२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।

जहाँ युवा, त्यहाँ खेलकुद भन्ने मूल नाराका साथ सुरु हुने खेलमा नेपालका ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरू सहभागी हुने अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागी हुने जनाइएको छ।

खेलकुद र मनोरञ्जन मार्फत युवाहरूमाझ प्रभावकारी ढंगले कुरा राख्न सकिने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष थेबेले बताए।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले गर्न लागेको यस्ता प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिन बताए।

नकआउट शैलीमा हुने प्रतियोगिताको सेमिफाइनलसम्मका खेल च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ।

प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो।

 

प्रकाशित: ३ माघ २०८० १३:३६ बुधबार

राष्ट्रिय युवा संघ नेपाल केपी ओली कप क्षितिज थेबे महेश बस्नेत