२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मी र पुलिसको विजयी सुरुआत

 विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आइतबारबाट काठमाडौमा सुरु भएको सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताअन्तर्गत महिला र पुरुषतर्फका दुवै खेलमा विजयी सुरुआत गरेका छन्।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न पुरुषतर्फको प्रतिस्पर्धामा आर्मीले दावाली मिलन केन्द्रलाई र नेपाल पुलिसले न्युटन भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेका हुन्। यस्तै महिलातर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लब र आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीमाथि जित निकालेका हुन्।  

पुरुषतर्फ विभागीय टोली आर्मीले तीन भारतीय खेलाडी सम्मिलित दावाली मिलान क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍ यो। पहिलो सेटबाट दावालीविरुद्ध २५–२० को सहज जित निकालेको आर्मीले दोस्रो सेटमा भने मिहिनेत गर्नुपरेको थियो। दोस्रो सेटमा आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२१ को जित निकालेको हो। १०–१५ ले पछि परेको आर्मीले दावालीविरुद्ध १९–१९ मा भेटाउँदै नतिजा उल्टाउन सफल भएको थियो। त्यसपछि दावालीले २ अंक मात्रै जोड्दा आर्मीले दोस्रो सेटमा बाजी मारेको थियो। दुई सेट जितिसकेको अवस्थामा उच्च मनोबलका साथ खेलेको आर्मीले तेस्रो सेट पनि २५–२१ ले आफ्नो पक्षमा पारेको हो। यससँगै आर्मीले समूह ‘ए’ मा ३ अंक जोडेको छ। यो समूहमा आर्मी र दावालीसँगै मणिमुकुन्द भलिबल क्लब छन्। प्रतियोगिताअन्तर्गत आइतबार नै पुरुषतर्फ समूह ‘सी’ को खेलमा नेपाल पुलिस क्लबले न्युटन भलिबल एकेडेमीलाई २५–१६, २५–१७ र २५–१६ ले पराजित गर्‍ यो। यस जितपछि पुलिसले समूह ‘सी’ मा ३ अंक जोडेको छ। यो समूहमा पुलिससँगै न्युटन, ढोरपाटन र गण्डकी छन्।  

प्रतियोगिताअन्तर्गत आइतबारै सम्पन्न महिलातर्फको प्रतिस्पर्धामा आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीविरुद्ध एकतर्फी खेल देखायो। पहिलो सेट २५–३ ले जितेको आर्मीले दोस्रो सेटमा २५–५ र तेस्रो सेटमा २५–१० को एकपक्षीय नतिजा निकाल्यो। यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंकको खाता खोलेको छ। यस समूहमा अर्को विभागीय टोली एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी छन्। दिनको पहिलो खेलमा नेपाल पुलिसले नयाँ बजार समाजिक युवा क्लबलाई न्यून स्कोरभित्र समेट्दै सोझो सेटमा जित निकाल्यो। पुलिसले २५–१०, २५–६ र २५–८ को नतिजा निकालेको हो। जितसँगै पुलिसले पनि ३ अंक जोडेकोे छ। यस समूहमा पुलिस र नयाँ बजारका साथै एभरेस्ट भलिबल क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लब छन्।  

प्रकाशित: २५ पुस २०७९ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App