३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दाबेदार टोलीको पुनरागमनले शीर्षताको होड रोमाञ्चक

दाबेदार टोलीको पुनरागमनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्षताको होड रोमाञ्चक बनेको छ।  

लिगको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सुखद सुरुआत गर्न नसके पनि पछिल्ला २ खेलको नतिजाले भने आफूलाई उपाधि दाबेदारका रूपमा फर्काउन सफल भएको छ। पहिलो खेलमा जावलाखेल युथ क्लबलाई नतिजा सम्पिएको मच्छिन्द्र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। नेपाल पुलिस क्लबमाथि जित निकालेको मच्छिन्द्रले त्यसपछि भने जित निकाल्न सकेन। जुन यात्रा छैटौं चरणसम्म पनि कायम रह्यो। छैटौं चरणसम्म मच्छिन्द्र लिगको नवौं स्थानमा थियो।  

त्यसो त कप्तान सुजल श्रेष्ठ र रञ्जित श्रेष्ठ बाहिरिएपछि दबाबमा परेको मच्छिन्द्रले सातौं चरणमा आएर मुख्य प्रशिक्षकमा किशोरकुमार केसीलाई भित्र्यायो। केसीको आगमनको पहिलो खेलमा मच्छिन्द्रले संकटा क्लबमाथि जित निकाल्यो। आठौं चरणको खेलमा भने मच्छिन्द्रले एफसी खुमलटारमाथि ७–३ को रबाफिलो जित निकाल्यो। ८ खेलको समाप्तिमा मच्छिन्द्र १२ अंकसहित आठौंं स्थानमा छ। जुन शीर्ष स्थानको सातदोबाटो युथ क्लबको भन्दा ४ अंक कम हो। सातदोबाटो युथ क्लब ८ खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ। सातदोबाटोले ८ खेलमा ५ जित, १ बराबरी र २ मा हारको नतिजा ल्याएको छ। सातदोबाटोले बुधबार मनाङ मस्र्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै शीर्ष स्थानमा पुनरागमन गरेको थियो।  

लिगको कीर्तिमानी आठ पटकको विजेता मनाङले ८ खेलमा ४ जित, ४ बराबरी र १ हारको नतिजा ल्याएको छ। लिगमा एक मात्र अपराजित टोली चर्च ब्वाइजको ८ खेलमा १४ अंक छ। बिहीबार आठौं चरणको अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएसँगै चर्च ब्वाइजले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको थियो। टोली १४ अंकसहित तेस्रो स्थानमा छ।

चौथो स्थानको जावलाखेलको समान खेलमा १४ अंक छ। जावलाखेलले ८ खेलमा ४ जित, २ बराबरी र २ हारको नतिजा ल्याएको छ। पाँचौ स्थानको थ्री स्टारले पनि पछिल्लो केही खेलमा ल्याएको सुखद नतिजाले आफूलाई शीर्षताको होडमा उभ्याएको छ। थ्री स्टार शीर्ष स्थानको सातदोबाटोभन्दा मात्र २ अंकले पछि छ।  

गत दुई संस्करणको उपविजेता आर्मीले पनि सातांै चरणको बराबरी र आठौं चरणमा निकालेको जितले दाबेदार टोलीको छवि फर्काउने संकेत गरको हो। आर्मी पाँचौं चरणको समाप्तिसम्म ८ अंकसहित आठौं स्थानमा थियो। सातौं चरणमा सातदोबाटोसँग बराबरीमा रोकिएको आर्मीले आठौं चरणमा जावलाखेललाई २–० ले हराएको थियो। आर्मी ८ खेलमा १२ अंकसहित छैटौं स्थानमा छ। सातौं स्थानको संकटा क्लबको पनि समान १२ अंक छ।  

यता गत सिजन लिगको हैसियत जोगाउन संघर्षरत एपिएफ यस सिजन भने आठौं चरण समाप्तिसम्ममा सन्तुलित देखिएको छ। एपिएफ ८ खेलमा ११ अंकसहित नवौं स्थानमा छ। हिमालयन शेर्पा र एफसी खुमलटार समान ८ खेलमा क्रमश ९ र ७ अंकसहित १०औं र ११औं स्थानमा छन्। गत सिजन तेस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको एनआरटी यस सिजन आठौं चरणको समाप्तिसम्ममा निकै कमजोर देखिएको छ। ८ खेलमा मात्र १ जित निकालेको एनआरटी ६ अंकसहित १२औं स्थानमा छ। गत सिजनझैं यस वर्ष पनि रेलिगेसन जेगाउन संघर्षरत फ्रेन्ड्स ८ खेलमा १ जित,२ बराबरी र ६ हारपछि ५ अंकसहित १३औं स्थानमा छ। नेपाल पुलिस क्लब ८ खेलमा मात्र १ जितपछि ४ अंकसहित १४औं स्थानमा छ। 

प्रकाशित: १ वैशाख २०८० ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App