१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रेलवे इन्डिया र एपिएफको जित

नेपालगन्ज- साबिक विजेता रेलवे टिम इन्डिया र उपविजेता एपिएफले चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। रेलवेले नेपाली विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६, २५–१४ ले हरायो। भारतीय राष्ट्रिय टोलीकी स्पाइकर अनुसी घोस र प्रीति सिंहले उत्कृष्ट प्रदर्शन गरेपछि रेलवेले उद्घाटन खेलमा सहजै जित हासिल गरेको हो। नेपाल पुलिस क्लब प्रतियोगिताको पूर्वविजेता टोली हो। चार वर्षअघिदेखि नेपालगन्जमा सुरु भएको प्रधानमन्त्री कप महिला भलिबलको पहिलो संस्करण पुलिसले जितेको थियो। तर त्यसपछि पुलिसले घरेलु प्रतियोगितामा उपाधि जित्न संघर्ष गरिरहेको छ।

पहिलो खेलमा हारको सामना गरेपछि पुलिसका प्रशिक्षक भरत शाहले नयाँ खेलाडी भएका कारण खेल फितलो देखिएको बताए। शाहले भने, ‘टिममा ५ नयाँ खेलाडी छन्। उनीहरू अनुभवी टिमसँग खेल्दा आत्मविश्वासी हुन सकेनन्।’

रेलवेकी प्रशिक्षक दीप्ति घोषले नेपाली खेलाडीले हरेक खेलमा राम्रो फाइट दिने गरेको बताइन्।

यसै गरी प्रतियोगिताको अर्को खेलमा  एपिएफले बर्सात एसोसिएसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ र २५–६ ले हरायो। वर्षातले पहिलो पटक नेपालको प्रतियोगिता खेलिरहेको छ। प्रतियोगिताको सुरुआतका अवसरमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले क्रिकेटर महेश क्षत्रीलाई दोसल्ला ओढाएर सम्मान गरे। नेपालगन्ज निवासी महेश चौथो प्रधानमन्त्री कप महिला भलिबलका सद्भावना दूत हुन्। प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपालीले प्रधानमन्त्री कपलाई स्थानीय स्तरसम्म पुर्‍याउनुपर्ने बताए। उनले अर्को वर्षदेखि प्रधानमन्त्री कप नेपाल सरकारको स्वामित्वमा आयोजना हुने बताए।

फागुनको १८ गतेसम्म चल्ने प्रतियोगितामा भारतीय दुई टोलीसहित नेपालका चार महिला भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको समूह 'ए' मा रेलवे टिम इन्डिया, नेपाल पुलिस, आयोजक मध्यपश्चिम, समूह 'बी' मा एपिएफ, बर्सात एसोसिएसन र त्रिभुवन आर्मी क्लब रहेका छन्।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार र तेस्रोले ३५ हजार रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए।

प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल रेलवे र आयोजक मध्यपश्चिम भलिबल टिमले खेल्नेछन्। अर्को खेलमा बर्षात एसोसिएसन र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

गत वर्ष भाग लिएका न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल टिमले प्रतियोगितामा भाग लिएका छैनन्।

प्रकाशित: १५ फाल्गुन २०७३ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App