१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

पूर्णता पाएन भौतिक पूर्वाधारले

मोरङ-पूर्वाञ्चलमा पहिलो पटक भएको खेलकुदको महाकुम्भ सातौं राष्ट्रिय खेलकुदसँगै मोरङले पाएको भौतिक संरचनाले पूर्णता पाएको छैन।

सबै खेल एकै थलोभित्र खेलाउन मिल्ने अन्तर्राष्ट्रिय स्तरको खेलमैदान बनाउन भनेर झापाबैजनाथपुर (हाल विराटनगर–१९) मा १५ बिघा जमिन डेढ दशकअघि खरिद गरिएको थियो। त्यसपछि कुनै भौतिक संरचना नबन्दा सो जग्गा गौचरनमा परिणत भयो । डेढ दशकपछि क्रिकेट, सफ्ट टेनिस र सुटिङ खेलका लागि भौतिक संरचना बनाए पनि ती संरचनाले पूर्णता पाउन सकेका छैनन् । सातौं राष्ट्रि«य खेलकुदका अवसरमा बैजनाथपुर खेलमैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर खेलकुदका पदाधिकारीहरूले बताए पनि व्यवहारमा लागू हुन सकेको छैन।

सातौं राष्ट्रिय खेलकुद आयोजना गर्न सफ्ट टेनिस कोर्ट, क्रिकेट मैदान र सुटिङ रेन्जका संरचना मात्र तयार पारिए । त्यसमा  जबरजस्ती खेल आयोजना गरिए । सफ्ट टेनिस कोर्ट निर्माण भए पनि त्यस कोर्टमा खेल्ने खेलाडी छैनन् । खेलाडीका लागि चेन्जिङ रुम, शौचालयजस्ता अत्यावश्यक संरचना नहुँदा खेलाडीले खेल्न जाने वातावरण छैन । विराटनगर र आसपासका केही टेनिस खेलाडीले धेरै अघि विराटनगरको सहिद रंगशालाभित्र निर्माण गरेको कोर्ट नै प्रयोग गर्दै आएका छन् । बैजनाथपुरको कोर्ट अन्तर्राष्ट्रिय स्तरको बने पनि बजारभन्दा टाढा भएको भन्दै प्रशिक्षकले सहिद रंगशालाको सानो कोर्टमै नियमित प्रशिक्षण गराउँदै आएका छन् ।

 प्रशिक्षक राजेश बोहोराले भने, ‘बैजनाथपुरको कोर्ट राम्रो छ । तर, टाढा भएकाले नियमित प्रशिक्षण गराउन गाह्रो छ । शनिबार र छुट्टीका दिन बैजनाथपुर जान्छौं । जान आउन सवारीसाधनको समस्याले गर्दा दैनिक जान सकिँदैन ।’ बोहोराले अगाडि थपे, ‘त्यस क्षेत्रका स्कुलसँग कुराकानी भएको छ, बैशाखबाट एक समय त्यहीं प्रशिक्षण गर्ने वातावरण मिलाएको छु । हामीलाई भनेर छुट्टै शौचालय र चेन्जिङ रुम छैन । क्रिकेटको प्याराफिटमुनि भएको शौचायल नै दुवै कामका लागि प्रयोग गर्छाैं ।’ 

सातौं राष्ट्रिय खेलकुदकै लागि भनेर राष्ट्रिय खेलकुद परिषद्ले बैजनाथपुरमै अन्तर्राष्ट्रिय स्तरको सुटिङ रेन्ज भवन निर्माण गरे पनि अहिलेसम्म त्यसले पूर्णता पाएको छैन । सुटिङ भवन समयमा सम्पन्न नहु“दा सातांै राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङका इभेन्ट अन्तर्राष्ट्रिय मान्यताविपरीत त्रिपालमुनि खेलाइएको थियो। खेल सकिएको दिन पुस १४ गते त्रिपाल हटाइयो । त्यसपछि विभिन्न समस्या देखाउँदै भवन निर्माण त्यत्तिकै अलपत्र रह्यो । परिषद्ले ५८ लाखको लागतमा सुटिङ रेन्ज निर्माण थालेको थियो । भवनमा बाहिर प्लास्टर, छानो, सुटिङका लागि आवश्यक बिजुलीका संरचना अभैm बन्न सकेका छैनन् । सुटिङ खेलको भवन निर्माण गर्न सबै बजेट दिइसकेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए । सातौं खेलकुदका लागि पूर्वाधार बनाउने बजेट नभए पनि अरू शीर्षकबाट मिलाएर बजेटको व्यवस्था गरेको उनको भनाइ थियो । उनले थपे, ‘परिषद्ले त्यहाँ छिटो र राम्रो भवन बन्छ भनेर उपभोक्ता समितिमार्पmत काम गरेको हो  । किन हो समितिले काम ढिला गरेको मैले पनि बुझ्नै पर्छ ।’

