विभागीय टोली त्रिभुवन आर्मी क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा पुगेको छ।
विराटनगरमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै उपाधि नजिक पुगेको हो।
आर्मीले उपाधिका लागि आइतबार राति हुने नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबिचको खेलका विजेतासँग सोमबार राति खेल्ने छ। सोमबारै तेस्रो स्थानको खेल हुनेछ।
आर्मीको जितका लागि रोमन रानाले ४, काशीराज राईले ३, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले समान १–१ गोल गरे। खेलको म्यान अफ द म्याच आर्मीका रंजित राउत भए।
प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
प्रकाशित: २६ चैत्र २०७९ १२:३३ आइतबार