२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मध्यमाञ्चल र पुलिस सेमिफाइनलमा

विराटनगर- हरिशंकर शाहको अलराउन्ड प्रदर्शनमा मध्यमाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार नेपाल पुलिस क्लबलाई ९ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पुलिस क्लबमाथि ९ रनको जित दिलाउन मध्यमाञ्चलका हरिशंकरले २२ रन योगदान गरे भने २ विकेट पनि आफ्नो नाममा लेखाएका थिए।

टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो। १ सय २१ रनको लक्ष्य पछ्याएको पुलिस क्लब २ बलअघि १ सय ११ रन बनाउँदा अलआउट भएको थियो।

जितपछि मध्यमाञ्चलले रनरेटका आधारमा समूह ‘बि’बाट उपविजेता बन्दै अन्तिम ४ मा स्थान पक्का गरेको हो। मध्यमाञ्चलमाथि सेमिफाइनल पुग्न खेल जित्नैपर्ने दबाब थियो। खेल हारे पनि पुलिस क्लब समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। समान ४/४ अंक भए पनि पश्चिमाञ्चल रनरेटमा  पछाडि परेपछि प्रतियोगिताबाट बाहिरिएको छ।

मध्यमाञ्चलले अब फाइनलमा पुग्न एपिएफविरुद्ध खेल्नेछ भने नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बुधबारै समूह चरणको अन्तिम खेलमा एपिएफले आर्मीलाई पराजित गर्दै समूह विजेताको बनेर अन्तिम ४ पक्का गरेको हो। आर्मीले उपविजेताको हैसियतमा अन्तिम ४ पक्का गर्‍यो।

मध्यमाञ्चलका लागि हरिशंकरले २२ रन बनाउनु बाहेक प्रकाश विष्टले २५ रन बनाए। पुलिस क्लबका ललित भण्डारीले ३ तथा कुशल भुर्तेल र मञ्जित श्रेष्ठले २/२ विकेट लिए। पुलिस क्लबका सुनिल धमलाले ४४ र योगेन्द्र कार्कीले २० रन बनाए।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफले ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। एपिएफका प्रदीप ऐरीले ४७, करण केसीले ४६, मोहम्मद आशिफ शेखले ३९ रन बनाए भने कप्तान पारस खड्का २० रनमा अविजित रहे।

१ सय ६५ रनको लक्ष्य पछ्याएको आर्मी १७.५ ओभरमा १ सय ३७ रनमा अलआउट भयो। ओपनर सागर पुन र नरेश बुढाऐरले समान ४६/४६ रन बनाए। एपिएफका भुवन कार्कीले ३ तथा करण र वसन्त रेग्मीले २/२ विकेट लिए।

प्रकाशित: १४ पुस २०७३ ०३:४६ बिहीबार

मध्यमाञ्चल पुलिस सेमिफाइनलमा