बारा- हिमालयन शेर्पा क्लबलाई २–१ को नतिजामा हराउँदै नेपाली सेनाको त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिबार हुने फाइनलमा आर्मीले सिएमजी संकटा क्लबसँग खेल्नेछ। संकटाले अघिल्लो दिन साबिक विजेता विजय युथ क्लबमाथि जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
पदम तामाङको प्रहार पोस्टमा लागेर फर्किने क्रममा हिमालयन शेर्पाका मानबहादुर गुरुङको छातीमा लागेर गोल भएपछि मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा आर्मीले अग्रता लिएको थियो।
खेलमा एकतर्फी नियन्त्रण राखेको आर्मीले यसअघि गोलका थुप्रै अवसर खेर फालेको थियो। भरत खवास र नवयुग श्रेष्ठका प्रयास खेर जाँदा आर्मी अग्रताका लागि ४२ मिनेट सम्म पर्खनु परेको थियो। त्यसपछि पनि आर्मीले थुप्रै मौकालाई गोलमा परिणत गर्न सकेन। पहिलो हाफको अन्तिम मिनेटमा नवयुगको पासमा भरत गोल गर्नबाट चुके। लगत्तै पहिलो हाफकै इन्जुरी समयमा हेमन गुरुङले पेनाल्टी बक्स वाहिरबाट गोल गरेर हिमालयन शेर्पालाई खेलमा फर्काए।
तर टंक बश्नेतले ५७औं मिनेटमा गोल गरेपछि आर्मी फाइनलको लायक बन्यो। विपक्षी रक्षकले राम्ररी क्लियर गर्न नसकेको बललाई टंकले गोलमा परिणत गरेका थिए।
भरतले ६९औं मिनेटमा प्रहार गरेको बल पोस्टमा लागेर फर्किँदा आर्मी अग्रता थप फराकिलो पार्ने मौकाबाट चुकेको थियो।
हिमालयन शेर्पाका प्रशिक्षक विकाश मानन्धरले आर्मीविरुद्ध अपेक्षित खेल पस्कन नसकेको बताए। विभागिट टिमविरुद्ध आफ्ना खेलाडीको फिटनेसमा समस्या देखिएको उनको भनाई थियो।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले फिनिसिङमा कमजोरी हुँदा जित कठिन बनेको प्रतिक्रिया दिए। प्रदर्शन राम्रो भए पनि गोल गर्न चुक्नु समस्या रहेको उनको भनाई थियो।
पराजित हिमालयन शेर्पाका गोलकिपर किशोर गिरी म्यान अफ दी म्याच भए। उनले पाँच हजार रुपैयाँ पुरुस्कार पाए।
प्रकाशित: २८ माघ २०७३ ०४:२७ शुक्रबार