२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हङकङ र थाइल्यान्डलाई उपाधि

हङकङ र थाइल्यान्डले नेपालमा भएको एसिया यु–२० रग्बी सेभेन्सको उपाधि जितेका छन्।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आइतबार सम्पन्न यु–२० रग्बी सेभेन्समा हङकङले पुरुष र थाइल्यान्डले महिलामा उपाधि जितेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ सम्पन्न डबल राउन्ड रोबिन लिगमा स्कोरअन्तरको आधारमा हङकङलाई पछि पार्दै थाइल्यान्डले उपाधि जितेको हो। चार राष्ट्र सहभागी लिगमा हङकङ र थाइल्यान्डले समान १६ अंक प्राप्त गरेका थिए। तर, १३ स्कोर अन्तरमा हङकङलाई पछि पार्दै थाइल्यान्ड च्याम्पियन भयो।

यी दुईबीच पहिलो लेग हङकङले १२–७ ले जित्दा दोस्रो लेगमा थाइल्यान्डले १९–१२ ले बदला लियो। लिगकै अन्तिम खेलमा हङकङले मलेसियामाथि ५०–७ को जित रचे पनि उपाधिका लागि पर्याप्त भएन र थाइल्यान्डले विजयोत्सव मनायो।

हङकङ दोस्रो स्थानमा खुम्चिँदा मलेसिया तेस्रो भयो। नेपाल भने पुछारमा रह्यो। पुरुषतर्पm फाइनलमा भने हङकङले मलेसियामाथि १९–१४ को जित निकाल्दै उपाधि उचाल्यो। अन्तिम ३० सेकेन्ड बाँकी छँदा दुवै टोली १४–१४ को अवस्थामा थिए। तर, हङकङले अन्तिम समयमा ‘ट्राई’ गर्दै जित दर्ता गर्न सफल भयो। पुरुषमा चाइनिज ताइपेई तेस्रो भयो।

समालिन नसकेको २० सेकेन्ड

शनिबार नै पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ को हार बेहोर्‍यो। अन्तिम २० सेकेन्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको हो।

प्रतियोगिताका विजेताद्वय हङकङ र थाइल्यान्डलाई एसिया रग्बीका अध्यक्ष कायस अल धलाईले ट्रफी हस्तान्तरण गरेका थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव एवम् एसिया रग्बीका कार्यकारी सदस्य टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले खेलाडीलाई पदक हस्तान्तरण गरेका थिए।

दुई दिने प्रतियोगिताअन्तर्गत पुरुषमा सात टोलीबीच लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा भएको थियो। महिलामा भने चार टोलीले डबल लिगमा प्रतिस्पर्धा गरेका थिए। नेपाली रग्बीको इतिहासमा नेपालमा भएको यो अहिलेम्मकै ठूलो प्रतियोगिता हो। गत वर्ष रग्बी संघले एसिया रग्बी यु–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरेको थियो।

प्रकाशित: ४ भाद्र २०८० ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App