नयाँ दिल्ली– सम्पूर्ण विश्वले हेर्ने गरेको भारतमा लोकप्रिय ट्वान्टी–२० स्वरूपको इन्डियन प्रिमियर लिग (आइपिएल) विवाद र सफलता मिश्रित एक दशक पूरा गरेर बुधबारबाट १०औं संस्करणमा प्रवेश गर्दै छ ।
चियरलिडर्सको आकर्षक उपस्थिति, महँगो रकममा खेलाडी अनुबन्धन, भव्य आयोजना तथा ठूलो संख्याका दर्शकको चासो बोकेको लोकप्रिय लिगको १०औं संस्करण बुधबार साबिक विजेता सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङलोरलाई निम्त्याएसँगै सुरु हुनेछ ।
२००८ मा पहिलो पटक भएको छोटो स्वरूपको खेलले क्रिकेटको अत्यन्तै लोकप्रियता रहेको उपमहाद्वीपमा टेस्ट र एकदिवसीय खेललाई पछि पार्दै हरेक खेलमा रंगशाला भरिने दर्शक, दशौं करोड टेलिभिजन दर्शक तथा ठूलठूला प्रायोजकलाई आकर्षित गर्न भ्याइसकेको छ ।
‘हरेक खेलमा सबै रंगशाला दर्शकले खचाखच हुने गरेका छन् । साथमा यो प्रतियोगिता विश्वभर टेलिभिजनको माध्यमबाट हेरिन्छ,’ आइपिएलका अध्यक्ष राजीव शुक्लाले एएफपीलाई भने, ‘विश्वव्यापी रूपमा आइपिएलले हासिल गरेको लोकप्रियताबाट हामी उत्साहित छौं । यो प्रतियोगिताले क्रिकेटको लोकप्रियतालाई नयाँ उचाइ प्रदान गरेको छ ।’
भ्रष्टाचार र खेलमिलोमतो आरोपका कारण निम्तिएका थुपै्र विवादले समयसमयमा मैदानभित्रको प्रतिस्पर्धाभन्दा पनि बढी चर्चा पाउने गरेका छन् ।
पहिलो संस्करणका आठमध्ये तीन टिम र अरू दुई टिमको स्वामित्व नयाँ मालिकले लिएका छन् । तीमध्ये केही प्रतिबन्धित भएका थिए भने केही विलय भएका थिए ।
चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स स्पट फिक्सिङ विवादका कारण २०१५ मा दुई सिजनका लागि प्रतिबन्धमा परेका थिए । यसै गरी हैदराबादको पहिलो फ्रेन्चाइज टोली डेक्कन चार्जर्सलाई सम्झौता पालना नगरेका कारण खारेज गरिएको थियो । लिगका संस्थापक ललित मोदी भारतमा भ्रष्टाचारको मुद्दा सामना गर्न अस्वीकार गर्दै बेलायतमा बसिरहेका छन् ।
शुक्लाले विगतका सबै विवाद स्मरण गर्दै यसपालिको १०औं संस्करण पूर्ण रूपमा सफल पार्नका लागि सबै पक्षमा सन्तुलन मिलाएको बताएका छन् । सम्भावित गलत क्रियाकलाप रोक्नका लागि संयन्त्र तयार गरेको उनको भनाइ छ ।
‘आइपिएल दौरान वा यससँग सम्बन्धित कुनै गलत काम भएमा तत्काल हुनेसम्मको कडा कारबाही गरिनेछ । भ्रष्टाचार कुनै पनि मूल्यमा स्विकार्य हुने छैन,’ उनले भने, ‘यो संस्करणले सफलताको नयाँ उचाइ हासिल गर्नेमा म विश्वस्त छु । हामीले यसको भव्यता र सफलताका लागि कुनै पनि पक्षमा सम्झौता नगर्ने नीति लिएका छौं ।’
मैदानबाहिरका थुप्रै समस्याका बावजुद आइपिएल प्रतिभावान् विदेशी खेलाडी आकर्षित गर्न सधैं सफल रहँदै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेटका सबैजसो स्टारहरू भारतमा स्थानीयझै स्थापित भइसकेका छन् । आइपिएलमार्फत विश्वभरका स्टारहरूले करियरमा नयाँ उचाइ खोजिरहेका छन् ।
