२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लाओसलाई कमजोर आँक्दैनौ : कोजी

काठमाडौं- लाओसको चुनौती पन्छाउन सके नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्नेछ। उमेर समूह र राष्ट्रिय टोलीले समेत गरी गत वर्ष दक्षिण एसियाका तीन ठूला उपाधि (साफ यु–१९, साग यु–२३ र बंगबन्धु गोल्डकप) जितेको नेपालसामू पहिलोपटक क्षेत्रीय स्तरभन्दा माथिल्लो प्रतियोगिता जित्ने अवसर छ। तर, त्यसको दाबेदार बन्न नेपाली राष्ट्रिय टोलीले शनिबार नेपाली समयअनुसार दिउँसो २ः१५ बजे नेग्री स्टेडियममा लाओसको चुनौती पार गर्नुपर्ने हुन्छ।

नेपाल समूह 'ए' विजेता र लाओस समूह 'बी' उपविजेता बन्दै एकअर्काविरुद्धको भेट पक्का गरेका थिए।

अर्को सेमिफाइनलमा मकाउ र बु्रनाईबीच सवा ५ वजे सरावक स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

मलेसियाको कुचिङमा जारी प्रतियोगितामा फाइनल पुग्ने विश्वास नेपाली टोलीका जापानी प्रशिक्षक ग्योटुको कोजीले व्यक्त गरेका छन्। सेमिफाइनल जित्नेमा विश्वस्त हुँदै कोजीले लाओसलाई हल्का भने नलिने बताएका छन्। 'केही महिनाअघि हामीले मैत्रीपूर्ण खेलमा लाओससँग १–१ को बराबरी खेलेका थियौं। उनीहरूको राम्रो टोली छ,' बिहीबार प्रि–म्याच कन्फ्रेन्समा सोलिडारिटी कपको प्रदर्शनतर्फ संकेत गर्दै उनले भने, 'यहाँ पनि उनीहरूले मंगोलियाविरुद्ध उच्च प्रदर्शन गरेका थिए।'

समूह चरणको अन्तिम खेलमा मंगोलियालाई हराउँदै लाओसले अन्तिम चार स्थान पक्का गरेको हो।

समूह चरणमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल अर्को खेलमा ब्रुनाईलाई ३–० ले हराउँदै समूह विजेता बनेको थियो। तर प्रशिक्षक कोजी अन्तिम खेलको प्रदर्शनप्रति असन्तुष्ट थिए। उनले खेलपछि भनेका थिए, 'परिणामका हिसाबले म खुसी छु। तर नेपालले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न नसकेकोमा म सन्तुष्ट छैन। हामी यो भन्दा राम्रो खेल्न सक्छौं।'

लाओसका प्रशिक्षक भालाकोनी फोमफाक्डेले आफ्ना खेलाडीको मनोबल उच्च रहनुका साथै शतप्रतिशत फिट रहेको बताए। उनले नेपालसँग सेमिफाइनलमा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरे। 'हामीले मैत्रीपूर्ण खेलमा उनीहरूसँग बराबरी खेलेका थियौं,' उनले भने, 'उनीहरू र हाम्रो खेलस्तर समान खालको छ। त्यसैले खेल प्रतिस्पर्धात्मक हुनेछ।'

आफूहरूले सेमिफाइनलमा कुनै दबाब नलिएको पनि उल्लेख गरे। 'हामी राम्रो खेल प्रस्तुत गर्नेमा केीन्द्रत छौं। हाम्रा सबै खेलाडी पूर्ण फिट छन्,' उनले अगाडि थपे, 'हामीले नेपालविरुद्धको खेलका लागि योजना पनि बनाइसकेका छौं। कतिपय योजना खेलका क्रममा परिवर्तन हुन्छन्।'

दुवै टोलीका प्रशिक्षकले मौसमलाई लिएर चासो व्यक्त गरेका छन्। नेपालका प्रशिक्षक कोजीले मैदानको अवस्थाअनुसार प्रदर्शनमा फरक पर्ने बताए। 'लाओस यो परिस्थितिमा खेल्न अभ्यस्त भइसकेको छ,' उनले भने, 'हामी त्यति अभ्यस्त छैनौं तर यो अवस्थामा पुगेर जुनसुकै परिस्थितिमा पनि खेल्न हामी तयार छौं।'

टिमोर लिस्टेसँगको खेलमा पानी परेपछि आफूले सोचेअनुरुप खेलाडीले प्रदर्शन गर्न नसकेको कोजीले बताएका छन्। उनका अनुसार ब्रुनाईसँगको खेलपछि भने नेपाली खेलाडीको मनोबल उच्च छ। 'त्यो जितले पक्कै पनि हाम्रा खेलाडीको मनोबल बढाएको छ,' कोजीले भने, 'त्यो नतिजाले हामीलाई मानसिक रूपमा फाइदा पुगेकाले त्यही नतिजालाई निरन्तरता दिने प्रयास गर्नेछौं।'

जेठ १६ मा घरेलु मैदानमा लाओसविरुद्ध नेपालले १–१ को बराबरी खेलेको थियो। त्यति बेला विशाल राईको गोलबाट अग्रता लिए पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बराबरीमा चित्त बुझाएर फर्केको हो। विशालले ७६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि रक्षापंक्तिको कमजोरीका कारण दुई मिनेट नबित्दै गोल खाएको थियो।

यसपटक सोलिडारिटी कपमा नेपालको रक्षापंक्तिले खासै चुनौती सामना गर्नुपरेको छैन। दुई खेलमा नेपालले गोल खाएको छैन। समूह चरणभन्दा नकआउट चरण कठिन हुने भएकाले नेपाली रक्षापंक्तिलाई लाओसविरुद्ध सहज भने हुने छैन। अर्कोतिर लाओसविरुद्ध गोल गरेका विशालले समूह चरणका दुई खेल खेलेका छैनन्। उनी फिट भए पनि समूह चरणमा प्रशिक्षक कोजीले जोखिम उठाएनन्। लाओसविरुद्ध गोल गरेकाले पनि विशालले सेमिफाइनल खेल्ने सम्भावना छ। त्यो अवस्थामा हेमन गुरुङ बेन्चमा पर्न सक्छन्। बाँकी टोलीमा कोजीले खासै परिवर्तन गर्ने सम्भावना कम छैन।

प्रकाशित: २६ कार्तिक २०७३ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App