युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जितेर नेपाली युवा टोली आज स्वदेश फर्केको छ ।
नेपाली टिम आज साँझ त्रिभुवन विमानस्थल उत्रिएको हो।
छनोटको अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिमले आगामी वर्ष श्रीलंकामा हुने यूवा क्रिकेट विश्वकपमा स्थान पक्का गरेको थियो । इडेन गार्डेन ओभल अज्मानको भएको निर्णायक खेलमा नेपालले प्रस्तुत गरेका १९२ रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८६ रनमै समेटिएको थियो।
त्यसअघि नेपालले छनोटको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले, दोस्रो खेलमा कुवेतलाई २४३ रनले, तेस्रो खेलमा हङकङलाई नौ विकेटले र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।विश्वकपमा स्थान बनाएको नेपाली टिमका सदस्यलाई नेपाल क्रिकेट संघ क्यानले जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ।
प्रकाशित: १९ फाल्गुन २०७९ १३:३९ शुक्रबार