३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आठ वर्षपछि नेपाल विश्वकपमा

दीपेश कँडेलको ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल घरेलु टोली युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै आठ वर्षपछि यु–१९ विश्वकपका लागि छनोट भएको छ। आइसिसी यु–१९ विश्वकप एसिया छनोटको लिगका ५ खेलमा अपराजित रहेको नेपालले १० अंक जोड्दै विश्वकपको टिकट काट्दा दोस्रो स्थानको युएईको समान खेलमा ८ अंक रह्यो। तेस्रो स्थानको सिंगापुरको ६ र चौथो स्थानको हङकङको ४ अंक रह्यो। पाँचांै स्थानको मलेसियाको २ अंक रह्यो भने छैटौं स्थानको कुवेतले अंक खाता खोल्न सकेन। विजयी नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही १ लाख रूपैयाँ दिने घोषणा गरेको छ।

यु–१९ विश्वकप सन् २०२४ मा श्रीलंकाले आयोजना गर्दै छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा यु–१९ विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार विश्वकप खेले पनि २०१० मा भने छनोट हुन सकेको थिएन। २०१२ मा पुनः विश्वकपका लागि छनोट भएको नेपाली युवा टोली चार वर्षको अन्तरपछि २०१६ को विश्वकपमा छनोट भएको थियो। त्यहाँ नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसयता भने नेपालले छनोट चरण पार गर्न सकेको थिएन।

बिहीबार लिग चरणको अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्र जोड्न सक्यो। ओपनर आर्यन सक्सेना र आर्यन्स शर्माले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेसँगै युएई सहज जिततर्फ अघि बढेको थियो। सक्सेनाले ६५ बलमा ५ चौकाको मद्दतमा ३४ र शर्माले ५० बलमा ४ चौकाको मद्दतमा ३२ रन जोडेका थिए। सुवास बिडारीले १७.२ ओभरमा शर्मालाई बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। थप ४ रन जोड्दा युएईले अर्को ओपनर सक्सेनालाई पनि गुमायो। दीपेशले सक्सेनालाई वैकल्पिक फिल्डर दीपक प्रसादबाट क्याच गराएका थिए।

२२औं ओभरको अन्तिम बलमा आयन अफजल खान पनि रन खाता नखोल्दै सुवासको बलमा कप्तान देव खनालबाट क्याच भएसँगै युएई ७२–३ को स्थितिमा पुगेको थियो। तर चौथो विकेटका लागि धु्रव परासर र इथान कार्लोस डी सुजाले ४२ रनको साझेदारी गरेपछि युएई सहज जिततर्फ अघि बढेको थियो।  

दीपेशको बलमा आउट हुनुअघि परासरले ४६ बलमा १ चौकाको मद्दतमा १७ रन जोडे। डी सुजाले पाँचौं विकेटका लागि अमर बदामीसँग ३९ रनको साझेदारी गर्दै युएईलाई सहज जिततर्फ डो¥याएसँगै नेपालको विश्वकपमा छनोट हुने लक्ष्य यसपटक पनि सपनामा सीमित हुने सम्भावना बढेको थियो। ६६ बलमा ८ चौकाको मद्दतमा ५० रन जोडेका डी सुजालाई हेमन्त धामीले पवेलियनको बाटो देखाएका थिए। ४६.१ ओभरमा १७७–७ को स्थितिमा रहेको युएईका लागि जितका लागि १५ रन आवश्यक थियो र उसको ३ विकेट सुरक्षित थियो। ४८औं ओभरको अन्तिम ३ बलमा नाटकीय रूपमा दीपेशले ह्याट्रिक विकेट लिएसँगै नेपाल ८ वर्षपछि यु–१९ विश्वकपको टिकट काट्न सफल भयो। सो ओभरको चौथो बलमा हर्सित सेटलाई बोल्ड गरेका दीपेशले पाँचांै बलमा हरित हरिश सेट्ठीलाई कप्तान देवबाट क्याच गराएका थिए। छैटांै बलमा दीपेशले मोनिस गाजेसलाई बोल्ड गरेका थिए।  

नेपालका दीपेशले १० ओभरमा ३१ रन खर्चंदै ५ विकेट लिँदा हेमन्त र सुवासले समान २ विकेट लिए। यसअघि टस जितेर ब्याटिङका लागि आएको नेपाल ४९.५ ओभरमा १९१ रनमा सीमित भएको थियो। रन खाता नखोल्दै ओपनर दीपक  

बोहरालाई गुमाएको नेपालले नौ रन जोड्दा अर्का ओपन अर्जुन कुमाललाई पनि  

गुमायो। थप १० रन जोड्दा आकाश त्रिपाठीलाई पनि गुमाएपछि नेपाल १९–३ को कठिन स्थितिमा पुगेको थियो। कप्तान देवले चौथो विकेटका लागि उत्तम थापा मगरसँग ८४ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए।  

देवले ८४ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५१ रन जोड्दा उत्तमले ४८ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३९ रन जोडे। त्यस्तै विशालविक्रम केसीले ५० बलमा ५ चौकाको मद्दतमा ३८ रन जोडे।

प्रकाशित: १९ फाल्गुन २०७९ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App