९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

बुधबारदेखि पोखरा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता

प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिदैं मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनका पदाधिकारीहरु। तस्बिर: धन बस्नेत

आगामी बुधबारदेखि पोखरामा १२ वर्षमुनिदेखि ५५ वर्ष उमेर समूहको व्याडमिन्टन प्रतियोगिता शुरु हुँदै छ। पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंशगालास्थित व्याडमिन्टन हलमा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोतिगता शुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगितामा विभिन्न ९ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए। उनका अनुसार राष्ट्रिय विद्यालयस्तरीय लोअर सेकेण्डरी लेभल छात्र तथा छात्रा -कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेको हुनुपर्ने)मा प्रतिस्पर्धा गराइने छ।

त्यसैगरी माध्यमिक तह(सेकेण्डरी लेभल) राष्ट्रियस्तरको छात्र तथा छात्रा इभेण्टमा प्रतिस्पर्धा गराईने छ। सेकेण्डरी लेभलमा विद्यार्थीहरुको उमेर हद १७ वर्ष ननाघेको हुनुपर्ने प्रावधान फाउण्डेशनले तय गरेको छ। ‘व्याडमिन्टन खेलको विकाससँगै नयाँ प्रतिभावान खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वाससहित दोस्रो पटक विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता आयोजना गरेका हौं।’ फाउण्डेशनका अध्यक्ष भूगोल गुरुङले भने।

विद्यालस्तरीयसँगै पोखरा महानगर वडास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितालाई समेत समावेश गरिएको महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले जानकारी दिए।

महिला डबल्स, ३५ वर्षमाथिको उमेर समूहको समेत राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराईने फाउण्डेशनले जनाएको छ। ४५ वर्षमाथिको र ५५ वर्षमाथिको खुल्ला राष्ट्रिय प्रतियोगितालाई समेत इभेण्टको रुपमा समेटिएको छ। प्रतियोगिता आगामी बैशाख ३० गतेसम्म पोखरा रंगशाला व्याडमिन्टन हलमा सञ्चालन हुने छ। ३५, ४५  र ५५ वर्षमाथिको उमेर समूहको भने डबल्स इभेण्टमा मात्रै प्रतिस्पर्धा हुने छ।

लोअर सेकेण्डरी लेभलको विजेता विद्यार्थीलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने फाउण्डेशनले जनाएको छ। त्यसैगरी सेकेण्डरी लेभल छात्र तथा छात्रा विजेताले नगद ३०, २०र १० हजार नगद प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीले माउण्टेन बाईक(साईकल) प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यस्तै ३५, ४५ र ५५ वर्षमाथिको उमेर समूहको डबल्स इभेण्टको विजेताले पनि क्रमश ३०, २० र १० हजार नगद प्राप्त गर्ने छन्।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशन रहेको छ। त्यस्तै पोखरा महानगर खेलकुद विकास समितिले प्रतियोगितामा सहकार्य गरेको छ। फाउण्डेशनले उजुरी परेको अवस्थामा विद्यालयलाई कारवाही गरिने समेत जनाएको छ। प्रतियोगितामा एसईई दिइएको विद्यार्थीलाई समावेश नगराईने समेत फाउण्डेशनले उल्लेख गरेको छ। खेलाडीहरुको उमेर खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ।  

प्रकाशित: २४ वैशाख २०८० १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App