६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

सिड्नी- तीव्र गतिका बलर मिचेल स्टार्क र जोस हाज्लेउड अनुपस्थित हुने दक्षिण अफ्रिकाविरुद्धको दिवसीय शृंखलाका लागि अस्ट्रेलियालेतीन नयाँ खेलाडीलाई मौका दिएको छ। श्रीलंकाविरुद्धको टेस्ट र एकदिवसीय शृंखलापछि छनोट समितिले हाज्लेउड र स्टार्कलाई आराम दिने निर्णय गरेको हो। सोमबार घोषणा गरिएको १५ जनाको टोलीमा क्रिस ट्रेमैन, जोए मेन्नी र डानियल वोर्रेल नयाँ अनुहार हुन्।

‘क्रिस र जोएले यो गृष्मकालीन सिजन र अस्ट्रेलिया ‘ए’ मा राम्रो प्रदर्शन गरेका थिए,’ छनोट समितिका प्रमुख रोड मार्सले भने, ‘यी युवा खेलाडीको भविष्य राम्रो छ।’

श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलपछि आराम गरेका स्टिभ स्मिथले दक्षिण अफ्रिकाविरुद्ध कप्तानी गर्नेछन्। दक्षिण अफ्रिकाविरुद्ध खेल्नुअघि अस्ट्रेलियाले श्रीलंकासँग दुई ट्वान्टी–२० खेल खेल्नेछ।

आइतबार पालेकेलेमा भएको पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै पाँच खेलको शृंखला ४–१ ले जितेको थियो। 

अस्ट्रेलियाको जितमा कप्तान डेविड वार्नरले शतकीय इनिङ खेले। १ सय २६ बलमा ९ चौकासहित १ सय ६ रन बनाएका वार्नरले तेस्रो विकेटमा जर्ज बेलीसँग १ सय ३२ रनको साझेदारी गरेका थिए। बेलीले ४४ रनको योगदान गरे। भ्रमणकारी टोलीले १ सय ९६ रनको लक्ष्य ४३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।

त्यसअघि मिचेल स्टार्कले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिएपछि श्रीलंका ४०.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन ाबनएको थियो। घरेलु टोलीका धनन्जय डी सिल्भाले ३४, धनुस्का गुनथिलकाले ३९, कुशल मेन्डिसले ३३ र सचिथ पथिरानाले ३२ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

अस्ट्रेलियाका स्टार्क बाहेक ट्रेभिस हेड र एडम जुम्पाले २–२ विकेट लिए भने जोन ह्यास्टिङ, स्कट बोल्यान्ड, जेम्स फाउल्कनरले १–१ विकेट लिए।

प्रकाशित: २१ भाद्र २०७३ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App