काठमाडौं- नेपाली क्रिकेटले पुस २३ गते राजधानीस्थित याक एन्ड यती होटलबाट फड्को मार्ने प्रयास गर्यो। त्यो दिन नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थपिएको थियो। 'घाम पनि अस्ताउनमात्र आइपुग्छ सुदूर पश्चिममा,' पश्चिमका खेल अभियन्ताहरू भन्ने गर्छन्। त्यही सुदूर पश्चिमको सहर धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगका लागि शनिबार सहभागी ६ टोलीले अक्सन (बोलकबोल)बाट खेलाडी लिए। खेलाडी किन्न फ्रेन्चाइजी क्लबले डाक बढाबढ गरे। ४ खेलाडीलाई १/१ लाख मूल्य तिरे। युवा खेलाडी लिन क्लबबीच हानाथाप भयो। खेलाडी लिन लिलाम बढाबढ मात्र पर्याप्त भएन। सबैले अत्यधिक मोल लगाएपछि कतिपय खेलाडीको गन्तव्य गोलाबाट तय गर्नुपर्यो। उदीयमान खेलाडीको अक्सनमा पनि यस्तै स्थिति रह्यो। अक्सनको सफलताले निजी क्षेत्रको पहलमा नेपाली क्रिकेटले ठीक बाटो समातेको सकारात्मक संकेत गरेको लख काटिन थालियो।
नेपाली क्रिकेट इतिहासमा यो अक्सन पहिलो हो वा होइन खेलकर्मीमाझ बहस जारी छ। केहीले धनगढी क्रिकेट लिगलाई पहिलो मानेका छन् केहीले धनगढी प्रिमियर लिगलाई। राष्ट्रिय स्तरमा भने यो नै पहिलो अक्सन हो। क्रिकेटमा व्यावसायिकता भिœयाउन अक्सनले सुनौलो अध्याय थपेकोमा कुनै शंका छैन। तर, यसका साथै अक्सनले नेपाली क्रिकेटको साह्रै दयनीय पाटो पनि उदांग पारेको छ। ट्वान्टी–२० स्वरुपमा नेपालले विश्वकपसम्म गन्तव्य भेट्टाइसकेको छ, यो यथार्थ हो। अन्तर्राष्ट्रिय स्तरमा एक दिवसीय मान्यता पाउन कल्पिनु नेपाली क्रिकेटको अर्को वास्तविकता हो। सँगै अक्सनका लागि खुला आह्वान गरिँदा विदेशमा रहेकासहित २ सय १७ खेलाडीमात्र उपलब्ध भए। महत्वाकांक्षी यात्रा लक्ष्यमा अघि बढ्दा अक्सनमा उपलब्ध खेलाडी संख्याले नेपाली क्रिकेटलाई यथार्थताको धरातलमा पछारिदिएको आइसिसी एसोसिएट तथा एफिलिएट प्यानलका अम्पायर तथा अक्सनर दुर्गानाथ सुवेदीले बताए। आयोजकले खेलाडीलाई चार वर्गमा विभाजन गरी बोलकबोलका लागि न्यूनतम (आधार) मूल्य तोकेको थियो।
'नेपाली क्रिकेटको यथार्थ त्यही हो। विश्वकपसम्म यात्रा गरिसकेको देशमा अक्सन हुँदा कम्तीमा हजार खेलाडी उपलब्ध हुनुपर्थ्यो,' सुवेदीले अक्सनमा २ सय १७ खेलाडीमात्र भएकोबारे भने, 'सधैंको विवाद, भ्रष्टाचार, सरकारी हस्तक्षेप, चरम राजनीतिकरण र प्रशासनमा व्यक्तिगत स्वार्थ नेपाली क्रिकेटका मुख्य रोग हुन्। यिनको सही उपचार नभएसम्म नेपाली क्रिकेट अघि बढ्ने विश्वास गर्न सकिन्न। घरेलु क्रिकेटको संरचना हुँदै नभएको अवस्थामा खेलाडीको यति नै संख्यामा पनि खुसी हुनुपर्ने अवस्था छ। अक्सनमा दर्ता भएबाहेक पनि हामीसँग खेलाडी छन्, प्रतिभाको कमी छैन। डिपिएलको स्वरुप, दर्ता प्रक्रिया र क्लबले नकिन्ने हुन् कि भन्ने आशंकामा धेरैले दर्ता गराएनन्।'
नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)को विवादले घरेलु संरचना र खेलाडी उत्पादन प्रक्रिया प्रभावित भएको राष्ट्रिय टोलीका कप्तान पारस खड्काको तर्क छ।
