काठमाडौं- अन्तर्राष्ट्रिय क्रिक्रेट काउन्सिल (आएसीसी)ले नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति बनाउने घोषणा गरेको छ। आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले आज राजधानीमा पत्रकार सम्मेलन गर्देै नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति गठन गर्ने घोषणा गरेको हो।
रिचार्डसनले भने- ‘हामी नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएका छौं, यसका लागि आगामी दुई साताभित्र सल्लाहकार समितl गठन गरिनेछ।'
उनले सल्लाहाकार समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिक्रेटका सरोकारवाला पक्षका प्रतिनीधिहरु रहने बताए। तर उनले उक्त सल्लाहकार समिति कति सदस्यीय रहेने भन्नेबारे केही बताएनन्। उक्त सल्लाहकार समितिले आइसीसीलाई विघठित क्यानको विधान पुनरावलोकन गरी संशोधन गर्ने वा नगर्ने भन्नेबारे सुझाव दिनेछ।
यसअघि आइसीसीको टोलीले आज बिहान बालुवाटारमा प्रधामन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्दै नेपालमा जारी क्रिक्रेट विवाद समाधाानका लागि क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएको थियो। उक्त भेटघाटमा रिचार्डसनले तीन महिनाभित्र क्रिक्रेट बोर्ड गठन गर्ने र बोर्ड गठन भएपछि आइसीसीले नेपालमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउने र बन्द गरेको आर्थिकलगायतका अन्य सहायता पुनः दिने बताएका थिए।
नेपाल क्रिक्रेट संघ क्यानमा सरकारी हस्तक्षप भएको भन्दै आसीसीले चार महिनाअघि क्यानलाई निलम्बन लगाएको थियो। त्यसयता आइसीसीले नै नेपाले खेल्ने अन्तर्राष्ट्रिय क्रिक्रेट खेलको व्यवस्थापनको जिम्मा लिँदै आएको छ।
प्रकाशित: १९ भाद्र २०७३ १५:१९ आइतबार