६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय गौरवको रुपमा क्रिकेट रंगशाला बनाउँछौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन्।

टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताए।

‘सबैभन्दा पहिला तपाईँहरूलाई बधाई छ। तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ। १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला। कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला।’ उनले भने।

प्रधानमन्त्री दाहालले नेपालको क्रिकेट टिम ‘बेस्ट टिम’ भएको उल्लेख गर्दै क्रिकेटप्रति नेपाली जनता र युवाहरूमा देखिएको क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको सुनाए।

‘क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ। क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौँ।’ उनले भने। 

उनले पुरस्कार वितरणमा ढिलो हुँदा आफूलाई नमिठो लागेको जिकिर गरे। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा सरकारले सचेत हुने उनले जनाए। 

तस्बिरहरु: प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: २१ कार्तिक २०८० १४:२८ मंगलबार

क्रिकेट