'क्रिकेट हेर्ने निकाय क्यान कहिल्यै पनि क्रिकेटको गुणात्मक विकासप्रति गम्भीर भएन। २० वर्षअघि नेपाली क्रिकेट जस्तो अवस्थामा थियो, अहिले पनि त्यस्तै छ। बरु अझै खस्किएको होला,' पारसले भने, 'तैपनि नयाँ खेलाडी आउँदै नआएका भने होइनन्। ३ वर्षअघि २०/३० जनाबाट राष्ट्रिय टोली छनोट गर्नु पर्थ्यो भने अहिले ५०/६० जना उपलब्ध छन्। तर, जबसम्म राम्रो घरेलु संचरना बन्दैन र नियमित खेल हुँदैन तबसम्म धेरै खेलाडी उत्पादन गर्न सकिँदैन।’
सीमित खेलाडी र प्रशिक्षकको मेहनतका भरमा मात्र विश्वकपमा खेल्न र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हाल कायम रहन सम्भव भएको उनको भनाइ थियो। 'घरेलु संरचना नहँुदा धेरै खेलाडी उत्पादन हुन सकेका छैनन्। तर जिम्मेवार निकाय क्यानले कहिल्यै यससम्बन्धी ठोस योजना बनाएन, विवादमै रूमल्लिएर बस्यो। सरकारी हस्तक्षेप, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बन हाम्रो यथार्थ हो,' पारसले थपे, 'अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी छान्न वर्षमा एक पटक जेनतेन प्रतियोगिता हुने देशमा निजी क्षेत्रले गर्ने यस्ता प्रतियोगिता र व्यावसायिक प्रयासले धेरै आस जगाएको छ। तर, निजी क्षेत्रले गर्ने ट्वान्टी–२० स्वरूपको खेलमात्र पर्याप्त हुँदैन, अन्य स्वरुपमा पनि नियमित खेल हुनु आवश्यक छ।'
खेलाडी एकाएक उत्पादन नहुने यथार्थ सुनाउँदै पारसले तल्लोतहदेखि प्रतियोगिता गरिए खेलाडी उत्पादन हुने बताए। ‘क्यानमा सधैं पदका लागि मात्र झगडा भयो। पदबाहेक क्रिकेट विकासमा क्यान पदाधिकारीको ध्यानै गएन,’ उनले भने, ‘अब हाम्रो झगडा विकासका लागि हुनुपर्छ। एउटा व्यक्तिले धनगढीमा यस्तो राम्रो प्रतियोगता गर्न सक्छ भने क्यानले किन सक्दैन? जिल्ला संघहरूले हरेक क्षेत्रमा यस्तो प्रतियोगिता गर्नुपर्यो। नेपालमा प्रतिभा असंख्य छन्, तर प्रदर्शन गर्ने मञ्च पाएका छैनन्। त्यसले नयाँ खेलाडी उत्पादनभन्दा पनि भएका खेलाडी नै पलायन हुने अवस्था आइसकेको छ।’
डिपिएल आयोजकले चैत पहिलो साता हुने प्रतियोगितामा सहभागी टोलीले अक्सनबाट खेलाडी लिने भन्दै मंसिर २९ मा दर्ता सुरु गरेको थियो। राष्ट्रिय टोलीका कप्तान पारस खड्काले अक्सनका लागि नाम दर्ता गराएसँगै प्रक्रिया सुरु भएको थियो। पुस १७ सम्मको समय सीमामा २ सय १७ खेलाडी मात्र दर्ता भए।
ती खेलाडीमध्ये आयोजकको बर्गीकरणमा माथिल्लो हैसियत पाउने राष्ट्रिय टोलीबाट १५ भन्दा धेरै खेल खेलेका १५ जना खेलाडी थिए भने दोस्रो श्रेणीमा १५ भन्दा थोरै खेल खेलेका तथा यू–१९ विश्वकप खेलेका ३३ जना थिए। तेस्रो श्रेणीमा कुनै पनि उमेर समूहबाट देशको प्रतिनिधित्व गरेका खेलाडी राखिँदा यस्ता ४१ जना दर्ता भए भने अहिलेसम्म राष्ट्रिय जर्सी नलगाएका १ सय २६ खेलाडी पनि अक्सनका लागि उपलब्ध भए। आयोजकले पहिलो श्रेणीको खेलाडीका लागि न्यूनतम मूल्य ५० हजार रुपैयाँ तोकेको थियो भने दोस्रो श्रेणीका लागि ४० हजार, तेस्रो श्रेणीका लागि ३० हजार र चौथोका लागि २० हजार रुपैयाँ तोकेको थियो।
