१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

झापामा अर्को फुटबल प्रतियोगिता

काठमाडौं- नेपाली फुटबलको उर्भर भुमिको रुपमा स्थापित झापामा यो वर्षदेखि अर्को गोल्डकप फुटबल प्रतियोगिता थपिने भएको छ। झापामा पछिल्लो समय करिव आधा दर्जन राष्ट्रिय स्तरका प्रतियोगिता हरेक वर्ष हुने गरेका छन्। त्यसमा यो वर्षदेखि प्रथम शरणामती गोल्ड कपका नाममा अर्को प्रतियोगिता मंसिर २० देखी थपिने भएको छ।

प्राय धेरै प्रतियोगिता शहर केन्द्रित भएकोले शरणामती गाविसमा पहिलो पल्ट अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता गर्न लागेको आयोजक शरणामती फ्रेन्डस क्लब झापाले बताएको छ। जनता उच्च माविको खेल मैदानमा हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। नकआउट प्रणालीमा सात दिन सम्म चल्ने प्रतियोगितामा आयोजक एसएफसी क्लबसहित सशत्र प्रहरीको एपिएफ, झापा ११, मोरङ, चर्च ब्वाइज, कन्चनजङघा एफसी (सिलुगडी) र सुनसरी फुटबल क्लबको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ६१ हजार १ सय ११ नगद पुरस्कार जित्ने आयोजक क्लबका अध्यक्ष तुलसीराम प्याकुरेलले बताए। त्यस्तै उत्कृष्ट रक्षक, मिडफिल्डर, गोलकिपर तथा उच्च गोलकर्ताले जनही ५ हजार रुपैयाँका दरले पाउनेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडीले १० हजार नगद पाउनेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याचलाई २ हजार ५ सय रुपैयाँ दिइने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतियोगिता संयोजक गजेन्द्र ताम्लीले स्थानीय ठाउँको पहिचानका लागि प्रतियोगिता गर्न लागेको बताए। 'देश नयाँ संरचनामा जान लागिरहेको बेला शरणामती गाविसको नाम हराउने भएको छ। आफू जन्मिएको–हुर्किएको ठाउँको अस्त्वि जोगाई राख्नु हाम्रो दायित्व हो। फुटबलले शरणामतीको अस्तित्व जोगाउन सहयोग गर्नेछ,' ताम्लीले भने, 'झापामा वर्ष भरी धेरै प्रतियोगिता हुन्छन। तर हामीले शहर भन्दा १२ किलोमिटर टाढा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेका छौं। गोल्ड कपले स्थानीय प्रतिभाको पहिचान र नयाँ खेलाडी उत्पादनमा सहयोग गर्नेछ।'

ताम्ली नेपाल भलिबल संघका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। तर पछिल्लो समय स्थानीय फुटबलमा सक्रिय ताम्लीले भने, 'शरणामतीमा अव हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्नेछौं। पहिलो पल्ट भएकोले पुरस्कार राशी धेरै राख्न सकिएको छैन। तर हाम्रो लक्ष्य झापामा हुने अन्य गोल्ड कप भन्दा फरक र स्तरीय प्रतियोगिता गर्ने हो।'

हालसम्म मुख्य प्रायोजक नपाए पनि तयारी अगाडि बढाइरहेको क्लबका अध्यक्ष प्याकुरेलले बताए। उनले भने, 'पहिलो पल्ट प्रायोजक पाउन सहज छैन। तर हामीलाई धेरै संघ संस्थाले सहयोग गर्ने वचन दिएका छन्। प्रतियोगिता झापामा पृथक रुपमा स्थापित हुने हाम्रो विश्वास छ।'

दर्शकको लागी २५ देखी ५० रुपैयाँको टिकट राख्ने तयारी गरेको प्याकुरेलले बताए।

प्रकाशित: १३ मंसिर २०७३ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App