्न चुके। ७९औं मिनेटमा जन्मेको प्रहारलाई आर्मीका गोलकिपर नवीनले सुन्दर बचाउ गरे।

आर्मीले पनि खेलको ३२औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो। पेनाल्टी एरियानजिकैबाट टंक बस्नेतको कडा प्रहारलाई एनआरटीका डिफेन्स पदम भट्टराईले छेकेका थिए। पहिलो हाफको इन्जुरी समयमा दिशान्त राईले डी बक्सनजिकैबाट गरेको प्रहार अकासिएको थियो।

५१औं मिनेटमा पनि दिशान्तको कडा प्रहार गोलकिपरले रोके। ६३औं मिनेटमा काउन्टर अट्याकमा आर्मीका दीप लामाले डी बक्सभित्र बल राम्रोसँग नियन्त्रण लिन नसक्दा गोल गर्ने अवसर गुमाएका थिए। प्रतियोगितामा सोमबार पाँच पटकको विजेता नेपाल पुलिस क्लब र मोरङ फुटबल संघबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ।

प्रकाशित: २८ फाल्गुन २०८० ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App