१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कप्तान चण्डीमलद्वारा हेराथको प्रशंसा

अबुधाबी– श्रीलंकाका कप्तान दिनेश चण्डीमलले स्पिनर रंगाना हेराथको प्रशंसा गरेका छन् । सोमबार पाकिस्तानविरुद्ध पहिलो टेस्टमा २१ रनको जित हात पार्नुमा हेराथको हात भएको भन्दै उनको प्रशंसा गरेका हुन्।

हेराथले दोस्रो इनिङमा ४३ रन खर्चंदै ६ विकेट लिएपछि  १ सय ३६ रनको विजयलक्ष्य पछ्याएको पाकिस्तान १ सय १४ रनमा सीमित भएको थियो । उनले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए।

‘हेराथ अद्भुत खेलाडी हुन् । उनी टोलीका महत्त्वपूर्ण सदस्य हुन् र टोलीमा उनको उपस्थितिले छुट्टै ऊर्जा दिन्छ,’ सोमबार हात पारेको जितसँगै दुई टेस्ट शृंखलामा १–० को अग्रता लिएपछि चण्डीमलले भने, ‘उनले मलगायत टोलीका सम्पूर्ण सदस्यलाई सहयोग गर्नुका साथै आफूले सिकेको कुरा सिकाउँछन् । सबै युवा खेलाडी उनको बलिङ अनुभव सुन्न आतुर हुन्छन् । उनी ३९ वर्षका भए पनि खेलप्रतिको लगाव अझै युवाजस्तै छ।’

त्यस्तै चण्डीमलले विकेटकिपर ब्याट्सम्यान निरोसान डिकवेलाको समेत प्रशंसा गरे ।
डिकवेलाले ४० रन जोडेपछि श्रीलंकाले दोस्रो इनिङमा १ सय ३८ रन जोडेको थियो । दोस्रो इनिङमा श्रीलंकालाई सस्तोमा समेट्ने क्रममा पाकिस्तानका स्पिनर यासिर शाहले ५१ रन खर्चंदै ५ विकेट लिएका थिए।

‘दोस्रो इनिङमा डिकवेलाको योगदान महत्त्वपूर्ण रह्यो । हामीलाई हेराथले स्पिनमा जादु देखाउँछन् भन्ने थाहा थियो,’ चण्डीमलले भने, ‘पाकिस्तानमा युवा खेलाडीको बाहुल्य रहे पनि हामीले उनीहरुलाई कमजोर सोचेनांै । यस जितले हामीलाई थप ऊर्जा मिलेको छ ।’

यता पाकिस्तानका प्रशिक्षक मिके अर्थरले ब्याट्सम्यानले सोचेअनुरूप प्रदर्शन गर्न नसक्दा हार बेहोरेको भन्दै चिन्ता व्यक्त गरे।

‘१ सय ३१ रनको लक्ष्य सहज हो र यो लक्ष्य हामीले सहजै भेट्टाउनुपर्ने हो,’ अर्थरले भने, ‘हेराथ अन्तिम दिनमा चल्नेछन् भने हामीलाई थाहा थियो र हामीले तयारीसमेत त्यसै अनुसारको गरेका थियौं । तर ब्याट्सम्यानले सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन् । उनीहरूले हेराथविरुद्ध खुलेर खेल्न सकेनन् । खेलाडीहरूले कुनै पनि विकेटका लागि ठोस साझेदारी गर्न सकेनन् । त्यो नै हारको प्रमुख कारण बन्यो ।’

अबुधाबीमा पाकिस्तानले भोगको यो पहिलो टेस्ट हार हो । पाकिस्तान र श्रीलंका सात वर्षपछि टेस्ट क्रिकेटमा आमनेसामने भएका थिए । सन् २००९ मा  लाहोरमा श्रीलंकाली खेलाडी चढेको बसमा आतंककारी हमला भएको थियो ।
लाहोरमा भएको आतंककारी हमलापछि युएईलाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आएको पाकिस्ताने त्यहाँ खेलिएका यसअघिका नौ टेस्टमा हार बेहोरेको थिएन । दोस्रो तथा अन्तिम टेस्ट शुक्रबारदेखि हुनेछ ।

हेराथले दोस्रो इनिङमा ४३ रन खर्चंदै ६ विकेट लिएपछि १ सय ३६ रनको विजयलक्ष्य पछ्याएको पाकिस्तान १ सय १४ रनमा सीमित भएको थियो ।

प्रकाशित: १८ आश्विन २०७४ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App