इङ्ल्यान्डका तीव्र गतिका बलर टाइमल माइल्सले हालै बेङलोरसँग १८ लाख डलरको सम्झौता गरेका छन् । जबकि उनले देशका लागि चार पटक मात्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । राइजिङ पुनेसँग २० लाख डलरभन्दा बढीको सम्झौता गरेका इङ्ल्यान्डकै बेन स्टोक्सले आफ्नो देशमा अझैसम्म छोटो स्वरूपको क्रिकेटमा फ्रेन्चाइज टोली नभएकाले आइपिएल आफूहरूका लागि ठूलो अवसर भएको बताए ।
‘एक्सपोजर पाउनुका साथै ट्वान्टी–२० स्वरूपलाई नयाँ उचाइ दिनु यहाँ आउनुको मुख्य कारण हो । इङ्ल्यान्डमा यस्तो प्रतियोगिता नहुँदा भारतको माहोलमा स्थानीय टिमबाट क्रिकेट खेल्नु सबै क्रिकेटरका लागि ठूलो अवसर हो,’ उनले भने ।
पुनेको टोलीमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई स्थानान्तरण गर्दै कप्तानी सम्हाल्ने तयारीमा रहेका अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले आइपिएल खेलेर अन्तर्राष्ट्रिय खेलाडीहरू धेरै लाभान्वित भइरहेको प्रतिक्रिया दिए । ‘विश्वका विभिन्न क्षेत्रका मानिसको सोच र खेल्ने शैली यो प्रतियोगितामा अनुभव गर्न पाइन्छ । यहाँबाट खेलका थुप्रै पक्षबारे सिक्ने अवसर पाइन्छ,’ स्मिथले भने ।
तर विज्ञहरूका अनुसार आइपिएलको सफलतापछाडि यहाँ भएको ठूलो धनराशि मुख्य कारक हो । ‘पैसा नै चुम्बक हो,’ इइसपिएन क्रिकइन्फोका वरिष्ठ सम्पादक शारदा उग्रले एएफपीलाई भने, ‘मेरो विचारमा आइपिएल सधैं सफलताको बाटोमा अघि बढिरहन्छ । किनकि बिसिसिआई (भारतीय क्रिकेट बोर्ड) सँग धेरै प्रभावशाली मानिसहरू प्रत्यक्ष रूपमा जोडिएका छन् । भारतको व्यापारिक समुदाय पनि यो प्रतियोगितासँग जोडिएको छ । सबै सरोकारवाला आइपिएल सफल भइरहेको हेर्न चाहन्छन् ।’
ठूला देशका ठूला नामसँगै अन्य देशका उदीयमान खेलाडी पनि आइपिएलको आकर्षणमा पर्न थालेका छन् । सनराइजर्सले अफगानिस्तानका लेग स्पिनर रसिद खानलाई ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । जुन टेस्ट नखेल्ने आइसिसीको एसोसिएट सदस्य राष्ट्रको कुनै पनि खेलाडीले पाएको सबभन्दा ठूलो रकम हो । खान र उनका टिम सहयात्री मोहम्मद नाबी आइपिएल खेल्ने पहिलो अफगानी खेलाडी बन्नेछन् । एसोसिएट राष्ट्रका खेलाडीलाई पनि समेटेर आइपिएलले आफ्नो दायरा विश्वव्यापी रूपमा अझै फराकिलो पारेको छ ।
प्रतियोगिताको पहिलो साता रन मसिनको उपनाम पाएका रोयल च्यालेन्जर्स बेङलोरका कप्तान विराट कोहली अनुपस्थित हुँदा उनका आक्रामक टिम सहयात्री क्रिस गेल र सनराइजर्सका डेविड वार्नरबाट उच्च ब्याटिङ फर्म अपेक्षा गरिएको छ ।
बुधबार हैदराबादमा सुरु हुने प्रतियोगिताको फाइनल मे २१ मा हैदराबादमै हुनेछ ।
प्रकाशित: २३ चैत्र २०७३ ०६:१९ बुधबार