२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फ्रेन्ड्स जोगियो, खुमलटार पहिलो सिजनमै घटुवा

विभागीय क्लब एपिएफमाथि ४–० को सहज जितसहित फ्रेन्ड्स क्लबले ‘ए’डिभिजन हैसियत कायम राख्दा एफसी खुमलटार भने शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै घटुवा भएको छ।  

शुक्रबारबाट सुरु लिगको अन्तिम चरणमा ११औं स्थानको एपिएफसँगै १२औं स्थानको थ्री स्टार क्लब, १३औं स्थानको खुमलटार र १४औं स्थानको फ्रेन्ड्स क्लबबीच ‘ए’ डिभिजन हैसियत जोगाउने दौड कायम थियो। बिहीबार नै फ्रेन्ड्स र खुमलटारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै रेलिगेसनको संकटमा रहेका टोलीहरूको खेल एकै दिन र एकै समय राख्न माग गर्र्दै पत्राचार गरेका थिए।

एन्फाको तालिकाअनुसार एन्फामा खुमलटार र लिग विजेता चर्च ब्वाइज युनाइटेड र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपिएफ र फ्रेन्ड्स क्लबको खेल तय थियो। तर रेलिगेसनको अर्को दाबेदार टोली थ्री स्टार क्लबको जावलाखेल युथ क्लबविरुद्धको खेल भने शनिबार साँझका लागि मात्र तय थियो। एन्फाले खेलतालिका परिवर्तन नगर्ने संकेत गरेसँगै खुमलटारले पुनः पत्र लेख्दै नेपाली फुटबलको संरक्षक एन्फा नै स्वच्छ खेल होस् भन्ने चाहनाविपरीत रहेको भन्दै चर्च ब्वाइजविरुद्धको खेल नखेल्ने घोषणा गरेको थियो। एन्फाले कारबाही गर्ने संकेत पाएपछि मात्र खुमलटार खेल्नका लागि तयार भएको थियो।  

दशरथ रंगशालामा रेलिगेसन संकट टार्न एपिएफलाई १ अंक मात्र पनि पर्याप्त थियो। तर फ्रेन्ड्सलाई भने जितको विकल्प थिएन। एपिएफविरुद्ध फ्रेन्ड्सले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। यता एन्फा मुख्यालयमा भने खुमलटार पहिलो हाफमा चर्च ब्वाइजविरुद्ध १–० ले पछि परेको थियो। मेसुकेले पेनाल्टीको अवसर गुमाउँदा खुमलटारले खेलमा फर्कन अवसर गुमाएको थियो।  

फ्रेन्ड्सले एपिएफविरुद्ध ४ गोल गर्दै ‘ए’ डिभिजनको हैसियत जोगाउन सफल भयो। फ्रेन्ड्सको सहज जितमा टोरिक जेब्रिन, विकास थापा, रफिक अमिनु र अख्राबेक उक्तामोभले समान एक गोल गरे।

फ्रेन्ड्सले दोस्रो हाफमा थप २ गोल गरेसँगै सहज जितसहित ‘ए’डिभिजनको हैसियत जोगाउन सफल भयो। फ्रेन्ड्सको सहज जितमा टोरिक जेब्रिन, विकास थापा, रफिक अमिनु र अख्राबेक उक्तामोभले समान एक गोल गरे।

यता एन्फा मुख्यालयमा भने खुमलटारका खेलाडी र पदाधिकारीले रेफ्री प्रज्वल क्षेत्रीमाथि हातपातको प्रयास गरेसँगै खेल लामो समय रोकिएको थियो। दोस्रो हाफमा थप एक गोल खाएसँगै २–० को हारका साथ खुमलटारको शीर्ष डिभिजन गुमेको थियो।

‘ए’ डिभिजन हैसियत जोगिएपछि फ्रेन्ड्सका खेलाडी (माथि)। रेफ्रीविरुद्ध हातपाको प्रयास गर्दै खुमलटारका पदाधिकारी एवं प्रशिक्षक। तस्बिर सौजन्यः एन्फा

फ्रेन्ड्स २६ खेलमा ३० अंकसहित ११औं स्थानमा उक्लिएको हो। समान खेलमा समान ३० अंक भए पनि एफिएफ भने १२औं स्थानमा झरेको छ। एपिएफ फ्रेन्ड्ससँग हेड टु हेडमा पछि परेको हो। १३औं स्थानको थ्री स्टारको २५ खेलमा २९ र रेलिगेसनमा परेको १४औं स्थानको खुमलटारको २७ अंक रह्यो।

