३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

चारवर्षपछि पोखरामा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता

पोखरामा चार वर्षपछि पुरुष राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको अवसर जुरेको छ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बिहीबारदेखि केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैंछ।

पोखरामा आयोजना गरिएको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग पछिको राष्ट्रिय प्रतियोगिता हो। आवश्यक तयारी पुरा भइसकेको आयोजकले बताएको छ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेकी रातोले बागमती प्रदेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन हुनेछ।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। खेल तालिका अनुसार समूह ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो रहेका छन्। प्रतियोगितामा ३ विभागी, ७ प्रदेश र आयोजकका दुई टिम गरी १२ टिमको सहभागिता जनाउने  छन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद सहित मेडल र ट्रफि प्राप्त गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने भण्डारीले बताए। प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ। साढे ५ सय दर्शक अट्ने प्यारापिटमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

केपी ओली टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ। विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो। टोलीमा रोविन तिमिल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समीर कँडेल, करण पंगेनी, अभिषेक थापा, सन्दीप क्षत्री, अमृत गुरुङ, दिनेश बुढामगर, कमल परियार, सुदीप अर्याल र चन्द्रकान्त पौडेल रहेका छन्। प्रशिक्षकमा रिजन प्रजु र टिम व्यवस्थापकमा रेशम केसी छन्।  

प्रकाशित: ६ मंसिर २०८० ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App