५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

इटाली र स्पेन बराबर

पेरिस– ड्यानियल डी रोसीले अन्तिम समयमा पेनाल्टीबाट गरेको गोल मद्धतमा इटालीले बिहीबार विश्वकप छनोट प्रतियोगितामा स्पेनसँग १–१ को बराबरी खेलेको छ ।
टुरिनमा भएको खेलमा इटालीमाथि स्पेन हावी भएको थियो । इटालीका गोलकिपर जियानलुइजी बुफोनले गरेको गल्तिको फाइदा उठाउँदै भिटोलोले ५५ औं मिनेटमा भ्रमणकारी टोली स्पेनलाई अग्रता दिएका थिए ।

इटालीबाट १६४ औं खेल खेलिरहेका बुफोनले राम्ररी क्लियर गर्न नसकेको बलमा भिटोलोले गोल गरेका थिए । सिर्जियो बुस्केटले भिटोलोलाई दिएको बल बुफोनले क्लियर गर्न खोजेका थिए । तर, उनको प्रहार हावामा गएपछि बललाई भिटोलोले पोस्टको दिशा दिएका थिए ।

भिटोलोको गोलमा लिएको अग्रता अन्तिम समयसम्म कायम राख्दा जुलियन लोपेटेगुइको स्पेनले युरो २०१६ अन्तर्गत अन्तिम १६ मा इटालीसँग भोगेको पराजयको बदला लिने संकेत देखिएको थियो । फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा स्पेन इटालीसँग २–० ले पराजित भएको थियो । तर खेल सकिन ८ मिनेट बाँकी रहँदा इटालीले पेनाल्टी पाएपछि स्पेनले अंक बाढ्नु प¥यो ।

इटालीका इडरलाई सर्जियो रामोसले फाउल गरेपछि जर्मन रेफ्री फेलिक्स ब्रेचले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई एएस रोमाका मिडफिल्डर डी रोसीले गोलमा परिणत गरेका थिए । इटालीका भेट्रान गोलकिपर बुफोनले ठूलो खेलमा स–साना गल्तीको पनि धेरै मुल्य चुकाउनुपर्ने बताए । ‘हामीले आजको खेलमा केही गल्ती ग¥यौं । स्पेन विश्वकै उत्कृष्ट टोली हो । उनीहरुसँग खेल्दा पूरा समय सम्हालिन सक्नुपर्छ,’ बुफोनले भने, ‘घरेलु मैदानमा जित्न नसक्नु दूर्भाग्यजनक नतिजा हो । आगामी खेलमा हामीले आजका गल्तीबाट पाठ सिक्दै आफूलाई सुधार्नुपर्छ ।’

स्पेनले २०१६ मा इटालीसँग विजय निकाल्न नसकेको यो तेस्रो खेल हो । समुह ‘जी’ मा रहेको स्पेनले आइतबार समुहको शीर्ष टोली अल्बानियालाई घरमा निम्त्याउने छ । अल्बानियाले बिहीबार लिचेस्टाइनलाई २–० ले हराएको थियो  । अल्बानियाले ११ औं मिनेटमा पिटर जेहलेको आत्मघाती गोलमा अग्रता लिएको थियो । ७१ औं मिनेटमा बेकिम बलाजले गोल गर्दै जित पक्का गरेका थिए ।

समुह ‘जी’ कै अर्को खेलमा इजरायलले मेसेडोनियालाई २–१ ले पारजित ग¥यो । टोमर हमिदले २५ औं मिनेटमा गरेको गोलमा इजरायलले अग्रता लिएको थियो भने टेल विन चाइमले ४३ औं मिनेटमा अग्रता दोब्बर पारका थिए । ६३ औं मिनेटमा लिजा नेस्टोरोभस्कीले गरेको गोल मेसेडोनियाका लागि सान्त्वना बन्यो ।
समुह ‘डी’ मा युरो २०१६ मा सेमिफाइलन खेलेको वेल्स अस्ट्रियासँग २–२ को बराबरीमा रोकियो । टोलीले दुई पटकसम्म लिएको अग्रता जोगाउन सकेन । तथापि १९५८ पछि पहिलो पटक विश्वकपका लागि छनोट हुने लक्ष्यमा रहेको वेल्सका लागि भियनामा लिएको त्यो अंक महत्वपूर्ण थियो ।

वेल्सले जोए एलेनको गोलबाट २२ औं मिनेटमा अग्रता लिएको थियो । जसलाई स्टोक सिटीबाट सँगै खेल्ने एलेनका सहयात्री मार्को अर्नाउटोभिचले ६ मिनेटपछि गोल गर्दै बराबरीमा ल्याएका थिए । केभिन विमरले पेनाल्टीमआ गोल गर्दै पहिलो हाफको इन्जुरी समयमा वेल्सलाई दोस्रो पटक अग्रता दिलाए । तर अर्नाउटोभिचले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै दोस्रो व्यक्तिगत गोल गर्दै घरेलु टोलीलाई एक अंक दिलाए ।

‘यो हाम्रा लागि निकै महत्वपूर्ण अंक हो । यहाँ आएर खेल्न कठिन हुने हामीलाई थाहा थियो । बराबरीमा हामी सन्तुष्ट छौं,’ वेल्सका स्टार गारेथ बेलले भने, ‘एउटा अत्यन्तै राम्रो टोलीसँग खेल्दा हामीले आफ्नै तर्फबाट उत्कृष्ट खेल्न सकेनौं । तर पनि एक अंक पाउनु सानो उपलब्धी होइन । आगामी खेलमा हामीले आफूलाई सुधार्नुपर्छ ।’
सोही समुहका अन्य खेलमा बिहीबार राती आयरल्यान्डले जर्जियामाथि १–० को जित निकाल्यो भने सर्वियाले मोल्डोभामाथि ३–० को विजय हासिल ग¥यो । घरेलु मैदानमा आयरल्यान्डलाई जित दिलाउन सिमुस कोलम्यानले ५६ औं मिनेटमा गरेको गोल पर्याप्त भयो । मोल्डोभाको भ्रमण गरेको सर्वियाका लागि भने बिहीबार फिलिप कोस्टिक, ब्रानिस्लाभ इभानोभिच र डुसान डाडिकले गोल गरे ।

समुह ‘आई’ मा अन्तर्राष्ट्रिय फुटबलको नयाँ टोली कोसोभोमाथि क्रोएसियाले ६–० को फराकिलो जित हासिल गर्दा आइसल्यान्डले फिनल्यान्डलाई ३–२ को नतिजामा हरायो । यसैगरी टर्की र युक्रेनबीचको खेल २–२ को बराबरीमा टुंगियो ।

 

प्रकाशित: २२ आश्विन २०७३ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App