२ असार २०८१ आइतबार
image/svg+xml
खेल

देशका हरेक खेलाडी एसियाडका लागि योग्य : एरिका

१९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक दिलाउँदै स्वदेश फर्किएकी करातेकी एरिका गुरुङले देशका हरेक खेलाडीले ‘डिजर्भ’ गर्ने सफलता नै आफूले प्राप्त गरेका बताएकी छन् ।

मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एरिकाले देशका हरेक खेलाडी एसियाली खेलकुदमा पदक जित्न योग्य रहेको उल्लेख गरेकी हुन् । चीनको हानझाउ सहरमा आइतबार सम्पन्न १९औं एसियाली खेलकुदमा एरिकाले रजत र नेपालको महिला कबड्डी टोलीले कांस्य पदक जितेका थिए । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल कराते महासंघ, कबड्डी संघ र विभिन्न खेलका खेलकर्मीले पदकविजेता खेलाडीको भव्य स्वागत गरे । बाजागाजासहित देशका झन्डाका साथ उनीहरूलाई नगर परिक्रमा गराउने राखेपको तयारी थियो ।  

यद्यपि, इजरायलमा भएको हमलाबाट ज्यान गुमाएका नेपालीहरूको सम्झनामा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेपछि राखेपले आफ्ना कार्यक्रम परिमार्जन गरेको हो । विमानस्थलमा खेलाडीका सम्मानका लागि भने कयौं खेलकर्मीहरूको उपस्थिति रह्यो । उनीहरूले एरिका र महिला कबड्डी टोलीको स्वागतमा कुनै कमी हुन दिएनन् । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, नेपाल ओलम्पिक कमिटिका महासचिव नीलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी र राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्यसचिव युवराज लामा र महासचिव दावा गुरुङलगायतले खेलाडीलाई स्वागत गरे ।

सोही अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा करातेको कुमुतेमा रजक पदक विजेता एरिकाले नेपाली खेलाडीमा एसियाली स्तरमा पदक जित्न सक्ने क्षमता रहेको उल्लेख गरिन् । ‘हरेक नेपाली खेलाडीले यो सफलता डिजर्भ गर्छ । सो डिजर्भ गर्ने सफलता नै मैले देशलाई दिलाएकी हुँ । अझ स्वर्ण पदकका लागि चुकेँ । तर, यो पदकबाट पनि सन्तुष्ट छु र भाग्यमानी पनि ठानेको छु,’ एरिकाले भनिन् । उनले आफूले उत्कृष्ट दिन्छु भनेर खेलेको र सोहीअनुरूप नै पदक प्राप्त भएको पनि उल्लेख गरिन् ।  

‘जित्छु भन्दा पनि मेरो उत्कृष्ट दिन्छु भनेर खेलें । सोही उत्कृष्ट नै पदकको लागि योग्य भयो,’ उनले भनिन्, ‘मेरो गुरु कुशल श्रेष्ठले पनि मेरो माइन्ड सेटलाई बलियो बनाइदिनुभएको थियो ।’ महिला कुमुतेको ६८ केजी तौलसमूहको फाइनलमा कजाखस्तानकी सोफिया बेर्लुत्सेभासँग पराजित भएकी थिइन् । सोही पदक ग्रहणको क्रममा नेपालको झन्डा हेर्दै उनी भावुकसमेत भएकी थिइन् । सोही प्रसङ्गबारे सञ्चारकर्मीले कोट्याउँदा उनले देशको झन्डा सबैभन्दा उँचो गराउन असफल हुँदा निकै दुःख लागेको बताइन् ।

‘हाम्रो झन्डा पनि बीचमा भयो भन्ने लाग्यो । तर, पनि मेरो यात्रा रोकिने छैन । मैले आफैँले आफूलाई वृद्धि गर्दै लानुपर्छ । त्यसमा नै आगामी दिन काम गर्नेछु,’ एरिकाले भनिन् । पहिलो पटक सहभागी भएको महिला कबड्डी टोलीले पनि नेपाललाई कांस्य पदक दिलाएको थियो । सोही कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीले पनि देशका लागि पदक जित्न पाउनु निकै गर्विलो क्षण रहेको उल्लेख गरिन् । यस पटक एसियाली खेलकुदमा नेपालका विभिन्न २९ खेलका दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये नेपाल सन् २००६ पछि पहिलो पटक दुईवटा पदक जित्न सफल भयो ।  

कराते पनि नेपालले सन् २०१४ को इन्चोन एसियाली खेलकुदपछि पहिलो पटक सफलता पायो । एरिकाको पदक व्यक्तिगत स्पर्धातर्फ सन् १९९८ पछिको पहिलो हो । त्यति बेला तेक्वान्दोकी सविता राजभण्डारीले रजत दिलाएकी थिइन् । पछिल्लो संस्करण इन्डोनेसियामा सन् २०१८ मा भएको थियो । त्यो एसियाली खेलकुदमा नेपालको पाराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । जुन सफलता यस पटक एरिकाले दोहो¥याइन् । आगामी आइतबारदेखि हानझाउ सहरमा नै पारा एसियन गेम्स सुरु हुँदै छ । त्यसमा पनि नेपालको पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनसहितका खेलाडीले एथलेटिक्स र साइक्लिङमा चुनाती प्रस्तुत गर्नेछन् ।  

प्रकाशित: २४ आश्विन २०८० ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App