४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

प्रयोगविहीन भयो झोलुङ्गे पुल

कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो। यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो।

अचेल त्यही पुल प्रयोगविहीन बनेको छ। करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन हुन पुगेको स्थानीय शान्तकुमार बुढाले बताए। ‘पहिले यही पुल नै हाम्रो लागि नदी वारपार गर्ने माध्यम थियो। त्यसताका बरदानजस्तै बनेको थियो झोलुङ्गे पुल’, उनले भने, ‘तर अचेल नजिकै मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुगेको छ।’

विगतमा राजपुर गाउँपालिकासँग राजमार्ग नजोडिएकाले यही पुलले सम्बन्ध जोडेको थियो। हाल प्रयोगविहीन भएकाले त्यसलाई अन्य आवश्कता भएको ठाउँमा लैजान सकिएमा त्यसको उपयोगिता हुने स्थानीको भनाइ छ। ‘धेरै ठाउँमा पुल छैनन्, तर यहाँ एकै ठाउँमा दुईवटा पुल भए। त्यसैले झोलुङ्गे पुल नभएको ठाउँमा लैजान सकिए नागरिकलाई सहज हुन्थ्यो’, बुढाले भने।

यहाँ चार वर्षअघि रु ३५ करोडको लागतमा दुई सय ८० मिटर लामो मोटरेवल पुल बनेको छ। उक्त पुल बनेपछि सवारीसाधन सञ्चालन र स्थानीयलाई आवतजावत गर्न सहज भएको छ। यही पुल तरेर हुलाकी राजमार्ग जान सकिन्छ। यहाँ पुल निर्माण भए पनि सडक स्तरवृद्धि भने हुन सकेको छैन। रासस

प्रकाशित: ३ आश्विन २०८१ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App