२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एपिएफ र न्यु डायमन्ड अन्तिम चारमा


काठमाडौं– सशस्त्र प्रहरीको एपिएफ क्लब र शिवम् न्यु डायमन्ड एकेडेमीले आइतबार शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको उद्घाटन खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । जितसँगै न्यु डायमन्डले समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

ओपन स्पाइकर प्रतिभा माली वुमन अफ दी म्याच बनेको लिग खेलमा न्यु डायमन्डले २५–१३,  २५–१९, २५–१७ को सेटमा आर्मी क्लबलाई पराजित गरेको हो ।अन्तिम समयमा नेपाल पुलिस क्लब र श्रीगाउँ खेलकुद विकास समितिले नखेल्ने निर्णय गरेपछि प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहेको छ । त्यसै हारका बावजुद दुवै समूहका दुवै टोलीले स्वतः सेमिफाइनलमा स्थान बनाएका छन् । हारका बावजुद अन्तिम चारमा स्थान पक्का गरेको आर्मी क्लबले सोमबार समूह ‘ए’ विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार मात्र ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेको एपिएफले शिवम् न्यु डायमन्ड कपमा पनि विजयी सुरुआत गरेको छ । एपिएफले टप्स उच्च माविलाई ३–० कै सोझो सेटमा हरायो । पहिलो सेट २५–१२ ले गुमाए पनि भेट्रान खेलाडी शशिसरा थापाले सेटरको भूमिका निर्वाह गरेपछि राम्रो तालमेल बनाउँदै टप्सले दोस्रो सेटमा एपिएफलाई चुनौती दिएको थियो । एपिएफले दोस्रो सेट २५–२२ मा जितेको थियो । तर, तेस्रो सेट भने एपिएफले सहजै जितेको थियो । तेस्रो सेट २५–१० ले जितेको एपिएफ समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा स्थान पक्का ग¥यो । एपिएफको जितमा उत्कृष्ट प्रदर्शन गरेकी ओपन स्पाइकर सरस्वती चौधरी वुमन अफ दी म्याच भइन् । वुमन अफ दी म्याच चुनिएका खेलाडीले साहस ब्रान्डको ट्र्याक–सुट पुरस्कार जिते ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । उपविजेताले १ लाख १ हजार रुपैयाँ नगद जित्नेछन् । तेस्रो हुनेले ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । चौथो हुनेले २१ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ नगद जित्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनही ५ हजार रुपैयाँ नगद पाउनेछन् ।सोमबार हुने सेमिफाइनलमा अपरान्ह ११ बजे शिवम् न्यु डायमन्ड एकेडेमी र टप्सबीच प्रतिस्पर्धा हुनेछ भने एपिएफ र त्रिभुवन आर्मीबीच १ः३० बजे खेल हुनेछ ।

 

प्रकाशित: २२ माघ २०७४ ०३:३४ सोमबार

एपिएफ न्यु डायमन्ड अन्तिम चारमा