१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नयाँ च्याम्पियनको प्रतीक्षा

२३औं बुढासुब्बा टुबोर्ग गोल्डकप

विगत २ वर्ष रोकिएको २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप यसपालि पनि आयोजना हुन्छ कि हुँदैन भन्ने अन्योल चिर्दै फागुन १३ गतेदेखि सुरु भयो। यो प्रतियोगिताको फाइनल शनिबार हुँदै छ।

धरान १६ स्थित रंगशालामा हुने फाइनलमा एभेनियर एफसी क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी), झापाबीच उपाधि भिडन्त हुँदै छ। जसले जिते पनि बुढासुब्बा गोल्ड कपले नयाँ च्याम्पियन पाउनेछ। बुढासुब्बामा केएफटिसीको यो तेस्रो सहभागिता हो।

तेस्रो प्रयासमा फाइनल पुगेको झापा उपाधि उचालेर इतिहास रच्न चाहन्छ। एभेनियर एफसी पनि पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको हो। यसअघि २०७५ मा आयोजित २१औं संस्करणमा क्यामरुनकै क्लब डाफिन्स च्याम्पियन भएको थियो। यसपालि फाइनल पुगेको एभेनियर क्यामरुनको ‘बी’ डिभिजन क्लब हो।

कोशी प्रदेशकै जिल्ला झापा र पश्चिम मध्य अफ्रिकी मुलुक क्यामरुनको क्लबबीच हुने फाइनल निक्कै रोचक हुने अनुमान गरिएको छ। विगतमा यी दुवै क्लब मैदानमा ३ पटक भेट हुँदा एक पटक एभेनियर र २ पटक झापाले जितेका थिए। बेलबारी गोल्डकप टाइब्रेकरमा ४–२ ले एभेनियरले जितेको थियो भने इटहरी गोल्डकपमा १–० ले केएफटिसी विजयी भएको थियो। मेची नेत्रालय काँकडभिट्टा गोल्कडपमा पनि केएफटिसीले २–० ले जितेको थियो।

‘ए’ भिडिजन लिग खेलिरहेका खेलाडीहरू खामिर गिल्सन सुब्बा, निसान लिम्बु, मिलन राई र अफ्रिकन खेलाडी यमीको साथले पनि फाइनल जित्ने आत्मविश्वास बढेको कप्रशिक्षक मुन्ना सुब्बा बताउँछन्। ‘फुटबल माइन्ड गेम हो। विपक्षी शारीरिक रूपमा अग्ला र बलिया भए पनि हामी कभर गर्छौं,’ उनले भने, ‘विपक्षीको डिफेन्स जस्तोसुकै भए पनि तोड्न सक्ने मिडफिल्ड र फरवार्ड छन्। हामी फाइनल जित्छौं।’

एभेनियरका कोच आशिक थापामगर पनि उपाधि जित्ने लक्ष्य लिएर प्रतियोगितामा सहभागी भएको बताउँछन्। फाइनल खेल्ने टोली बलियो हुने भए पनि विपक्षीको कमजोरी पहिचान गरेर फाइदा उठाउने उनले बताए। एभेनियर क्लब विगत २ वर्षदेखि नेपालमा फुटबल खेलिरहेको कारण पनि सहज हुने उनले बताए। ‘जित्ने लक्ष्य लिएर आएको हो, फाइनल जित्छौं,’ उनले भने। फाइनलमा केही नयाँ खेलाडी थपिने पनि उनले बताए। ‘फाइनलमा ३, ४ जना नयाँ खेलाडी थप्दै छौं, यसले पनि हाम्रो टिम अझ वलियो हुन्छ,’ प्रशिक्षक मगरले भने, ‘फरवार्ड एकदमै राम्रा छन्।’  

प्रकाशित: २० फाल्गुन २०७९ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App