१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भारतीय जोडी सेमिफाइनलमा

काठमाडौं- भारतीय जोडी आदित्य लेयर र पीयूष एस सालिकरले नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगिताअन्तर्गत पुरुष डबल्सको सेमिफाइनलमा जापानका रियो लिजुमी र चीनका गुवाङलिन विनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन्। अर्को सेमिफाइनलमा बिहीबार भारतका गुञ्जन जाधव र अथर्व शर्माले चीनका पेनगुयु लु र गुआङसेन विनसँग खेल्नेछन्।

बुधबार सातदोबाटोस्थित टेनिस कोर्टमा रियो र गुवाङलिनले अमेरिकी अर्जुन मारियाप्पा र थाइल्यान्डका मिचेल माथायोमचन्दमाथि कठिन जित हासिल गरेका थिए। रियो र गुवाङलिनले ६–४, ७–६(६)(११–९)ले सफलता हासिल गरेका थिए।

आदित्य र पीयूषले आफ्नै देशका कबिर मानराई र तीर्थ एस मार्चलालाई सोझो सेटमा ६–४, ६–४ ले हराए।

अर्को खेलमा भारतका गुञ्जन र अथर्वले पोल्यान्डका मिचेल वजनिक र केएली स्टोकरलाई ६–४, ६–४ ले पराजित गरे।

चिनियाँ जोडी पेनगुयु र गुआङसेनले भारतका अर्णव पाथाङजी र आर्यन पाथाङजीलाई ६–३, ७–६(५)ले हराउँदै अन्तिम चारमा स्थान बनाए।

महिला डबल्सको सेमिफाइनलमा भारतीय जोडी वैदेही चौधरी र शिवानी स्वरूप एन्जिलले चीनकी जोङगु ली र जिङ याङसँग प्रतिस्पर्धा गर्नेछन्। यसै गरी सेमिफाइनलमा थाइल्यान्डकी पुनिन कोभापिटुपटेड र जापानकी मियो कोजाकीको जोडीले चीनकी युजियो ची र जिङ्गी वाङसँग खेल्ने भएका छन्।

वैदेही र शिवानी आफ्नै देशका अनिका काननान र जाह्नवी पटेललाई ६–२, ६–२ ले हराउँदै अन्तिम चारमा पुगे। जोङ्गु र जिङले चीनकी चुन्छी गुओ र भारतकी मिसाहा सुदलाई ६–३, ६–१ ले हराए।

पुनिन र मियो कोजाकीको जोडीले भारतकी गौरी भागिया र माल्भिका शुक्लालाई ६–४, ६–२(१०–८)ले हराउन सफल भए। अन्तिम क्वार्टरफाइनलमा युजिओ र जिङ्गीले भारतकी रिचा दादासाहेब चौगुली र किरन कलकलविरुद्ध ६–१ र ६–२ ले जित हासिल गरे।

यसै गरी पुरुष सिंगल्सतर्फको खेलमा भारतीय खेलाडी पीयूष सुरेन्द्र सालेकार, तीर्थ शशांक, कबिर मानराई, अथर्व शर्मा, आर्यन जाभिरी र मृत्युञ्जय बाडोलाले क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

पोल्यान्डका मिचेल वाजनियकले भारतका जैसविन सिदनालाई पहिलो सेटमा ३–१ ले हराएका थिए। तर दोस्रो सेटमा भारतीय जैसविन रिटायर्डहर्ट भए। चीनका पेन्जु लुले भारतका आदित्य लियरलाई ६–२, ७–५ ले हराउँदै अन्तिम आठमा प्रवेश गरे।

पीयूषले नेपाली खेलाडी संरक्षक वज्राचार्यलाई ६–४, ६–४ ले हराए। तीर्थले चीनका गुवाङलिन विनलाई ६–१, ७–६(६)ले, कबिरले आफ्नै देशका अचिन्त भगतलाई सहजै ६–१, ६–१ ले पराजित गरे।  अथर्वले भारतकै भान्स भगतिनीलाई ६–४,  ६–४ ले, आर्यनले पनि भारतकै दिपिन वाधवालाई ६–३, ६–३ ले हराए। मृत्युञ्जयले पनि सहज जित निकाल्ने क्रममा भारतीय सहकर्मी  इसान सेटीलाई ६–१, ६–० ले निराश बनाए।

प्रकाशित: ५ फाल्गुन २०७३ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App