१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकपः झापाको जितमा विशाल हिरो

माइभ्याली गोल्डकपको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै झापा–११ (नीलो) र सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडी ।

इलाम– निर्धातिर ९० मिनेटपछि थपिएको १५ मिनेटको पनि इन्जुरी समयमा विशाल राई (ए)ले गरेको गोलसँगै डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा पुगेको छ । बिहीबारको अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबविरुद्ध विशालले हेडमार्फत् गरेको गोल नै निर्णायक बन्यो ।
    एपिएफका कप्तान मिलन राईले फाउल हानेपछि डि–बक्सनजिकै पाएको फ्रिकिक झापाले सदुपयोग गरेको हो । झापाका रजिन धिमालले हानेको फ्रिकिकलाई विशालले गोलमा परिणत गरे । निर्धारित ९० मिनेटसम्म कुनै टिमबाट गोल हुन नसकेपछि १५ मिनेट थपिएको थियो । त्यसको पनि इन्जुरी समयको पछिल्लो १ मिनेट मात्र बाँकी रहँदा झापाले गोल लगाएको हो ।
    निर्धारित समयमा दुवै टिमबाट विपक्षीको गोल पोस्टमा भएका दर्जनौं प्रहार खेर गए । झापाका बुद्धराज चेमजोङले दिएको पासमा खमिर गिल्सन कन्दङ्बाले विपक्षीको गोल पोस्टमा प्रहार गरेपनि नजिकैबाट बाहिरियो । सशस्त्रका नवीन लामाले झापाको गोल पोस्टमा गरेको कडा प्रहारले जाली चुम्न सकेन । झापाका रञ्जित श्रेष्ठले विपक्षीको डि–बक्सनजिकै पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् ।
    झापाको गोल पोस्टनजिकै एपिएफका नवीन लामाले गरेको हेड, सन्तोष श्रेष्ठले गरेको प्रहार र रूपबहादुर लामाले हानेको कर्नरमा राजेन्द्र रावलको सुन्दर हेड पनि गोल पोस्टबाहिरै गयो । उत्तरार्धमा झापाका पूजन उपरकोटीले विपक्षीको डि–बक्सनजिकैबाट गरेको आकर्षक प्रहार पनि गोल पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । एपिएफले खेलको सुरुदेखि नै झापालाई दबाबमा राखेपनि नतिजा आफ्नो पक्षमा पार्न भने सकेन ।
    झापा–११ का टिम म्यानेजर गोपाल राईले विभागीय टोली एफिएफ निकै ‘पावरफुल’ भएपनि नतिजा आफ्नो पक्षमा आउनु सुखद् भएको बताए । ‘हाम्रा खेलाडीको सर्ट पास निकै राम्रो भएकाले त्यसैले सफलता दिलाएको हो,’ उनले भने, ‘तर, हामी जुन रणनीतिले आजको खेलमा प्रवेश गरेका थियौं, त्यो चाहिँ सोचेजस्तो भएन ।’ उनले एफिएफले आफ्नो टिमलाई खेलभर निकै चुनौती दिएको र त्यसको डिफेन्स गर्न टिमलाई निकै दबाब परेको बताए ।
    राईले त्रिभुवन आर्मीसँग शनिबार हुने फाइनलमा नयाँ रणनीति र टिमका केही खेलाडी परिवर्तनसाथ आउने बताए । ‘डिफेन्समा हाम्रो केही सुधार गरेर नयाँ योजनासाथ आर्मीसँग फाइनलमा आउने छौं,’ उनले भने, ‘ फाइनल जित्ने लक्ष्यसाथ मैदान उत्रिने छौं ।’
