२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोबिना नै पोर्चुगलको फराकिलो जित

पोर्चुगलका खेलाडीले नऔं गोल उत्सव मनाउँदा लक्जेम्बर्गका सेइड कोर्याक (सेतो) प्रतिक्रिया दिँदै । तस्बिरः एपी

ठूला प्रतिस्पर्धामा फराकिलो जितका लागि पोर्चुगललाई आफ्ना कीर्तिमानी गोलकर्ता क्रिस्टियानो रोनाल्डो नै आवश्यक परेन। विश्व फुटबलका सर्वाधिक गोलकर्ता रोनाल्डो लगातार दुई पहेँलो कार्डका कारण मैदानबाहिर रहँदा पनि पोर्चुगलले सोमबार राति लक्जेम्बर्गमाथि ९–० को कीर्तिमानी जित निकालेको छ।

रोबर्टो मार्टिनेजको टोली पोर्चुगलले युरो कपको छनोटअन्तर्गत ६ खेलमा नै जित निकालेको छ। यस क्रममा एक गोल पनि नबेहोर्दै पोर्चुगलले कुल २४ गोल गरेको छ। साथै देशका लागि सबैभन्दा फराकिलो जित पनि दर्ता गरेको छ। पोर्चुगलले समूह ‘जे’ मा दोस्रो स्थानको स्लोभाकियाभन्दा पाँच अंकको अग्रता बनाइसकेको छ। गत हप्ता मात्र स्लोभाकियाले पनि पोर्चुगलसँग हार बेहोरेको थियो। स्लोभाकियासँग तीन अंकले पछि रहेको लक्जेम्बर्ग तेस्रो स्थानमा छ। म्यानचेस्टर युनाइटेडका प्लेमेकर ब्रुनो फन्र्डाडेजले स्लोभाकियाविरुद्ध निर्णायक गोल गरेका थिए। उनले लक्जेम्बर्गविरुद्ध भने तीन गोलका लागि अवसर सिर्जना गर्दा एक गोल पनि गरे।  

रोबर्टो मार्टिनेजको टोली पोर्चुगलले युरो कपको छनोटअन्तर्गत ६ खेलमा नै जित निकालेको छ। यस क्रममा एक गोल पनि नखाँदै पोर्चुगलले कुल २४ गोल गरेको छ।

गोन्जालो रामोस, डिएगो जोटा र गोन्जालो इनासियोले समान दुई गोल गरेका थिए। रिकार्डो होर्टा र जाओ फेलिक्सको नाममा पनि एक गोल रह्यो। कतार विश्वकपलगत्तै फर्नान्डो सान्तोसको स्थानमा पोर्चुगल आएका मार्टिनेजले प्रशिक्षण समालेपछि शतप्रतिशत जित दिलाएका छन्। ‘हामी नयाँ प्रशिक्षकका साथ अझै नयाँ सुरुआत गर्दै छौं र भर्खर मात्र प्रशिक्षकका अनुसार काम गर्न सिकेका छौं,’ जोटाले भने, ‘आज हामीले भविष्यका लागि टिम सेटको सन्देश दिएका छौं।’ स्पोर्टिङ लिस्बनका डिफेन्डर इनासियोले खेलको १२औं मिनेटमा नै गोल गर्दै घरेलु टोली पोर्चुगललाई अग्रता दिलाए।  

त्यसको पाँच मिनेटपछि नै पेरिस सेन्ट जर्मेन (पिएसजी) का रामोसले अग्रता दोब्बर बनाए। २२ वर्षे स्ट्राइकर रामोसले ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। देशका लागि आठौं सहभागितामा उनको यो छैटौं गोल पनि हो। पोर्चुगलको दक्षिण तटीय क्षेत्रमा रहेको अल्गार्भ स्टेडियममा पोर्चुगलले पाहुना टोलीलाई पूर्ण दबाबमा राख्यो। फर्नान्डेजकै क्रस बलमा इनासियो पहिलो हाफमा नै दोस्रो गोल गरे। दुई खेलाडीले समान दुई गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा नै चार गोल गर्यो। यसअघि पहिलो खेलमा पनि पोर्चुगलले लक्जेम्बर्गविरुद्ध ६–० को जित निकालेको थियो।  

छनोटको दोस्रो प्रतिस्पर्धामा पनि पोर्चुगल फराकिलो जिततर्फ अग्रसर देखियो। दोस्रो हाफमा जोटा चम्किएपछि पोर्चुगलले कुल पाँच गोल गर्यो। जोटाले दुई गोल, होर्टा, फर्नान्डेज र फेलिक्सले समान एक गोल थप्दै पोर्चुगललाई फराकिलो जित दर्ता गराए। पोर्चुगलले यसअघि ८–० को जित निकालेको थियो। सोमबार भने लक्जेम्बर्गमाथि रबाफ देखाउँदै इतिहासकै फराकिलो जित निकाल्दै नयाँ रेकर्ड बनायो। ‘सबैले टिम गेममा राम्रो प्रदर्शन गर्यौं। हरेक खेलमा उत्तिकै महत्वका साथ खेलेका छौं,’ होर्टाले भने, ‘अहिले हामी लयमा देखिएका छौं। तर, अभैm पनि सुधार गर्नुपर्ने धेरै पक्ष छन्। स्लोभाकियाविरुद्ध जुन खेल खेलेका थियौं, त्यो हाम्रो लय होइन।’ मार्टिनेजको टोली पोर्चुगलले आगामी अक्टोबरमा स्लोभाकियालाई हराउँदा र लक्जेम्बर्ग आइसल्यान्डलाई पराजित गर्न असफल हुँदा पनि युरो कप २०२४ का लागि छनोट हुनेछ। 

प्रकाशित: २७ भाद्र २०८० ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App