२ असार २०८१ आइतबार
image/svg+xml
खेल

पछिल्ला केही संस्करणभन्दा सुधारिएको नतिजा

आशा गरिएका तीन खेलमध्ये करातेकी एरिका गुरुङले ऐतिहासिक रजत पदकको सफलता दिलाएपछि नेपाल दुई पदकसहित घर फर्किंदै छ ।

आइतबार च्योच्याङ राज्यको हानझाउ सहरस्थित हानझाउ ओलम्पिक स्टेडियममा १५ दिने १९औं एसियाली खेलकुद एक भव्य समारोहबीच आइतबार समाप्त भइसकेको छ । यस पटक नेपाल पछिल्ला केही संस्करणको भन्दा सुधारिएको नतिजासहित घर फर्किन लागेको हो । यस एसियाडमा नेपालका दुई सय ५३ खेलाडीले कुल २९ खेलमा प्रतिस्पर्धा गरेका थिए । तीमध्ये करातेकी एरिका र महिला कबड्डी टोलीले पदक दिलाए । नेपालले पछिल्लो पटक सन् २००६ मा सम्पन्न दोहा एसियाली खेलकुदमा तीन पदक ल्याएको थियो ।  

त्यति बेला तेक्वान्दोका दीपक विष्ट, मनिता शाही र आयशा शाक्यले तीन कांस्य पदक जितेका थिए । त्यसयता सम्पन्न हरेक तीन संस्करणमा नेपाल १÷१ पदकमा खुम्चिँदै आएको छ । यस पटक भन नेपालले एक रजत र एक कांस्य जित्यो । यो रजत पदक सन् १९९८ मा सविता राजभण्डारीले जितेपछि व्यक्तिगत स्पर्धामा पहिलो हो । टिम स्पर्धामा भने सन् २०१८ को पछिल्लो जकार्ता एसियाली खेलकुदमा पाराग्लाइडिङ पुरुष टोलीले नेपाललाई दिलाएको थियो ।

एरिकाले पदक जित्दै सन् २०१४ पछि नेपाली करातेको साख पनि फर्काइन् । नेपालकी विमला तामाङले इन्चोन एसियाली खेलकुद २०१४ मा कांस्य जितेकी थिइन् । यस पटक नेपालका दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्दा दुई खेलका खेलाडीले मात्र पदकका लागि चुनौती प्रस्तुत गरे । तीमध्ये एरिका र महिला कबड्डी टोलीले पदक प्राप्त गर्दा बक्सिङकी सरस्वती रानामगर र करातेका विप्लवलाल श्रेष्ठले कांस्य पदकका लागि भिडन्त तय गरेका थिए । तर, दुवै जना असफल रहे ।

आइतबारको समापन समारोहअगाडि नै सबै खेलका प्रतिस्पर्धा सकिएका थिए । आइतबार बिहान नै नेपाली खेलाडीको चुनौती सकिएको थियो । पुरुष भलिबल टोलीको हारबाट हानझाउ सियाली खेलकुदको यात्रा थालेको नेपालले करातेकी सविना श्रेष्ठको पराजयबाट यात्रा टुङ्ग्यायो । त्यो हारसँगै नेपालको दुई सय ५३औं खेलाडीको चुनौती समाप्त भयो । सरकारले प्राथमिकतामा राखेका थप दुई खेल तेक्वान्दो र बक्सिङसहित कुल २७ खेलका खेलाडीको प्रतिस्पर्धा भने निराशाजनक रह्यो ।

नेपाली तेक्वान्दो र बक्सिङको एसियाली खेलकुदमा गर्विलो इतिहास छ । तेक्वान्दोले १४ र बक्सिङले ६ पदक नेपाललाई दिलाएका छन् । त्यसैले पनि नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यही खेललाई नै पहिलो प्राथमिकताका साथ तयारी गरेको हो । तर, आशातीत प्रदर्शन भने हुन सकेन । बक्सिङकी सरस्वती, करातेका खेलाडीद्वय एरिका र विप्लवलालबाहेक यी दुई खेलका कुनै पनि खेलाडीले पदकका लागि प्रतिस्पर्धा गर्न सकेनन् । अधिकांशको चुनौती पहिलो खेल या दोस्रो खेलमा नै समाप्त हुने गर्दथ्यो ।

सरकारले यो एसियाली खेलकुदमा तयारी र सहभागिताका लागि करिब २४ करोड खर्चिएको छ । यस क्रममा २÷३ महिनाअगाडिदेखि तयारीलाई तीव्र पारिएको थियो । सन् १९५१ को पहिलो एसियाली खेलकुददेखि नै नेपालले सहभागिता जनाउँदै आएको छ । पदक जित्न भने नेपालले ३५ वर्ष कुर्नुपर्यो ।  सन् १९८६ को सिओल एसियन गेम्समा नेपालका चार बक्सर र चार तेक्वान्दो खेलाडी समान चार कांस्य गरी आठ पदक जितेका थिए । त्यसयता हरेक ९ वटा एसियाली खेलकुदमा नेपालले पदक जित्दै आएको छ । चीनको हानझाओ सहरमा पनि नेपालले सुखद यात्रा जारी राखेन र १७ वर्षपछि दुई पदक जित्यो । 

प्रकाशित: २३ आश्विन २०८० ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App