१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

स्विडेन चौथो पटक तेस्रो

महिला विश्वकपको सेमिफाइनलमा पराजित भएपछिको खेलमा कुनै पनि टोलीले स्विडेनलाई हराउन सकेको छैन, चाहे त्यो आयोजक राष्ट्र नै किन नहोस्।

सेमिफाइनलमा हारपछि हुने तेस्रो स्थानको प्रतिस्पर्धामा स्विडेनको रेकर्ड उत्कृष्ट नै छ। किनकि स्विडेनले चौथो पटक तेस्रो स्थानको खेल जित्न सफल भइसकेको छ। शनिबार ब्रिसबेनमा आयोजक राष्ट्र अस्ट्रेलियालाई पनि स्विडेनले २–० ले हराउँदै चौथो पटक महिला विश्वकपमा तेस्रो भएको हो। ‘आनन्दको महसुस भएको छ। हामीले पहिलो मिनेटदेखि नै खेल देखायौं। हामी उत्कृष्ट टोली हौं भन्ने प्रमाणित गर्यौं,’ फ्राइडोलिना रोल्फाले भनिन्, ‘हामी यो पदकको हकदार हौं।’ तर, महिला विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको अस्ट्रेलियाको लागि भने अन्तिम खेल  

सुखद रहेन।  

जारी विश्वकपको दुई आयोजक राष्ट्र अस्ट्रेलिया र न्युजिल्यान्डले समर्थकको उपस्थितिमा रेकर्ड नै बनाए। टेलिभिजनमात महिला विश्वकप हेर्न दर्शकमा पनि रेकर्ड नै बन्यो। सिड्नीको ओपेरा हाउसमा दर्शकका लागि भनेर ठूलो स्क्रिन राखिएको थियो। त्यहाँ रहेका अधिकांश समर्थकको आशा कम्तीमा कांस्य पदक जित्नु थियो। तर, अस्ट्रेलिया लगातार विश्व वरीयताको चौथो र तेस्रो स्थानका टोलीसँग हार बेहोर्न बाध्य भयो। अस्ट्रेलियाकी स्टार स्ट्राइकर साम केर पनि निरीह बन्न बाध्य भइन्।  

‘हामी जित्न चाहन्थ्यौं। घरमा विश्वकपका केही चिह्न राख्न चाहन्थ्यौं, तर सफल भएनौं,’ केरले भनिन्, ‘हामीसँगै हाम्रा दर्शक पनि साथमा थिए। हामीले उनीहरूलाई रुवायौं। तथापि, विश्वलाई अस्ट्रेलिया पनि फुटबलको राष्ट्र हो भनेर चिनाउन सफल भयौं।’ आजको दिन आफूहरूको पक्षमा नरहे पनि कयौं वर्षसम्म आफ्ना पुस्ताका लागि उत्प्रेरणा दिन सफल भएको सामको विश्वास छ। करिब ५० हजार दर्शक रहेको ब्रिसबेनमा स्विडेनले खेलको ३०औं मिनेटमा नै अग्रता लिएको थियो। फ्राइडोलिना रोल्फोको पेनाल्टी गोलबाट पाहुना टोलीले अग्रता लिएको हो। एक घण्टा बितेलगत्तै स्विडेनले दोस्रो गोल गर्यो।  

स्विडेनकी कोसोभारे एसलानीले गोल गरेपछि अस्ट्रेलिया २–० ले पछि पर्यो। फिफा विश्व वरीयतामा पनि तेस्रो स्थानमा रहेको स्विडेन विश्वकपमा तेस्रो भएको यो चौथो पटक हो। स्विडेन घरेलु टोलीविरुद्ध जितको हकदार पनि देखियो। स्विडेनले मिडफिल्डमा पूर्ण रूपमा दबाब बनाउँदा अस्ट्रेलियाकी स्टार स्ट्राइकर साम केर शान्त देखिन बाध्य भइन्। अस्ट्रेलियाकी अर्की आक्रामक स्ट्राइकर म्यारी फउलरले पनि संघर्ष गरिन्। स्विडेनको डिफेन्स पनि अस्ट्रेलियाविरुद्ध हाबी भयो। स्विडेनकी स्ट्राइकर स्टिना ब्लाकस्टेनियस नै अस्ट्रेलियाका लागि घातक साबित भइन्।

६३औं मिनेटसम्म अस्ट्रेलियाका डिफेन्स चल्न नसक्दा गोल बेहोर्यो। स्विडेनले बल नियन्त्रणमा राख्दै अस्ट्रेलियाविरुद्ध दबाब बनायो। अस्ट्रेलियाले बुधबार सेमिफाइनलमा इङल्यान्डसँग ३–१ को हार बेहोर्दाकै शैलीमा खेलेको थियो। स्विडेनले भने बल आफ्नो नियन्त्रणमा राख्दै दबाब बनायो। अस्ट्रेलिया पनि खेलमा फर्कन संघर्ष गरिरह्यो। तर, सफलता भने पाउन सकेन। स्विडेनले पहिलो ६० सेकेन्डमा नै गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेको थिएन। अस्ट्रेलियाकी गोलकिपर म्याकेन्जी आर्नोल्डो स्विडेनका लागि बाधक बनिन्। तर, पछि स्विडेनले पेनाल्टीबाट अग्रता लिने अवसर पायो र सदुपयोग पनि गर्यो। लय कायम राख्दै दोस्रो हाफमा पनि गोल गर्दै जित निकाल्यो।  

युरोपियन च्याम्पियन इङ्ल्यान्ड र स्पेनबीच आइतबार सिड्नीमा फाइनलमा प्रतिस्पर्धा हुँदै छ। यता, तेस्रो स्थान स्विडेनले जितेसँगै युरोपियन राष्ट्रले नै पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने भएका छन्। स्विडेनले सन् १९९१ मा भएको महिला विश्वकपको पहिलो संस्करणमा पनि तेस्रो स्थान प्राप्त गरेको थियो। त्यति बेला जर्मनीलाई ४–० ले हराएर स्विडेनले त्यो सफलता प्राप्त गरेको हो। सन् २००३ मा भने स्विडेन फाइनलमा नै पुग्यो। तर, फाइनलमा जर्मनीसँग हार बेहोर्यो। त्यसपछि सन् २०११ र २०१९ स्विडेन तेस्रो भएको थियो। 

प्रकाशित: ३ भाद्र २०८० ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App