२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चिनियाँ फुटबलका उच्च पदाधिकारी नै छानबिनको दायरामा

चिनियाँ फुटबलका उच्च पदाधिकारीहरू नै एकपछि अर्को आर्थिक अनियमितताको घटनामा मुछिएसँगै फुटबलमा विश्वको शक्तिराष्ट्र बन्ने राष्ट्रपति सी जिङपिङको महत्वाकांक्षी योजना वास्तविकताबाट निकै पर देखिएको छ।

राष्ट्रपति जिङपिङ आफैं फुटबलका सबैभन्दा ठूला समर्थक हुन्। उनको चाहाना छ, आफ्नै राष्ट्रले एक दिन विश्वकपको आयोजना गरोस् र एक दिन विश्वविजेतासमेत बनोस्। राष्ट्रपतिको महत्वाकांक्षी योजनालाई अघि बढाउने भन्दै केही वर्षअघि चीनमा सुपर लिगको आयोजना सुरु भएको थियो। विश्व फुटबलका केही चर्चित अनुहार महँगो रकममा चिनियाँ क्लबमा अनुबन्धित भएका थिए। जसको चर्चा विश्वभर भएको थियो। तर २०१९ मा कोभिड १९ महामारीका कारण चरम आर्थिक अभावमा परेको भन्दै चाइनिज सुपर लिगका दर्जनभन्दा बढी क्लब बन्द भइसकेका छन्।

अहिले भने सी जिङपिङकै निर्देशनमा त्यहाँको फुटबल क्षेत्रमा भएको भ्रष्टाचारको छानबिन गर्ने निर्देशनले फुटबल क्षेत्र थप धराशयी बनेको छ। गत नोभेम्बरबाट फुटबल क्षेत्र अन्धकारतर्फ अघि बढिरहेको छ।

त्यस क्रममा चाइनिज फुटबल संघ (सिएफए)का प्रमुख चेन स्वेयान पनि अनुसन्धानमा तानिएका छन्। गत वर्ष नै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ली ताई पनि अनुसन्धानमा तानिएका थिए।

‘चीनको फुटबल अहिले सबैभन्दा कठिन अवस्थामा छ। नेतृत्वकर्ताले नै आर्थिक नियम उल्लंघन गर्नु दुखद हो,’ चीनका स्पोर्ट्स कन्सल्ट्यान्ट विलियाम बीले भने, ‘एक दशकअघि पनि म्याच फिक्सिङ, घुस र सट्टेबाजीले ध्वस्त बनाएको चीनको फुटबलमा यो अर्को दुभाग्य हो।’

चेन स्वेयानले सुपर लिगको आयोजनाले त्यहाँको फुटबलले गति लिने आश्वासन दिए पनि आर्थिक अनियमितता र कमजोर व्यवस्थापनले त्यो लक्ष्यले पूर्णता भने पाएन। चीनले कतार विश्वकप २०२२ मा छनोट हुन असफल भएसँगै ली जिम्मेवारीबाट मुक्त भएका थिए।

चीन हाल विश्व वरीयताको ७९औं स्थानमा छ। जो एक पटक मात्र विश्वकपमा छनोट भएको छ। चीनले सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा छनोट भएको थियो। चीनले समूहचरणका तीनवटै खेल हारेको थियो भने एक गोल पनि गर्न सकेको थिएन। ४५ वर्षका ली चीनकै सर्वाधिक सफल फुटबल खेलाडी हुन् जसले सन् २००० मा एभर्टनबाट खेलेका थिए।

सिएफएका चेन योङलियाङ र लुई युमाथि गत जनवरीमा अनुसन्धान सुरु भएको थियो। उनीहरू पक्राउ परेपछि मात्र ली पनि भ्रष्टाचारको मुद्दामा छानबिनको दायरामा परेका थिए। अहिलेसम्म चार जनामाथि अनुसन्धान भए पनि चिनियाँ सरकारले उनीहरूमाथिको आरोप पुष्टि भएनभएको बारे केही खुलाएको छैन। चीनले २००९ मा बेइजिङ ओलम्पिक र २०२२ मा विन्टर ओलम्पिकको सफल आयोजना गरिसकेको छ। त्यसको सफल आयोजनाबाट पनि सी जिङपिङले विश्वकप फुटबल आयोजनाको सपना देखेका हुन्।

प्रकाशित: ९ फाल्गुन २०७९ ०१:०० मंगलबार

चिनियाँ फुटबल