२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आएन ब्याटिङमा सुधार

'महिला क्रिकेट टोलीले सय रन पनि बनाउन सक्दैनन् भन्ने हामीलाई आरोप आइरहन्छ। तर, यसपल्ट तयारी राम्रो भएको छ। विदेशी प्रशिक्षक (देविक पल्सिकर) आउनुभएपछि हाम्रो ब्याटिङमा सुधार आएको छ र यो पटक राम्रो गर्नेछौं,’ महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायरमा जानुअघि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले ब्याटिङमा सुधार आएको संकेत गर्दै भनेकी थिइन्।  

नेपाली क्रिकेट संघ (क्यान) ले पनि महिला टोलीको ब्याटिङमा सुधार गर्ने लक्ष्यका साथ अनुभवी भारतीय प्रशिक्षक पल्सिकरलाई भिœयाएको थियो। उनी नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षण समाल्ने पहिलो विदेशी प्रशिक्षक पनि हुन्। उनको प्रशिक्षणबाट नेपाल यसपल्ट ग्लोबल क्वालिफायरमा पुग्ने आशा गरिएको थियो। तर, ब्याटिङ समस्यामा सुधार हुन नसकेपछि नेपालको यात्रा अगाडि बढ्न सकेन। शुक्रबार मलेसियामा जारी एसिया क्वालिफायरको सेमिफाइनलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग पराजित हुन पुग्यो।

नेपालको यो हार पनि खराब ब्याटिङ नै कारण बन्यो। १ सय ६ रनको सामान्य लक्ष्य पनि नेपालले भेट्टाउन सकेन। निकै खराब सुरुआत गरेको नेपाल १९.३ ओभरमा ५९ रनमै समेटियो। फाइनलमा पुग्दै ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको लक्ष्य यो पटक अधुरै रह्यो। यो प्रतियोगितामा जानुअघि कप्तान रुबिनाले आफ्नो टोलीलाई लाग्दै आएको सय रन पनि कटाउन सक्दैन भन्ने आरोपजस्तै नतिजा नेपालले बेहो¥यो। समूहको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स(युएई) सँगको खेल वर्षाका कारण रोकिएको थियो।

त्यसबाहेक नेपालले चार खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो। यी चार जितमा नेपालले मलेसियासँगको पहिलो खेलमा ब्याटिङ गरेको थियो। त्यो खेलमा नेपाली टोलीले ८४ रन पार गर्न सकेन। बाँकी तीन खेलमा लक्ष्य पछ्याएको नेपालले बहराइन र कतारविरुद्ध सहजै जित निकाल्दा भुटानविरुद्ध पाएको ४० रनको लक्ष्य पूरा गर्न पनि सात विकेट गुमाउन परेको थियो। पहिलो खेलदेखि सेमिफाइनलसम्म खराब ब्याटिङले निरन्तरता पाउँदा नेपालले बलियो टोली थाइल्यान्डको चुनौती भने पार गर्न सकेन।

नेपालका लागि यो छनोटमा सीता रानामगरले पाँच खेलमा गरेर कुल ६९ रन जोडिन्। यो नै नेपाली ब्याटरको सर्वाधिक धेरै रन रह्यो। नेपालको भरपर्दो ब्याटर मानिएकी कप्तान रुबिना पनि चल्नै सकिनन्। पाँच खेलमा उनले तीन इनिङमा ब्याटिङ गर्न पाएकी थिइन्। त्यसमध्ये भुटानविरुद्ध उनी १२ रनमा अविजित रहँदा मलेसियासँग १२ रनमा आउट भएकी थिइन्। थाइल्यान्डसँग भने खाता नै खोल्न सकिनन्। अनुभवी ब्याटर इन्दु बर्मा, काजोल श्रेष्ठसँगै अलराउन्डर कविता जोशीको ब्याटिङ पनि चल्न सकेन।

यद्यपि, इन्दुले बलिङमा भने राम्रो प्रभाव छाडिन्। चार इनिङमा उनले पूजा महतोसँगै समान ६ विकेट लिइन्। यो नै नेपालको बलिङमा सर्वाधिक विकेट रह्यो। सन् २०२० को ट्वान्टी–२० विश्वकप खेलिसकेको थाइल्यान्डविरुद्ध नेपालका आठ ब्याटरले दोहोरो अंकमा रन नै जोड्न सकेनन्। ४.२ ओभरमा नेपाल ४÷८ को नाजुक अवस्थामा पुग्यो। यस क्रममा नेपालले काजोल श्रेष्ठ र कप्तान रुबिनालाई शून्यमा गुमाउँदा इन्दु बर्मा ३ रन र सीता रानामगर ४ रनमा आउट भए।

चार महŒवपूर्ण ब्याटर आउट भएपछि नेपाल समालिन नै सकेन। आठौं नम्बरमा आएका कविता कुँवरले नटआउट १७ रन जोडिन्। यद्यपि, त्यो जितका लागि पर्याप्त भएन र नेपालले ४६ रनले हार बेहो¥यो। यो हारसँगै ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको लक्ष्य यस पटक पनि पूरा भएन।  शुक्रबार सफलता प्राप्त गर्दै थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई ) फाइनलमा पुगेपछि ग्लोबल छनोटमा स्थान बनाउन सफल भए।  

प्रकाशित: २३ भाद्र २०८० ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App