१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

जुँगाको लडाइँमा माउरिन्हो सफल

म्यानचेस्टर – रोमेलु लुकाकुले प्रिमियर लिगका शीर्ष ६ टोलीविरुद्ध कमजोर प्रदर्शनको शृंखलामा पूर्णविराम लगाउने क्रममा आफैं गोल गर्नुका साथै जेसे लिंगार्डलाई विजयी गोलको अवसर सिर्जना गरेपछि म्यानचेस्टर युनाइटेड घरेलु ओल्ड ट्राफोर्डमा चेल्सीमाथि २–१ को विजयी नतिजा निकाल्न सफल भएको छ।

सुरुमा गोल खानाका बावजुद आफ्नो पूर्वक्लबविरुद्ध पाएको जित युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होका लागि सुखद नतिजा थियो । चेल्सीका समकक्षी एन्टोनियो कोन्टेविरुद्ध जुँगाको लडाइँमा पाएको यो सफलतासँगै माउरिन्होको टोली लिभरपुललाई उछिन्दै इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबारै अन्तिम समयमा गोल गर्दै टोटेनह्यामले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको अवस्थामा हारपछि चेल्सी भने पाँचौं स्थानमा झरेको छ।

भ्रमणकारी चेल्सीले युनाइटेडको मैदानमा पहिलो हाफ राम्रो सुरुआत गरेको थियो । तर ३२औं मिनेटमा विलियनको गोलबाट अग्रता लिएको टोलीले त्यो सुरुआतलाई निरन्तरता दिन सकेन । गोल खाएको सात मिनेट नबित्दै लुकाकुले गोल गर्दै पहिलो हाफसम्मका लागि युनाइटेडलाई बराबरीमा ल्याए । लुकाकुकै क्रसलाई लिंगार्डले समय सकिन १५ मिनेट बाँकी रहँदा गोलमा परिणत गरेपछि युनाइटेड महत्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो।

पछिल्लो समय एकअर्काविरुद्ध निकै आक्रामक रूपमा प्रस्तुत हुँदै आएका माउरिन्हो र कोन्टेका टोली आमने–सामने हुँदा आइतबार पनि सञ्चारमाध्यमले रोचक दृश्य अपेक्षा गरेका थिए । तर खेल सुरु हुनुअघि दुई प्रशिक्षकले शान्तिपूर्वक हात मिलाएर आलोचकलाई निराश पारे।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार सेभियासँगको खेलमा आराम दिइएका १२ करोड ४० लाख डलरका मिडफिल्डर पाउल पोग्बालाई आइतबार माउरिन्होले पहिलो रोजाइमा फिर्ता ल्याएका थिए।

उता बार्सिलोनासँग मध्यसातामा १–१ को बराबरी नतिजा निकालेको टोलीमा चेल्सीका प्रशिक्षक कोन्टेले दुई परिवर्तन गरेका थिए । उनको निर्णय सुरुमै सही साबित हुन लागेको थियो । अल्भारो मोराटाले पछिल्लो ६ सातामा पहिलो पटक पहिलो रोजाइमा मौका पाएका थिए । तर मार्कुस अलोन्सोको क्रसमा मोराटाले प्रहार गरेको भली क्रसबारमा लाग्नु चेल्सीको दुर्भाग्य थियो । खेल सुरु हुनुअघि माउरिन्हो र कोन्टेले शान्तिपूर्वक हात मिलाएर आलोचक एवं रोचक दृश्यको अपेक्षा गरेका सञ्चारमाध्यमलाई निराश पारे।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App