२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

सान्त्वना जितमा नेपालको सन्तोष

काठमाडौं- प्रतिष्ठाको लडाईमा सिमित मलेसियाविरुद्धको खेलमा आइतबार १ विकेटको सान्त्वना जित हासिल गर्दै नेपालले श्रीलंकामा जारी एसिसी यु–१९ एसिया कपको यात्रामा पूर्णविराम लगाएको छ। कोलम्बोस्थित ननडिसक्रिप्ट क्रिकेट क्लबको मैदानमा टर जितेपछि नेपालले मलेसियालाई ४४.४ ओभरमा १ सय ५३ रनमा सिमित बनाएको थियो। १ सय ५४ रनको विजयी लक्ष्य नेपालले ४४.४ ओभरमै ९ विकेट गुमाएर पूरा गरेको थियो।

अघिल्लो २ खेलमा टेस्ट खेल्ने दक्षिण एसियाली प्रतिद्वन्द्वीद्धय आयोजक श्रीलंका र भारतलाई नतिजा सुम्पिइसकेको कारण नेपालका लागि आइतबारको खेल प्रतिष्ठामा समित थियो। पहिलो खेलमा श्रीलंकासँग १ रनले स्तव्ध भएको नेपालले दोस्रो खेलमा भारतलाई ६ विकेटले नतिजा सुम्पिएको थियो। लगातारका दुई हारपछि नेपालको सेमिफाइनल खेल्ने सम्भावना सकिएको थियो। समूह ‘ए’मा मलेसियाविरुद्धको खेल प्रतिष्ठामा सिमित भएकाले प्रशिक्षक विनोद दासले ३ नयाँ खेलाडीलाई मौका दिएका थिए। पहलो २ खेल नखेलेका अभिनाश कर्ण, रविन्द्रजंग शाही र अनिल शाह आइतबार नेपाली टोलीको हिस्सा बनेका थिए।

ओपनर सन्दीप सुनारले सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि उनको स्थान लिएका अभिनाशले २९ रन बनाएका थिए। आसिफ शेखले तेस्रो खेलमा पनि खुलेर खेल्न सकेनन्। १ रन बनाएका आसिफ मोहम्मद हफिजको बलमा एलबिडब्लू आउट भएका थिए। त्यसको दुई बलपछि मोहम्मद हफिजले आदिल खानलाई शुन्य रनमा एलबिडब्लू आउट गरेका थिए।

त्यसपछि अभिनाश र रविन्द्रजंगले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे। रविन्द्रजंग ५ रन बनाउदाँ सेदअजिजको बलमा एबिडब्लु आउट भएपछि दीपेन्द्रसिंह ऐरीले अभिनाशलाई साथ दिएका थिए। यी दुईले चौथो विकेटका लागि २३ रनको साझेदारी गरे।

१५औं ओभरको चौंथो बलमा अभिनाशलाई विरनदीप सिंहले अर्जुन थिलनाथनको हातबाट क्याच गराएका थिए। ४५ बल सामना गरेका अभिनाशले ४ चौका प्रहार गरेका थिए। लगत्तै २५ बलमा ४ चौका सहित २२ रन बनाएका दीपेन्द्रसिंहलाई पनि विरनदीपले बोल्ड गरे। त्यही ओभरको तेस्रो बलमा विरनदीपले प्रकाश केसीलाई शुन्य रनमा पवेलियन फर्काए। प्रकाश आउट हुँदा नेपाल ८०–६ को दयनीय स्थितीमा थियो।  २६ र २७ औं ओभरमा रोहितकुमार पौडेल र शुवाङकर उरावको विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो।

तर अनिल शाह र पवन सर्राफले नवौं विकेटका लागि ३८ रनको साझेदारी गर्दै जितको आधर खडा गरेका थिए। ६६ बलमा २ चौका र १ छक्का प्रहार गरेका अनिल ३२ रन बनाउदाँ सेयद अजिजले जुविदी जुलकिफलको हातबाट क्याच गराए। अजिजको बलमा १ रन लिदै अन्तिम ब्याट्सम्यानका रुपमा आएका कप्तान सन्दीप लामिछानेले नेपाललाई १ विकेटको जित दिलाएका थिए। सन्दीप ३ रनमा अविजित रहँदा पवन २९ रनमा अविजित थिए। पवनले २ चौका र १ छक्का प्रहार गरे।

मलेसियाका विनरदीपले ३ विकेट लिए भए भने सैयद अजिज, मोहम्मद हफिज र मोहम्मद अमिरले समान २/२ विकेट लिए।

त्यसअघि रोहितकुमार पौडेलले तेस्रो र दीपेन्द्रसिंह ऐरीले चौथो ओभरमा मलेसियाका ओपनर फादली हारिस र एनुल हाक्विमको विकेट लिदै कप्तान सन्दीप लामिछानेको टस जितेर फिल्डिङ गर्ने निर्णय सही सावित गरेका थिए।

कप्तान विरनदीप सिंह र सैफ उल्लाह मलिकले मलेसियाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। तर १५औं ओभरको दोस्रो बलमा उल्लाह मलिक आउट भएपछि मलेसियाले निरन्तर विकेट गुमायो। मलेसियाका विरनदीपले ७५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक हुन सकेन।

नेपालका आदिल खानले ३ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंहले २/२ विकेट लिए। रोहितकुमार र शुवाङकरको नाममा १/१ विकेट रह्यो।

समूह ‘ए’ को अर्को खेलमा साविक विजेता भारतले घरेलु टोली श्रीलंकालाई ६ विकेटले पराजित गर्‍यो। जितपछि भारत समूह चरणको सबै खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा रहँदा श्रीलंका ९ अंकका साथ दोस्रो स्थानमा छ। ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो।

समूह ‘बी’ मा अफगानिस्तानले सिंगापुरलाई ९ विकेटले पराजित गर्‍यो भने बंगलादेशले पाकिस्तानलाई १ विकेटले हरायो। बंगलादेशसँग पराजित भएसँगै उप विजेता पाकिस्तान पनि प्रतियोगताबाट बाहिरिएको छ। यसअघि पाकिस्तान अफगानिस्तानसँग २१ रनले पराजित भएको थियो।

अफगानिस्तानले अब फाइनलका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘बी’ बाट विजेताको हैसियतमा सेमिफनल पक्का गरेको बंगलादेशले श्रीलंकासँग खेल्नेछ।

प्रकाशित: ४ पुस २०७३ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App