'आयोजकले खेलाडीको बेस प्राइस (आधार मूल्य) तोकेको थियो। तर अक्सनले नेपाली क्रिकेटको बेस (खेलाडी संख्या) कस्तो छ, उजागर गरिदियो,' नेपालका पहिलो अक्सनर सुवेदीले बताए।
केही वर्षअघि जापानले सन् २०५० सम्म राष्ट्रिय टोली छनोटका लागि ५ लाख खेलाडीको पिरामिड तयार पारी विश्वकप फुटबल जित्ने लक्ष्य सार्वजनिक गरेको थियो। चीनले पछिल्लो समय त्यस्तै महत्वाकांक्षी योजनासहित फुटबल विकास अभियान चलाइरहेको छ। अन्तर्राष्ट्रिय जगतमा प्रचुर सम्भावना बोकेको नेपाली क्रिकेटले पनि त्यस्तै योजनाका साथ अघि बढ्नुपर्ने राष्ट्रिय टोलीका कप्तान पारसको ठम्याई छ।
'जति धेरै संख्यामा प्रतिस्पर्धा भयो स्तर पनि बढ्दै जान्छ। धेरै खेलाडी भए स्वाभाविक रुपमा प्रतिस्पर्धा धेरै हुन्छ र गुणात्मक वृद्धि हुन्छ,’ क्रिकेट खेलाडी संघ (सिप्यान)का महासचिव समेत रहेका पारसले थपे, ‘हामीले एक दिवसीय मात्र होइन, अझै ठूलो लक्ष्य लिएर अघि बढ्नु पर्छ। निश्चित योजना बनाएर अघि बढ्नु पर्छ। यसबारे हामीले धेरै अगाडिदेखि भन्दै आएका हौं। तर क्यानको अवस्थाबारे सबैलाई थाहै छ। अब धेरै ढिला भइसक्यो, छिटो भन्दा छिटो समस्या समाधान गरेर अघि बढ्न जरुरी छ।’
अक्सनका लागि नाम दर्ता गराई नेपाली क्रिकेटको खुला प्रतिस्पर्धामा होमिनेमध्ये अमेरिकामा बसोबास गर्ने राकेश कर्णदेखि अस्ट्रेलियामा बस्दै आएका शशी केशरीसम्म थिए। शशीले २००४ मा यू–१९ टोलीबाट खेलेका थिए। राष्ट्रिय टोलीबाट संन्यास लिइसकेका प्रफुल्ल वैद्यदेखि पूर्वकप्तान परेश लोहनीसम्मका खेलाडी समावेश थिए। अक्सन गराइएका २ सय १७ खेलाडीमध्ये ३० वर्ष नाघिसकेका उल्लेख्य खेलाडी थिए, यसलाई नेपाली क्रिकेटको भविष्य मान्न सकिन्न। तर, २५ वर्ष मुनिका खेलाडीको उपलब्धता धेरै थियो। सुवेदी यसलाई सुखद भविष्यको संकेत मान्छन्।
'२५ मुनिका खेलाडीको बाहुल्य रह्यो। त्यो सकारात्मक पक्ष हो,’ सुवेदीले भने, ‘धेरै वर्षदेखि उमेर समूहमा घरेलु क्रिकेट नभएकाले ६ टोलीका कप्तान तथा मालिकलाई कुन खेलाडी कस्तो हो भन्ने थाहा नै भएन। त्यसले केही राम्रा खेलाडी बिक्री भएनन्। जति खेलाडीलाई चिने, तिनलाई लिन तँछाडमछाड भयो। उमेर समूहमा नियमित गतिविधि भएको भए त्यस्तो अवस्था हुँदैनथ्यो।'
यू–१९ टोलीका प्रशिक्षक विनोद दासको अनुभव पनि सुवेदीभन्दा फरक छैन। प्रतिभाको कमी नभए पनि घरेलु क्रिकेट नहुँदा खेलाडीले प्रतिभा देखाउने अवसर नपाएको उनले बताए।
‘क्रिकेटप्रति चासो बढ्दो छ। यो हामीले यू–१९ विश्वकपका लागि खेलाडी छनोट गर्दा देखेका छौं,’ विनोदले भने, ‘हामीसँग प्रतिभा छन्। तर खेलाडीले कहाँ गएर प्रतिभा देखाउने? घरेलु क्रिकेट नभएको त कति भयो कति। निजी क्षेत्रले ट्वान्टी–२० प्रतियोगिता गरेका छन्। तर अन्य स्वरुपमा पनि प्रतियोगिता हुनु आवश्यक छ। यस्ता प्रतियोगिता निजी क्षेत्रले गर्ने सम्भावना न्यून छ। क्रिकेट विकासको जिम्मेवार निकाय क्यानले त्यस्ता प्रतियोगिता गर्नु पर्ने हो। तर हाम्रो क्यानको कुन हालत छ, त्यो सबैलाई अवगत नै छ।’
प्रकाशित: २८ पुस २०७३ ०३:२५ बिहीबार