    झापालाई अन्तिम मिनेटमा विजयी गराएर ‘हिरो’ बनेका गोलकर्ता पूर्वराष्ट्रिय खेलाडी विशाल राईले नै बिहीबारको ‘म्यान अफ् दि म्याच’ भएर ७ हजार नगद हात पारे । बिहीबारको खेलमा आफ्नो टिमको समर्थनमा रहेका हजारौं दर्शकको ओठमा मुस्कान दिन सकेको उनको प्रतिक्रिया छ । ‘सोच्दै नसोचेको समयमा आफ्नोतर्फबाट गोल हुँदा कम खुसी छैन,’ उनले नागरिकसँग भने, ‘आफ्नो पक्षमा आएको फ्रिकिक सदुयोग गर्न सक्दा टिमले त जितेको छ नै, झिनो आशालाई विजयमा बदल्न सक्दा टिममा सबैभन्दा खुसी मै भएको छु ।’
    राईले पूर्वार्धमा विपक्षीसँगको भिडन्त निकै चुनौतीपूर्ण भएपनि उत्तरार्धमा अलि सहज अनुभव गरेको बताए । ‘फस्र्ट हाफमा विपक्षीको सामना गर्न निकै हम्मे परेको थियो,’ उनले सनाए, ‘सेकेन्ड हाफमा हामी शक्तिशाली भएर भिड्यौं । त्यसैले सफलता दिलाएको हो ।’
    बिहीबारको खेलमा मिडफिल्ड सन्तोषजनक बनाउन नसकेको झापाले राष्ट्रिय टिमका कर्ण लिम्बूको कप्तानीमा रजिन धिमाल, पूर्वराष्ट्रिय खेलाडी देवेन्द्र तामाङ, विशाल राई (ए), अन्डर–१९ का रेजिन सुब्बासहित पूजन उपरकोटी, रञ्जित श्रेष्ठ, बुद्ध चेम्जोङलगायतलाई मैदान उतारेको थियो ।
    एपिएफका प्रशिक्षक कुमार थापाले खेलअवधिभर आफ्ना खेलाडीले राम्रो खेलेपनि अन्तिममा विपक्षीको फ्रिकिक होल्ड गर्न नसक्दा पराजय बेहोर्नुपरेको बताए । ‘निर्धारित र थपिएको समयसम्म पनि हाम्रा खेलाडीले राम्रै खेलेका हुन् तर अन्तिममा फ्रिकिक होल्ड गर्न नसक्दा विपक्षीको प्रहारले हामीलाई पछि पा¥यो ।’ नवीन लामा, युवराज खड्का, रामकुमार कुमालजस्ता खेलाडीले निकै राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसकेको उनले बताए । ‘तर, टिमले फाइटिङ स्पिट जुन देखाएको त्यसमा सन्तुष्ट छु,’ उनले सुनाए, ‘विपक्षीले बढी रेन्डम्ली खेल्यो त्यसको तुलनामा हाम्रा खेलाडीले कला प्रदर्शन गरेका थिए ।’
    एपिएफले मिलन राईको कप्तानीमा राष्ट्रिय टिमका राजेन्द्र रावलसहित पूर्वराष्ट्रिय खेलाडी नवीन लामा, अन्डर–१९ का शिवराम गिरी, राजु नगरकोटी, सुरज गुरुङ, रमेश दंगाल, सन्तोष श्रेष्ठ, महेश लामा, युवराज खड्का, रूपबहादुर लामालगायतलाई मैदान उतारेको थियो ।
    यो सिजनको काँकडभिट्टा गोल्डकपमा झापा–११ ले एपिएफलाई फाइनलमा ३–० गोलअन्तरले पराजित गरेको थियो । झापाकै सुरुङ्गा गोल्डकपमा एपिएफले झापालाई टाइब्रेकरमा पराजित गरेको थियो । विजयी भएसँगै झापा–११ को भेट त्रिभुवन आर्मीसँग पक्का भएको छ । शनिबारको फाइनल विजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछ ।      


 


तस्बिर ः भीम÷नागरिक

प्रकाशित: २४ चैत्र २०७३ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App