१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एलेक्से र आसाकुरा आईटिएफ जे ३० च्याम्पियन

पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स एकलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गर्दै रुसियन एलेक्से सिभायव च्याम्पियन हुदाँ वुमन्स तर्फ जापानकी उता आसाकुरा च्याम्पियन बनिन्। आसाकुराले पनि पोखराको टेनिस कोर्टमा भारतीय यासिका सोकिनलाई सुपरटाईमा पराजित गरेकी थिईन्।  

कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित च्याम्पियनसिपमा आसाकुराले भारतीय सोकिनलाई १–६, ६–४ र सुपरटाइमा ६–० ले पराजित गर्दै च्याम्पियन बनिन्। पुरुष युगलतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविरमुकेश छाप्दा र अमृत मोण्डको जोडीलाई १–६, ६–४ र सुपरटाईमा १०–५ ले पराजित गर्दै च्याम्पियन बन्यो। महिला डबल्सतर्फ भारतका दिशा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६–२, ६–१ को सटेमा पराजित गरेका थिए।  

प्रतियोगिताका विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले पदक लगाईदिए।  

सांसद बरालले कास्की जिल्ला टेनिस संघले वर्षेनी आयोजना गर्दै आएको यो प्रतियोगिता गण्डकी प्रदेशवासीले गौरब गर्नुपर्ने प्रतियोगिता भएको औल्याए। उनले यसको निरन्तरतामा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए। संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोह महासचिव नविन श्रेष्ठले सञ्चालन गरेका थिए। प्रतियोगिताको दोश्रो सर्किट आगामी सोमबारदेखि शुरु हुनेछ।

प्रकाशित: १७ मंसिर २०८० ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App