गत सिजन पनि एपिएफ र फ्रेन्ड्सले रेलिगेसनबाट जोगिन निकै संघर्ष गर्नुपरेको थियो। यस सिजन पनि यो दुई टोलीले हैैसियत जोगाउन अन्तिम खेलसम्म संघर्ष गर्नुपरेको थियो। जहाँ फ्रेन्ड्स सफल हुँदा एपिएफको शीर्ष डिभिजनको हैसियत भने शनिबार हुने जावलाखेल र थ्री स्टारविरुद्धको खेलमा निर्भर हुनेछ।  

थ्री स्टारले जावलाखेललाई नतिजा सुम्पिएमा वा बराबरी खेलेमा एपिएफको ‘ए’डिभिजनको हैसियत कायम रहनेछ। हेड टु हेडमा थ्री स्टारभन्दा अघि रहेकाले पनि सो खेल बराबरीमा रोकिए पनि एपिएफ ‘ए’ डिभिजनमै कायम रहनेछ। थ्री स्टारले जावलाखेललाई स्तब्ध पारेमा भने एपिएफ ‘ए’ डिभिजनबाट घटुवा हुनेछ।  

‘आज हामीसामु जितको विकल्प थिएन,’फ्रेन्ड्सका गोलकिपर प्रशिक्षक तथा टेक्निकल डाइरेक्टर मृगेन्द्र मिश्रले भने, ‘खेलको सुरुआतमै गोल निस्किँदा ‘ए’ डिभिजन हैसियत कायम राख्ने लक्ष्यले पूर्णता पायो। हामीले राम्रो टिम बनाएका थियौं, तर धेरै खेल अन्तिम मिनेटमा गुमाउँदा यस पटक पनि गत सिजनझैँ हामी रेलिगेसनबाट बाँच्न संघर्षरत रह्यौँ। पछिल्लो दुई खेलमा श्रम स्वीकृति सकिएकाले विदेशी खेलाडी खेल्न नपाउँदा त्यसले टोलीको नतिजा प्राभावित बन्यो।’

यता एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो चरणमा राम्रो प्रदर्शन गरे पनि दोस्रो चरणमा लय गुमाउँदा ‘ए’डिभिजनको हैसियत गुम्ने संघारमा पुगेको बताए।

‘हामीले शीर्ष तीनको लक्ष्य राखेर त्यहीअनुसारको नतिजा पनि ल्याएका थियांै,’महर्जनले भने, ‘तर दोस्रो चरणमा स्वाभाविक लय कायम राख्न सकेनांै। आज हामीलाई फ्रेन्ड्सविरुद्ध बराबरीको नतिजा पनि ‘ए’ डिभिजन हैसियत कायम राख्न पर्याप्त हुने थियो। तर फ्रेन्ड्सका जेब्रिनले गरेको फ्रिकिक गोल नै खेलको टर्निङ प्वाइन्ट बन्यो। त्यसले टोलीको मनोबल घट्यो।’  

‘हामी सहिद स्मारक ‘ए’डिभिजन लिगमा रहने वा नरहने भन्ने निर्णय थ्री स्टार र जावलाखेलबीचको खेलले निर्धारण गर्नेछ,’महर्जनले भने, ‘हामीले आफ्नो हातबाट ‘ए’ डिभिजन लिग हैसियत गुमाइरहेका छांै। हामीसँग गणितीय सम्भावना छ तर नतिजा भने अर्र्का टोलीको हातमा छ।’  

यता च्यासल फुटबल मैदानमा अहमद हजाजीको निर्णायक गोलमा सातदोबाटो युथ क्लबमाथि १–० को जितसहित नेपाल पुलिस क्लबले भने तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्यो।

शीर्ष स्थानको चर्च ब्वाइजको २६ खेलमा ४८ अंक रह्यो भने दोस्रो स्थानको मच्छिन्द्रको २५ खेलमा ४२ र तेस्रो स्थानको पुलिसको २६ खेलमा ४१ अंक रह्यो। चौथो स्थानको जावलाखेलको २५ खेलमा ३७, पाँचांै स्थानको सातदोबाटोको ३५ र छैटौं स्थानको त्रिभुवन आर्मी क्लबको २६ खेलमा ३४ अंक रह्यो।  

पहिलो चरणमा १३ मध्ये १ खेल मात्र जितेको नेपाल पुलिस क्लबले अन्ततः तेस्रो स्थानमा रहेर सिजनको अन्त्य ग¥यो। सातदोबाटोविरुद्धको खेलसँगै जुमानु राई र भोला सिलवालले व्यावसायिक खेलजीवनमा पूर्णविराम लगाएका छन्।  

दशरथ रंगशालामा सम्पन्न अर्को खेलमा आर्मीले हिमालयन शेर्पालाई १–० ले हरायो। आर्मीको जितमा सुदिल राईले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो। १०औं स्थानको हिमालयन शेर्पाको २६ खेलमा ३१ अंक रह्यो।  

प्रकाशित: २७ जेष्ठ २०८० ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App