सुटिङ भवन ०७२ वैशाखबाट निर्माण थाले पनि २ वर्ष बित्न लाग्दा समेत पूर्ण भएको छैन । बेजट अभावकै कारण निर्माण ढिला नभएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कटवालले बताए । जिल्ला वा परिषद्को कारणबाट निर्माण ढिलाइ नभएको र बजेट इस्टिमेटअनुसार उपलब्ध गराएको कटवालले बताए । उपभोक्ता समितिकै प्राविधिकका कारणबाट ढिलो भएको उनको भनाइ थियो । भवन निर्माणका लागि पहिलो चरणमा १८ लाख रुपैयाँ आएको र त्यसअनुसार काम सम्पन्न भएको थियो । सातौं खेलकुदको समयमा थप भएको ४० लाख रुपैयाँमध्ये करिब २३ लाख खर्च भइसकेको कटवालले बताए । जिल्ला खेलकुद समितिले उपभोक्ता समितिलाई काम सक्न बारम्बार ताकेता गर्दा समेत बेवास्ता गरेको कटवालको आरोप थियो  । यता, उपभोक्ता समितिका कोषाध्यक्ष कौशल आचार्यले भने १ हप्ताभित्रै काम सक्ने दाबी गरे । सातौं खेलकुदअगाडि नै तयार गर्ने भने पनि विभिन्न समस्याले गर्दा भवन तयार  पार्न नसकेको उनको भनाइ थियो ।  ‘हामीले ४८ लाख रुपैयाँमा भवन तयार पारिसक्नुपर्ने हो, अब हप्ता दिनमा काम सम्पन्न गरी भवन बुझाउँछौं’, आचार्यले बताए ।

बैजनाथपुरमै अन्तर्राष्ट्रिय स्तरको क्रिकेटमैदान बने पनि अपुरो नै छ । अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर सरकारले नै योजनामा पारेको वर्षौं भइसक्यो । त्यसका लागि बजेट पनि नछुट्याएको होइन । त्यत्तिका वर्ष मैदान तयार नपारे पनि परिषद्ले सातौं खेलकुदका लागि मैदान तयार गर्ने गरी बजेट छुट्याएर काम थल्यो । ‘परिषद्ले पहिलो पटक क्रिकेट मैदान तयार गर्न थोरै बजेट दिएअनुसार नै काम थालेका हौं,’ मैदान तयारी उपभोक्ता समितिका अध्यक्ष मोहमद सादबाबुले बताए । उनले भने, ‘सातौं खेलकुदको अन्तिम मिति घोषणासँगै हामीले बजेट पायौं ।  थोरै बजेटमा धेरै काम गर्दै, एक महिनाभित्रै मैदान तयार गरिसक्नुपर्ने थियो । हाम्रा टिमका साथीले दिनरात केही नभनी कडा परिश्रम गरेअनुसार अहिलेको संरचना बन्यो ।’ अझ केही बजेट पाए यसलाई नमुना मैदानको रूपमा प्रस्तुत गर्ने सादबाबुले योजना  सुनाए ।

                एसिसी एम्पायर तथा क्युरेटर शिरीष उपाध्यायले भने, ‘यतिको टफ विकेट र मैदान तयार गर्न कम्तीमा तीन महिना लाग्थ्यो, तर हामीले एक महिनामै तयार पा¥यौं । हामीले पाएको ६० लाख रुपैयाँबाट २ वटा टफ विकेट र मैदान तयार पार्नु थियो, तर हामीले ३ वटा बनायौं ।’

 क्रिकेटका प्रशिक्षक महेश रिजालले अहिले बनेको मैदान अन्तर्राष्ट्रिय स्तरको खेलका लागि तयार गर्ने आधार बनेको बताए।

प्रकाशित: २१ चैत्र २०७३ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App