३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

लयमा अघि बढ्दै जावलाखेल

जावलाखेलका समीराज थोकर (रातो) र सातदोबाटोका सुरज गुरुङ बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिर सौजन्य: एन्फा

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो पहिलो खेलमै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबमाथि पुनरागमन जितसहित सनसनी मच्चाएको जावलाखेल युथ क्लबले छैटौं चरणमा आफूलाई शीर्ष स्थानमा उभ्याएको छ।

सोमबारबाट लिगमा छैटौं चरणका खेल सुरु भए। जावलाखेलले छैटौं चरणमा मंगलबार एन्फा मुख्यालयमा लिगको शीर्ष क्लब सातदाबाटोलाई प्रतिद्वन्द्वीका रूपमा पायो। सातदाबोटो १२ अंकसहित शीर्ष स्थानमा थियो भने जावलाखेल १० अंकसहित चौथो स्थानमा। मंगलबार नै च्यासल फुटबल मैदानमा लिगको अपराजित टोलीमध्येको एक चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)को सामना गर्दै थियो।

यी दुई खेलको नतिजाले शीर्ष स्थानमा फेरबदल हुन सक्थ्यो। भैदियो पनि त्यस्तै जावलाखेलले सातदाबाटोमाथि २–१ को जित निकाल्यो। चर्च ब्वाइज भने अन्तिम मिनेटमा सम्हालिन नसक्दा एनआरटीसँग २–२ को बरारबीमा रोकियो।

जावलाखेल ६ खेलको समाप्तिमा १३ अंकसहित शीर्ष स्थानमा छ। समान खेलमा समान १२ अंक जोडेका चर्च ब्वाइज र सातदोबाटो क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। एनआरटी भने समान खेलमा ३ अंकसहित १३औं स्थानमा छ।

‘हामीलाई आज डर थियो,’ जावलाखेलका प्रशिक्षक श्रेष्ठले भने, ‘फिफा ब्रेकका कारण टोलीको लयमा समेत ब्रेक लाग्ने त होइन। त्यसैले हामी जितसहित लय कायम रहेको सन्देश दिन चाहन्थ्यौं। पाएका अवसरको सदुपयोग गर्दा जित सम्भव बन्यो। हामीले यसअघि पनि नराम्रो प्रदर्शन गरेका थिएनौं। तर पाएका अवसरको सदुपयोग गर्न नसक्दा नतिजा हाम्रो पक्षमा आएन। आजको जित किन पनि महत्वपूर्ण छ भने हामीले सातदोबाटोको शीर्ष स्थानमा रहने लक्ष्यमा ब्रेक लगाएका छौं। आज हामीमाथिको जितले सातदोबाटोले शीर्षता कायम राख्ने थियो।

श्रेष्ठले टोलीमा भएका विदेशी खेलाडी पनि क्रमिक रूपमा अभ्यस्त हुँदै गएको र युवा खेलाडीलाई पनि अवसर दिने रणनीति बनाएको बताए।

‘अहिले मात्र ६ खेल सकिएको छ। २० खेल बाँकी नै छ। अहिले नै हामी उपाधि दाबेदार हौं भन्ने गल्ती गर्देैनाैं,’ श्रेष्ठले भने, ‘हाम्रो युवा टोली हो। टोलीले जुन प्रकारको प्रदर्शन गरिरहेको छ, त्यसले खेलाडीकोे मनोबल बढाएको छ। टोलीमा रहेका विदेशी खेलाडी र युवा खेलाडीको प्रदर्शन निकै प्रशंसनीय छ। हामी टोलीले आगामी खेलमा पनि यो लय कायम राखोस् भन्ने चाहन्छौं।’

४३औं मिनेटमा फोडे फफोनाले गरेको पेनाल्टी गोलमा जावलाखेलले अग्रता लिएको थियो। सातदोबाटोका गोकिपर अभिषेक बरालले हरिस भट्टमाथि फाउल गरेपछि जावलाखेलले पेनाल्टीको अवसर पाएको थियो। ५०औं मिनेटमा मोसाबीले जावलाखेलको अग्रता दोब्बर पारेका थिए।

७५औं मिनेटमा सातदोबाटोका दीपकराज सिंह ठकुरीले गरेको गोलमा सातदोबाटोले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भने भएन।

च्यासललमा सम्पन्न खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा चर्च ब्वाइजले शीर्ष स्थानमा फर्कने अवसर गुमायो।

२०औं मिनेटमा आशिष चौधरी र ६२औं मिनेटमा कप्तान अनन्त तामाङले गरेको गोलमा चर्च ब्वाइजले २–० को अग्रता लिएको थियो। एनआरटीले ७१औं मिनेटमा रोहन खड्कीको गोलमा खेलमा फर्कने संकेत गरेको थियो। इन्जुरी समयको चौथो मिनेटमा सरोज तामाङको गोलमा एनआरटी खेलमा फर्कंदा चर्च ब्वाइज निराश बन्यो। 

प्रकाशित: २२ चैत्र २०७९ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App